नेपाली भूपू गोर्खा सैनिकको भारतीय सेना प्रमुख नरवणेलाई पत्र
काठमाडौं। भारतीय सेनामा सेवा गरेर अवकाश पाएका नेपाली भूपू गोर्खा सैनिकले भारतीय सेनाका चीफ अफ आर्मी स्टाफ मनोज मुकुन्द नरवणेलाई पत्र लेख्दै कोरोनाभाइरसविरुद्ध भ्याक्सिनको माग गरेका छन् । उनीहरुले पत्रमा आफूहरु र आफूहरुमा निर्भर परिवारका सदस्यहरुको लागि भ्याक्सिन माग गरेका हुन् ।
यो महिनाको सुरुवातमा पठाइएको पत्र सेना प्रमुख नरवणे र अवकाशप्राप्त सैनिकको केन्द्रीय संगठन एक्स सर्भिसमेन कन्ट्रिब्युटरी हेल्थ स्कीमलाई लेखिएको छ । पत्रमा अवकाश प्राप्त नेपाली गोर्खा सैनिकहरुले आफूहरुमध्ये १५० जनाको भ्याक्सिन नपाएर मृत्यु भएको उल्लेख गरेका छन् । भारतीय अखबार द प्रिन्टले प्राप्त गरेको पत्रमा नेपालमा यो महामारीले अझै धेरैको ज्यान लिन सक्ने उल्लेख गरिएको छ ।
पत्रमा भूपू सैनिकहरुले नेपाल सरकार आफैंमा भ्याक्सिनको लागि अरु देशमा निर्भर भएकोले यहाँको सरकारले आफूहरु र आफ्ना निर्भर परिवारलाई भ्याक्सिनको लागि प्राथमिकतामा राख्न सक्ने अवस्था नभएको बताएका छन् । ‘पूर्व सैनिकहरुले भारतीय सेनाका लागि पूरै वफादारिताका साथ सेवा गरे तर अहिले उनीहरु मरिरहेका छन्’ पत्रमा भनिएको छ । उनीहरुले नेपाल सरकार र भारत सरकार दुवैले आफूहरुलाई भ्याक्सिनको लागि प्राथमिकतामा नराखेको बताएका छन् ।
एक्स सर्भिसमेन कन्ट्रिब्युटरी हेल्थ स्कीमले भारतीय पूर्व सैनिक र उनीहरुका निर्भर परिवारलाई भ्याक्सिन दिइरहेको तर नेपालका पूर्व सैनिक भने पहिलो डोजबाटै बञ्चित रहेको बताउँदै पत्रमा पूर्व सैनिकहरुले यो विश्वप्रसिद्ध गोर्खा सैनिकहरुप्रति ठूलो भेदभाव भएको बताएका छन् । उनीहरुले आफूहरु र आफ्ना परिवारलाई भ्याक्सिन उपलब्ध गराउनु एक्स सर्भिसमेन कन्ट्रिब्युटरी हेल्थ स्कीमको दायित्व भएको बताएका छन् । उनीहरुले एक्स सर्भिसमेन कन्ट्रिब्युटरी हेल्थ स्कीमलाई सेनाप्रमुख नरवणेले यस विषयमा निर्देशन दिनुपर्ने माग गरेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment