न्यूयोर्क टाइम्सको दावीः सगरमाथामा बहराइनी राजकुमारका गाइडसहित ५९ संक्रमित थिए

डिसी नेपाल
१४ असार २०७८ १२:४२

काठमाडौं। अमेरिकाको प्रतिष्ठित अखबार न्यूयोर्क टाइम्सले यस वर्षको वसन्त यामको पर्वतारोहण सिजन सकिँदासम्म सगरमाथामा कम्तीमा ५९ जना कोरोनाभाइरस संक्रमित भएको दावी गरेको छ । अखबारका अनुसार यस सिजन १६ सदस्यीय टोलीसहित सगरमाथा आरोहणका लागि गएका बहराइनी राजकुमारको टोलीका प्रमुख गाइड जाङ्बु शेर्पाले आफू संक्रमित भएको २ हप्तामै पुनः सगरमाथामा फर्किएर आरोहण पूरा गरेको दावी समेत गरेको छ ।

टाइम्सका लागि काठमाडौंबाट भद्र शर्मा र नयाँ दिल्लीबाट एमिली स्मलले गरेको रिपोर्टिङअनुसार जाङबु शेर्पालाई आरोहण सुरु गर्नुअघि बेस क्याम्पमै खोकी र ज्वरोको समस्या भएको थियो । १७ हजार ५९० फिट उचाइमा पुग्दा उनको स्वास्थ्य अत्यन्तै खराब भएपछि उनलाई एयरलिफ्ट गरेर काठमाडौं ल्याइएको थियो जहाँ उनको रिपोर्ट पोजेटिभ आयो । त्यसपछि उनले १ हप्ता अस्पतालमा र ६ दिन घरमा बिताए । लगत्ते उनी बेसक्याम्प फर्किएका थिए ।

पर्वतारोहणका लागि अनुभवी शेर्पा समुदायका गाइडहरुको अभाव र आरोहण रद्द भए बहराइनी राजकुमारको आरोहण व्यवस्थापन गर्ने कम्पनीलाई ठूलो घाटा हुने भएकोले शेर्पा आफ्नो शरीरमा भाइरसका अवशेष छँदै छिटै बेस क्याम्प फर्किएको टाइम्ले लेखेको छ । रिपोर्टमा उनी कोभिड १९ को साथमा सगरमाथाको शिखरमा पुग्ने सम्भवतः पहिलो व्यक्ति हुन सक्ने उल्लेख छ । यो सिजनको अन्त्यसम्म कम्तीमा ५९ जना संक्रमितहरु सगरमाथामा रहेको टाइम्सको दावी छ ।

पर्वतारोही र पर्वतारोहणको व्यवस्थापन गर्ने कम्पनीहरुसँगको कुराकानी र पर्वतारोहीहरुका सामाजिक संजालहरुका आधारमा टाइम्सले यो दावी गरेको बताएको छ । ‘के शेर्पा र आरोहीहरु सुपरम्यान हुन् ?’ नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाले भने ‘यो विषयको गहन अध्ययन हुनुपर्छ ।’ नेपाल सरकारले भने सगरमाथामा कुनै कोभिड केस नभएको दावी गरेको रिपोर्टमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *