अष्ट्रेलियामा बस्ने राधिकाकाे नेपाल प्रेम: भन्छिन्, ‘विलासी जीवन भन्दा समाजको पीर छ’

तर्कबहादुर थापा
२२ असार २०७८ ७:३७

काठमाडौं। सामाजिक कार्य गर्ने अवसर सबैले पाउँदैनन्। कतिले अवसर पाउँछन् तर, स्रोत र साधनको अभावमा मनको लड्डु घ्यूसँग खानुको विकल्प हुँदैन।

अझै पछिल्लो समय अमेरिका र अष्ट्रेलिया जस्ता सम्पन्न देशमा जानको लागि मान्छेहरुले तछाड-मछाड नै गरेको पाइन्छ। त्यहाँ गएपछि उतैको नागरिक बन्ने र आफ्नो जीवनशैलीलाईमात्र परिवर्तन गर्ने गरेका थुप्रै उदाहण छन्।

अष्ट्रेलियामा आफूले कमाएको पैसाको झण्डै ८० प्रतिशत रकम नेपालमा समाजसेवामा लगाउने अपवाद हुन राधिका पोख्रेल। नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको परिवार बस्ने घर बनाइदिएपछि समाजसेवामा राधिकाको कदम चुलिएको थियो। आश्रित परिवारलाई बस्न झण्डै ३५ लाख खर्च गरेर घर बनाइन र घरको बाहिर भएको शालीक पनि आफै अनावरण गरिन् राधिकाले।

सन् २००७ मा अष्ट्रेलिया पुगेकी राधिकाको जन्म तेह्रथुम जिल्लामा भएको हो। वाल्यकाल दुःखमा बिताएकी उनी अहिले कसैलाई पनि दुःख परेको हेर्न सक्दिनन्। अष्ट्रेलियामै बसेर नेपालमा दुःख परेका व्यक्तिहरुको कुरा सुनेपछि सहयोग गरौं-गरौं लाग्छ राधिकालाई। हालसम्म २ करोड बढी समाजसेवामा खर्च गरिसकेकी राधिका यो सुरुवातमात्र भएको बताउँछिन्।

‘आमाले सधै भन्नु हुन्थ्यो, हामीले गरिव र दिन दुःखीलाई दियौं भने भगवानले हामीलाई दिन्छन्,’ डिसी नेपालसँगको कुराकानीमा राधिकाले आमाको भनाइ स्मरण गरिन्। ‘आफू पनि वाल्यअवस्थमा दुःखका साथ हुर्केकी कारण अहिले अरुको दुःख देख्न पनि सक्दिन,’ उनले भनिन्, ‘नेपालबाट कोही कसैलाई सानो मात्र दुःख परेको छ भन्ने समाचार सुने, हेरेँ भने पनि मेरो आखा रसाउन थाल्छन्। सहयोग गर्न पाएको भए झैं लाग्छ। कतिलाई गर्छु पनि।’

गाउँमा मठ मन्दिर बनाउन पनि राधिकाकै आशा गरेर बसेका हुन्छन्। गाउँमा मन्दिर, पुस्तकालय र दाहसंस्कार गर्नको लागि घाटसम्म निर्माणमा सहयोग गरेकी छिन् राधिकाले। उनी आफूले लुकीलुकी पढेको विद्यालयलाई सहयोग गर्न पाएर खुसी भएको सुनाउँछिन्।

‘त्यो बेलामा छोरी पढ्नु हुँदैन भन्थे,’ राधिकाले स्मरण गरिन्, ‘म भागि भागि विद्यालय जान्थे। एसएलसी पास भएपछि काठमाडौं छिरेँ, सौभाग्य भनौं अष्ट्रेलिया आउने अवसर पनि पाएँ।’ आफू अष्ट्रेलिया पुग्ने अवसरलाई भगवानको देन सम्झदै राधिका अष्ट्रेलियामा कमाएको ८० प्रतिशत समाजसेवामा खर्च गर्ने योजनामा छिन्।

‘म अब बालबालिकाको लागि आश्रम बनाउने योजनामा छु,’ भविष्यको योजना सुनाउँदै राधिकाले भनिन्, ‘बेसाहारा, पढ्न सक्ने अवस्था नभएका, गरिव, जेहेन्दार र अशक्त सबै खालका वालवाललिकाहरुलाई आश्रममा स्थान हुने छ। आश्रममा आएका वालवालिको पढाई लेखाइ र स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मेवारी आश्रमले लिने छ। मलाई कोही अशिक्षित हुन नपरोस्, विरामी हुन नपरोस्, बेसाहारा हुन नपरोस् भन्ने सोच छ।’

चाहेकाे अवस्थामा राधिकाले अष्ट्रेलियामा कमाएको पैसाले काठमाडौं जस्तो शहरमा घर किनेर, करोडौं पर्ने गाडी चढेर, विलासी जीवन जीउन सक्थिन्, तर उनले समाजको बोझ उठाउँदै समाजसेवा गर्दै प्राणत्यागको सुन्दर सपना बुनिरहेकी छिन्।

‘मलाई यहाँको नागरिकता चाहिएको छैन। म नेपाली हुँ भन्नमा जति गर्व गर्छु, त्यो भन्दा धेरै गर्व म यहाँ कमाउन आएकी हुँ भोलि नेपालमा असायहरुको सेवा गर्नु छ भन्दा लाग्छ,’ राधिकाले भनिन्।

‘तेह्रथुममा जन्मे हुर्के, त्यँही मर्ने रहर छ, मेरो जन्मभूमिको लागि केही गर्ने रहर छ,’ रेडियो नेपाल र नेपाल टेलिभिजनमा गीत रेकर्ड गराएका आफ्ना पुराना दिन सम्झिँदै राधिकाले अहिले पनि आफ्नो आवाजलाई मर्न दिएकी छैनन्। अष्ट्रेलियामा हुने रहेक कार्यक्रममा भाग लिन र गीत गाउँन भ्याएको उनले सुनाइन्।

सामाजिक अभियान्ता र समाजको लागि काम गछौं भन्नेहरुको बदनाम भइरहेका बेला मिडियाबाट टाढै बसेकी राधिका आफ्नो कर्म र सुन्दर भविष्यमा विश्वास गर्छिन्।

‘मैले काम गर्ने हो। मैले समाज सेवा गर्ने हो,’ राधिकाले भनिन्, ‘भगवानले हामीलाई दिनु भएको कुनै कुरा मैले दिएको हुँ, मेरा कारणले भएको हो, भन्दै आउनु भएको छ र ? समाजसेवा गर्ने व्यक्तिलाई समाजको चिन्ता हुन्छ। म मिडियामा आउछु कि आउँदैन, कसरी आउन सकिन्छ, कसरी भाइर हुन सकिन्छ भन्ने चिन्ता हुँदैन नि।’

समाज सेवाको खोल ओडेर व्यक्तिगत स्वार्थमा लिप्त भएका व्यक्तिहरु बदनाम हुने गरेको राधिकाको अनुभव छ। राधिका आफूले गरेको कर्मका कारण व्यक्तिहरु स्वर्ग र नर्कमा जाने कुरामा विश्वास गर्छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *