भुटानका पूर्वगृहमन्त्रीको पदक खोस्न जापान सरकारलाई दबाव

डिसी नेपाल
१६ असार २०७८ १०:४७

वासिंगटन डिसी। विश्वका विविन्न मुलुकमा रहेका भुटानी पूर्व  शरणार्थीहरुले आफूहरुलाई शरणार्थी बनाउन बाध्य पार्ने अपराधीलाई जापान सरकारले प्रतिष्ठित पदक दिने घोषणा गरेकोमा अपत्ति जनाउँदै हस्ताक्षर संकलन शुरु गरेका छन्। याे अभियानमा नेपालकाे शिविरमा रहेका भुटानी शरणार्थीहरूले पनि साथ दिएका छन् ।

भुटानका पूर्व गृहमन्त्री दागो छिरिङलाई जापान सरकारले केही हप्ताअघि(अप्रिल २९) ‘अर्डर अफ द राइजिंग सन, गोल्ड एण्ड सिल्भर स्टार’ अवार्ड दिने घोषणा गरेको थियो।

जापान सरकारले जापान र भुटानका बीचमा सुमधुरसम्बन्ध अझ मजबुद बनाउन यो अवार्डले मद्दत मिल्ने विश्वास पनि गरेको थियो। यो घोषणा थाहा पाएपछि अमेरिका, क्यानडा, नेपाल र युरोपमा छरिएर रहेका भुटानी पूर्वशरणार्थीहरुले जापान सरकारको यो निर्णयप्रति कडा अपत्ति प्रकट गरेका छन्।

उनीहरुले एकलाख ३० हजार भुटानीहरुलाई भाषा र धर्मका आधारमा विभेद गर्दै नागरिकताविहीन बनाएको र चरम यातनासहित ज्यादति गर्दै मानवताविरोधी अपराध गरेकोले दागो छिरिङलाई जापानजस्तो मुलुकले पदक सम्मान दिन नहुने जिकिर गरेका छन्।

अमेरिकाको ओहायो राज्यको रोडिन्स्वर्ग शहरका निर्वाचित काउन्सिल म्यान भुवन प्याकुरेलले डिसी नेपाललाई दिएको जनाकारीअनुसार अमेरिका, क्यानडा, नेपाल र अन्य मुलुकमा  जीवन विताइरहेका हजारौं हजार भुटानीहरुले जापान सरकारसमक्ष अपिल गर्न हस्ताक्षर कार्यक्रमलाई तीब्र बनाइएको छ।

आफूहरुलाई आफ्नो मातृभूमि छोडेर हिड्न बाध्य पारी शरणार्थी बनाउने अपराध गर्नेलाई जापानजस्तो प्रजातान्त्रिक मुलुकले उच्चस्तरको पदकले सम्मान गर्दा लाखौं पूर्व शरणार्थीहरुमाथि थप अन्याय र पीडाबोध हुने भएकाले जापान सरकारलाई आफूहरुले भुटानका पूर्वगृहमन्त्री दागोलाई दिने भनी घोषणा गरेको पदक फिर्ता गर्न आग्रह गरिएको प्याकुरेलले बताए।

सन् १९९० देखि १९९३ सम्मको समयमा नेपाली भाषी भुटानी समुदायको बसोबास भएका क्षेत्रहरुका राज्य संयन्त्रको व्यापक दुरुपायोग गरी अचाक्ली ज्यादती गरेको, राज्यबाट हत्या हिंसा, बलात्कार मच्चाई दक्षिण र पूर्वी भुटानमा बसोबास गर्नेहरुलाई भाषा र धर्मका आधारमा चरम विभेद गर्दै देशबाट भाग्न बाध्य पारेको आरोप दागो छिरिङमाथि लगाइएको छ।

उनको यतना र मानवताविरोधी अपराधका कारण भुटानभित्र र विदेशमा रहेका भुटानी पीडितहरुले अझै पनि विभिन्न मानसिक र शारीरिक समस्याबाट गुज्रिनु परिरहेको र कतिपय उपचाररत रहेको दावी गर्दै यस्ता व्यक्तिलाई दिइएको सम्मान फिर्ता हुनेपर्ने जिकिर गरिएको छ।

पूर्वगृहमन्त्री दागो त्यसबेला तत्कालीन भुटानी राजा जिग्मे सिंगे वांगचुकपछिका शक्तिशाली व्यक्ति थिए भुटानमा। उनको कार्यकालमा भुटानमा प्रजातान्त्रिक आन्दोलन गरिरहेका जनतामाथि व्यापक दमन भएको थियो।

सो आन्दोलनमा सरिक भएको आरोपमा नेपाली भाषी भुटानी समुदायमाथि चरम ज्यादति गरिएको थियो । नेपाली भाषा पढ्न बञ्चित गरिएकोमात्र नभई लुकेर पढेको थाहा पाएपनि यातना दिइन्थ्यो, विना कसुर सयौं नेपाली भाषी युवा युवतीहरुलाई पक्राउ गरी जेल कोचिएको थियो भने हिन्दु धर्म मानेको थाहा पाए वा पूजाअजा गरे वा जन्म र मृत्यु संस्कार हिन्दूविधि अनुसार गरेको थाहा पाए पक्राउ गरी सयौंलाई यातना दिइएको थियो।

यस्तो ज्यादति सहन गर्न नसकी लाखौं नेपाली भाषी भुटानीहरु आफ्नो जन्म भूमि छाडेर शरणार्थी बनी भारत पसेका थिए । तर, भारत सरकारले पनि उनीहरुलाई शरण नदिई नेपालतिर पठाइदिएको थियो।

भर्खरमात्रै बहुदलीय प्रजातन्त्र आएको त्यो बेलाको नेपालले भुटानी शरणार्थीहरुलाई विभिन्न क्याम्पहरु बनाई बस्ने व्यबस्था मिलाएको थियो तर नेपालमा शरणार्थीहरुको जीवन निकै कष्टकर थियो।

अनेकौं प्रयास गर्दा पनि भुटानले ती शरणार्थीहरुलाई स्वदेश फर्काउन नमानेपछि अमेरिका, क्यानडा र युरोपेली मुलुकहरुले आ आफ्नो देशमा उनीहरुलाई शरण दिएर पुनर्वासको व्यबस्था मिलाएका थिए। अहिले पनि नेपालको झापा र मोरंगमा भुटानी शरणार्थी शिवरमा केही संख्यामा शरणार्थीहरु बसोवास गरिरहेकै छन्।

यी सबै विवरणहरु राखेर नेपाली भाषी भुटानीहरुले जापानका प्रधानमन्त्री योशिहिडे सुगालाई एक पत्र पठाइसकेका छन्।

(हेर्नुहोस पत्र)

४६ वटा संघ संस्थाहरु र नेपाली भाषी भुटानी प्रबुद्ध व्यक्तिहरुको हस्ताक्षरमा सो पत्र पठाइएको हो। त्यसैगरी विभिन्न मुलुकका राजदूतहरुलाई पनि मानवताविरोधी अपराध गर्ने दागो लाई सम्मान नदिन जापानलाई सल्लाह र दवाव दिन भन्दै नेपाली भाषी भुटानीहरुले पत्र पठाएका छन्। उनीहरुले मानवताको रक्षाका लागि मानवताविरोधी कार्यगर्ने दागोजस्ताको सम्मान फिर्ता गर्नु पर्ने र यसले त्यस्तो अपराध गर्न खोज्नेहरुलाई निरुत्साहित बनाउने तर्क पनि गरेका छन्।

नेपाली भाषी भुटानी समुदायले अमेरिका, क्यानडा, नेपाल र युरोपसहित संसारका विभिन्न भागमा रहेको नेपालीभाषी भुटानीहरु, नेपालीहरु र मानवअधिकार तथा मानवताको रक्षाका लागि चलाएको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेर साथ दिन पनि आग्रह गरेका छन्। हस्ताक्षरका लागि लिंकका लागि तल क्लिक गर्नुहोस्।

Japan: No Award to Dago Tshering, Perpetrator of Gross Human Rights Abuses in Bhutan




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *