गुड ह्यण्ड्सद्वारा हेलम्बु बाढीपीडितलाई अति आवश्यक सामाग्री वितरण

डिसी नेपाल
३ साउन २०७८ ९:११

काठमाडौं। गुड ह्यण्ड्स नेपालले बाढीका कारण प्रभावित हेलम्बु गाउँपालिकाको तिम्बु, हल्दे, चिउरिखर्क, चालिसेटोल, काफ्लेटोल, कबिकुन्ज, चुरेटारलगायत पालिकाको उपल्लो बस्तीहरु चित्रे दलित बस्ती, स्युङुन्छे, खर्क, कोलामा, किज्येका ५ सय घर धुरीलाई आवश्यक सामाग्री सहयोग गरेको छ ।

गुड ह्यण्ड्सले बर्खायामका लागि अति आवश्यक पर्ने छाता, गाम्बुट, रेन्कोट र टर्च लाइट वितरण गरेको हो । साथै, गणेश बगरमा पूर्णक्षति भएका २७ घर परिवारलाई प्रति घर १.५ बण्डल र पूर्ण जोखिममा परेका ९ घर परिवारलाई प्रति घर १ बण्डलका दरले ५० बण्डल हुलास रंगिन जास्ता पाता वितरण गरेको छ ।

गुड ह्यान्सले पहिलो लकडाउनदेखि कोरोना माहामारीका कारण प्रभावित भएका व्यक्तिहरुलाई सकेको सहयोग गर्दै आइरहेको छ। साथै, यो सहित बाढीपीडितलाई अहिले सम्म १४ पटक राहत सामाग्री वितरण गरेको उक्त संस्थाले जनाएको छ ।

गुड ह्यण्ड्स नेपालका अध्यक्ष दावा लामाका अनुसार विपदको कारण सडक सञ्जाल अवरुद्ध भएका हेलम्बु गाउँपालिकाको माथिल्लो भेगका बस्तीहरुका लागि खाद्यान्न सामाग्रीहरुको बन्दोबस्त गरि छिट्टै नै वितरण कार्य हुँदैछ ।

यस विपद्को सबैले मिलेर सामना गर्नुपर्ने बताउँदै उनले विपद्को यस बिषम परिस्थितिमा पनि बर्खातको झरीमा रुझ्दै आएका सबै हेलम्बुवासीमा आभार व्यक्त गरेका थिए । साथै, उनले टोलवासीलाई खबर गरिदिने र वितरण कार्यमा सहजीकरण गर्न सघाउ पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गरेका थिए।

त्यसैगरी, गुड ह्यान्सद्वारा विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गरिएको छ। अब आउने चिसोलाई ढाक्नको लागि विद्यार्थीहरुलाई टोपी, स्वीटर तथा मास्क, सेनिटाइजर, डिटोल, साबुन लगायत न्यानो तथा स्वास्थ्य सामाग्री वितरण गरिएको अध्यक्ष लामाले जानकारी दिए। उनले ८ सयभन्दा धरै विद्यार्थीहरुलाई न्यानो कपडा र स्वास्थ्य सामाग्री वितरण गरिसकेका छन्।

यसअघि भूकम्पले तहसनहस बनाएको सिन्धुपाल्चोकका विद्यालयहरु पुनर्निमार्णमा गुड ह्यान्सले पाँचपोखरी थाङ्पाल गाउँपालिका, हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न विद्यालयको भवन निमार्ण गरिदिएको थियो।

विगतदेखि नै शिक्षा क्षेत्रमा लगानी गर्दै आइरहेको उक्त संस्थाका अध्यक्ष लामाले आगामी दिनमा पनि विद्यालयको भौतिक तथा शैक्षिक क्षेत्रमा निरन्तर सहयोग गर्ने जनाएका छन् । अध्यक्ष लामा लामो समय देखिनै सामाजिक कार्यमा व्यस्त रहदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *