अमेरिकामा सम्मान पाएपछि प्रफुल्ल मुद्रामा महावीर पुन

फुर्पा शेर्पा
३० असार २०७८ ८:५०

काठमाडौं । अमेरिकाको ओहायो राज्यका दुई सहरबाट सम्मान पाएर नेपाल फर्किएका राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा.महावीर पुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रफुल्ल मुद्रामा देखिए।

सामाजिक कार्यको योगदानको कदर गर्दै ती दुई सहरले पुनलाई यहि जुलाई ६ तारिखका दिन छुट्टाछुट्टै कार्यक्रममा आ–आफ्नोतर्फबाट सम्मानपत्र हस्तान्तरण गरेका थिए।

उनी अमेरिकामा करिब डेढ महिना लामो अन्तरक्रिया कार्यक्रम सकेर यही जुलाई ११ तारिख(असार २८)का दिन नेपाल फर्किएका हुन्।
गत वर्ष निधन भएका उनका गुरु नेब्रास्का युनिभर्सिटिका पूर्व डिन प्रा.डा.लियोनर्ड स्कोवको ‘मेमोरियल सर्भिस’मा भाग लिन उनी अमेरिका गएका थिए। गत साल ८५ वर्षेको उमेरमा प्रा.डा. स्कोव निधन भएको थियो।

भ्रमणका क्रममा उनले अमेरिका २९ वटा राज्यमा नेपाली समुदायले आयोजना गरेका ५४ वटा ठूला भेटघाट कार्यक्रममा सहभागी भएका थिए।
उनलाई अमेरिकाको ओहायो राज्यका दुई सहरका मेयरहरुले सम्मान गरेका छन्। आफ्नो सहरका तर्फबाट प्रोक्लामेसन पत्र हस्तान्तरण गर्दै दुई मेयरहरुले सामाजिक कार्यमा डा.पुनको योगदानप्रति उच्च सम्मान व्यक्त गरेका हुन्।

मेयर फिनीले डा.पुनलाई आफ्नै कार्यकक्षमा निम्तो गरी सो सम्मानपत्र हस्तान्तरण गरेका थिए। नेपाली समुदायमा सक्रिय योगदान दिँदै आएका डा.दामोदर पौडेलले नेतृत्व गरेको सेन्ट्रल ओहायो नेपाली एसोसिएसन(कोना) र मोहन न्यौपाने नेतृत्वको एनआरएनए ओहायो च्याप्टरको संयुक्त आयोजनामा नेपालीहरु र नेपाली भाषी भुटानी अमेरिकनहरुको भव्य उपस्थितिमा सम्पन्न एक कार्यक्रममा मेयर बेगिनीले सो सम्मानपत्र डा.पुनलाई हस्तान्तरण गरेका थिए।

डा.दामोदर पौडेलले नेतृत्व गरेको सेन्ट्रल ओहायो नेपाली एसोसिएसन(कोना) र रेनोल्ड्स्बर्ग शहरको सिटी काउन्सिलमा निर्वाचित काउन्सिल म्यानसमेत रहेका प्याकुर्याललाई ‘गोइङ अभोव एण्ड बियोण्ड’ अवार्डबाट सम्मानित गरिएको थियो। त्यसैगरी कोनाको तर्फबाट डा.पुनलाई सेन्टर अफ एक्सिलेन्स अवार्डले सम्मानित गरिएको थियो।

नेपाली र नेपालीभाषी भुटानी अमेरिकी समुदायलाई संबोधन गर्दै डा.पुनले आफू फण्ड रेजिङका लागि अमेरिका नआएको बरु नेपाली र नेपाली भाषी समुदायको मन रेजिङका लागि आएको बताउंदै नेपालमा बैज्ञानिक अनुसन्धानको संस्कृति निर्माण गर्ने आफ्नो अथक प्रयास रहेको जानकारी दिएका थिए।

ओहायोका यी दुई शहरबाट सम्मानित हुनुअघि डा.पुनलाई नेपालीभाषी भुटानी अमेरिकी समुदायले निर्माण गरेको लक्ष्मीनारायण मन्दिरमा दर्शनका लागि लगिएको थियो। काउन्सिलम्यान भुवन प्याकुर्यालको व्यव्स्थापनमा डा.पुनले मन्दिरमा पूजा अर्चना गरेका थिए।

कोरोना महामारीको सङ्क्रमण फैलिएपछि आविष्कार केन्द्रले भाइरसविरुद्ध लड्न पीपीई, भेन्टिलेटर मर्मत, मिनी–अक्सिजन प्लान्ट निर्माणमा सहयोग, स्वाब सङ्कलन रोबोटलगायतका विभिन्न उपकरण बनाएर निःशुल्क वितरण र सेवा उपलब्ध गराउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *