संस्थापनइतर पक्षलाई एक बनाउने पहल गर्दै सिटौला

सम्भव सिंह ठकुरी
२७ असार २०७८ १४:३६

काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशनको मिति तय भइसकेको छ। महाधिवेशनको मिति तय भएसँगै नेतृत्वमा दाबी गर्नेको संख्या बढिरहेको छ। संस्थापन पक्षबाट वर्तमान सभापति शेरबहादुर देउवाले उम्मेद्वारी दिने तय भएको छ भने उनकै समूहबाट उपसभापति विमलेन्द्र निधिले उम्मेद्वारीको घोषणा गरेका छन्।

संस्थापन पक्षबाट उम्मेद्वारी घोषणा भएपनि संस्थापनइतर पक्षले भने सभापतिको उम्मेद्वारी घोषणा गर्न सकेको छैन। इतर पक्षमा सभापतिका आकांक्षी धेरै हुँदा उम्मेद्वारी घोषणामा ढिलाइ भएको हो।पछिल्लो समय संस्थापनइतर पक्ष साझा उम्मेद्वार तय गर्न भन्दै दैनिक भेटघाट र बैठकमा व्यस्त छ। तर अहिलेसम्म साझा उम्मेद्वार तय गर्न सकेको छैन।

१३ औं महाधिवेशनमा कांग्रेसभित्रको परम्परागत दुई समूहको प्रतिस्पर्धा अन्त्य गराउँदै नेता कृष्णप्रसाद सिटौलाले तेस्रो समूह निर्माण गर्दै सभापतिसहित सबै पदाधिकारीमा उम्मेद्वारी दिएका थिए। तर दोस्रो चरणमा पुग्न असफल भएपछि देउवाले सभापतिमा देउवालाई सघाएका थिए।तर महाधिवेशनलगत्तै देउवासँग असन्तुष्ट भई इतर पक्षसँग जोडिएका सिटौला अहिले संस्थापनइतर पक्षमा साझा उम्मेद्वार बनाउन सक्रिय भएका छन्।

शेखरलाई साझा उम्मेद्वार बनाउन सबैभन्दा पहिला वरिष्ठ नेता रामचन्द्र पौडेलको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती रहेको छ। तर अब हुने चुनावमा कांग्रेस ठूलो दल बनेको अवस्थामा पौडेललाई राष्ट्रपति बनाएर व्यावस्थापन गर्ने विषयमा छलफल भइरहेको छ।

शुक्रबार पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीको संयोजकत्वमा भएको साझा उमेद्वार बनाउने छलफलमा पनि सिटौलालगायत वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, डा.प्रकाशशरण महत, प्रकाशमान सिंहलगायतका नेताहरु भेला भएका थिए।

तत्कालीन कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अत्यन्तै विश्वास पात्रका रुपमा चिनिएका सिटौला ०४६ को राजनीतिक परिवर्तन पश्चात सधैं जिम्मेवार भूमिकामा प्रस्तुत भएका छन्। तत्कालीन विद्रोही नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि गणतन्त्रका सुत्रपात बनेका सिटौला नेपाली राष्ट्रिय राजनीतिको चतुर खेलाडी मानिन्छन्।

अब हुने महाधिवेशनको नेतृत्वमा पनि सिटौलाको शक्ति निर्णायक हुने देखिन्छ। नेता सिटौला निकट युवा नेता बलदेव तिमल्सिनाका अनुसार सिटौला पार्टीभित्र समयको आवश्यक्ता र जनचाहना अनुसार चल्ने परिवर्तनकारी नेता भएकाले पार्टीभित्र अहिलेको नेतृत्वको विकल्प खोज्न छलफलमा सकृय भएको बताउँछन्।

‘अबको कांग्रेस नयाँ सोच र संकल्पसहित युवाहरुको प्रतिनिधित्व र आकर्षण भएको हुनुपर्छ। यो विषय नै पार्टीभित्रको उहाँको प्रमुख एजेण्डा हो’, उनले भने। संस्थापनइतर पक्षबाट साझा उम्मेद्वार बनाउन सकस भइ रहेका बेला सिटौलाले इतर समूहबाट साझा उम्मेद्वार बनाउन सक्रिय भएपनि त्यसमा सहमति जुटिसकेको छैन।

स्रोतका अनुसार सिटौलाको संस्थापनइतर पक्षको साझा उम्मेद्वारको रुपमा डा. शेखर कोइरलाको नाम अघि सारेका छन्। अहिले डा. कोइरालाको नाममा सघन छलफल भइरहेको छ।

डा. कोइरालालाई राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको साथ रहेको भन्दै संस्थापनइतर पक्षबाट डा. कोइरालालाई नै साझा उम्मेद्वारको रुपमा अघि सार्ने गरी सिटौलाले सहमतिको प्रयास गरिरहेको उनी निटक स्रोतले जनाएको छ।

‘अहिले जसरी पनि संस्थापन पक्षलाई टक्कर दिन सक्ने र राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिले विश्वास गर्ने नेतृत्वको खाँचो छ,’ सिटौला निकट स्रोतले भन्यो, ‘त्यसका लागि डा. शेखर कोइराला उपयुक्त उम्मेद्वार हुने निष्कर्षमा उहाँ (सिटौला) पुग्नु भएको छ।’

शेखरलाई साझा उम्मेद्वार बनाउन सबैभन्दा पहिला वरिष्ठ नेता रामचन्द्र पौडेलको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती रहेको छ। तर अब हुने चुनावमा कांग्रेस ठूलो दल बनेको अवस्थामा पौडेललाई राष्ट्रपति बनाएर व्यावस्थापन गर्ने विषयमा छलफल भइरहेको छ। तर पौडेलले सबै समूहले आफूलाई त्यस्तो जिम्मेवारी दिने वचन दिनुपर्ने अडानमा रहेको बताइएको छ।

सिटौला कांग्रेस भित्र धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको प्रमुख सुत्रपातको रुपमा चिनिन्छन्। त्यसो त सिटौला आफैं सभापतिका आकांक्षी हुन्। तर इतर समूहबाट धेरै जना सभापति हुँदा पहिलो चरणमा नै देउवाले ५१ प्रतिशत पुर्याउने संभावना भएका कारण सिटौलाले डा. शेखरको नाममा सहमति जुटाउने प्रयास थालेका हुन्।

सिटौलाले सभापतिसँगै अन्य पदाधिकारीमा भने युवालाई प्राथमिकता दिनुपर्ने र त्यसले पुस्तान्तरणको सुरुवात हुने भन्दै युवालाई प्राथमिकतमा राखेर टिम बनाउने तयारी गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *