देउवालाई एकमुष्ट विश्वासको मत दिएको जसपा विवाद मिल्छ?

सम्भव सिंह ठकुरी
५ साउन २०७८ १२:५९

काठमाडौं। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई निरन्तरता दिने कि विकल्प खोज्ने विषयमा विभाजित जनता समाजवादी पार्टी (जसपा) को दुवै पक्षले ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दियो।

आइतबार संसदमा देउवाले मागेको विश्वासको मतमाथि मतदान हुँदा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको सबै सांसदले विश्वासको मत दिएपछि देउवाको डेढ वर्षे कार्यकाल सुनिश्चित भएको छ।

देउवालाई विश्वासको मत दिने बेला एकजुट भएको जसपाभित्र आन्तरिक विश्वासमा भने चरम अविश्वास छाएको छ। यस अघि दुवै समूहले अलग हुने सहमति जनाएपछि पार्टीको आधिकारीकतामा निर्वाचन आयोगको निर्णयको पर्खाइमा रहेका छन्।

जुन विषयलाई लिएर जसपामा शक्ति संघर्ष भएको थियो। र, विभाजनको डिलमा पुगेको थियो आइतबार दुवै पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि पार्टी पुनःएकीकरण हुने चर्चा पनि सुरु भएको छ। तर पार्टी एकीकरणको विषयमा ठाकुर पक्ष नरम छ। भएपनि यादव पक्ष कठोर देखिएको छ।

पार्टी जोगिन्छ छ ?

अध्यक्ष उपेन्द्र यादव समूहका सांसद प्रदीप यादव अब पार्टी एकताको सम्भावना नरहेको बताउँछन्। ‘ठाकुर समूह केपी शर्मा ओलीको प्रतिगमनको साँची बनेको र अहिले पनि शेरबहादुर देउवालाई विश्वासको मतबाट असफल बनाउने हर प्रयास गरेको तर त्यो सम्भव नभएपछि मधेस र आफ्नो निर्वाचन क्षेत्रबाट तिरस्कृत हुने डरले अन्तिम समयमा विश्वासको मत दिएको हो। त्यसकारण संविधान र लोकतन्त्र मास्नेहरुलाई पार्टीमा स्थान छैन’, उनले भने।

यादवले अगाडि भने, ‘पहिलेबाट पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा हाम्रो बहुमत थियो। ठाकुर र महतोको प्रतिगमनको कदम गलत थियो भनेर धेरै सांसदहरु अहिले हाम्रो समूहमा भएकाले निर्वाचन आयोगमा सुनुवाई हुँदै गरेको पार्टीको आधिकारीकता पनि हाम्रो हुनेछ।’

अर्का अध्यक्ष महन्थ ठाकुर समूहका सांसर विमलप्रसाद श्रीवास्तवपनि पार्टी एकताको सम्भावना नरहेको बताउँछन्। उनले भने, ‘निर्वाचन आयोगमा यस अघि नै पार्टीबाट अलग हुने सहमति भएको र अधिकारिकताको विषयमा सुनुवाई हुँदै गरेकाले फैसलाले जे निर्णय गर्छ। उक्त कुरा स्वीकार गर्ने छौँ’।

पार्टी एकतालाई संकटमा राखेर केपी ओलीलाई साथ दिएको यहाँहरु प्रधानमन्त्री देउवालाई के आधारमा विश्वासको मत दिनुभयो भन्ने डिसी नेपालको प्रश्नमा उनले भने, ‘हामी हाम्रो माग मुद्धाप्रति अडिक छौँ। त्यो अवस्थामा ओलीजीले माग सम्वोधन गर्छु भन्ने प्रतिवद्धता जनाउनुभएको थियो। त्यसकारण उहाँलाई साथ दिएका थियौ। अहिले देउवाजीले माग पूरा गर्छु भनेर आश्वासन दिनुभएको छ। त्यसकारण उहाँलाई मत दिएका हौँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *