स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्छः अध्यक्ष बिजुक्छें

डिसी नेपाल
४ साउन २०७८ २२:२१

भादगाउँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबीच आज साँझ कमलविनायकस्थित बिजुक्छें निवासमा भेटवार्ता भएको छ ।

सो अवसरमा अध्यक्ष बिजुक्छेँले आफ्नो क्षेत्रको विकासका लागि प्रदेश सरकारले स्पष्ट योजनासहित अघि बढ्नुपर्ने बताए । उनले स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा नेमकिपाले निरन्तर जोड दिँदै आएको बताउँदै स्थानीय तहले नयाँ नयाँ स्रोतको खोजी गर्नुपर्नेमा जोड दिए । उनले भने, “प्रदेश र स्थानीय तहले केन्द्रको मुख ताकेर होइन, आफ्नै भरमा विकास गर्नुपर्छ ।”

अध्यक्ष बिजुक्छेंले वाम पक्षधरहरु निर्वाचित भएका प्रदेश र स्थानीय तहहरुमा इमानदारीपूर्वक काम हुनुपर्नेमा जोड दिँदै भ्रष्टाचार रोक्न सके धेरै काम हुने र जनताले पनि सुख पाउने बताए ।

भेटमा मुख्यमन्त्री पौडेलले आफूसँग स्थानीय तहमा लामो समयसम्म काम गरेको अनुभव भएको बताउँदै आफू स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा रहेको बताए । उनले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा प्रदेश सरकारको ध्यान नपुगेको स्वीकार गर्दै स्वास्थ्य क्षेत्रमा भक्तपुर नपालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनीहरुबीच देशको परिवर्तित राजनीतिक घटनाक्रमको विषयमा पनि छलफल भएको बताइएको छ । भेटवार्तामा वाग्मती प्रदेशमा नेमकिपाबाट निर्वाचित सदस्य सुरेन्द्रराज गोसाइँ र सृजना सैँजु तथा नेकपा एमालेका प्रदेशसभा सदस्य दीपक निरौला, भक्तपुर नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको पनि सहभागिता थियो ।

मुख्यमन्त्री पौडेलले बिजुक्छेंसँग भेटवार्ता गर्नुअघि भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शैक्षिक सङ्घसंस्था, ख्वप अस्पताल, ख्वप अस्पताल कोभिड वार्डको अवलोकन गरेका थिए । यसैगरी मुख्यमन्त्री पौडेलले भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिसँग पनि छलफल गरेका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *