माधव समूहको बैठक चलिरहेका बेला पुग्यो स्पष्टीकरण पत्र
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थनमा मतदान गर्ने २२ जना सांसदलाई एमालेले स्पष्टीकरण सोधेको छ। २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय सोमबार नै भए पनि पत्र बुधबारमात्र उनीहरुलाई दिइएको छ।
बानेश्वरस्थित अर्याल होटलमा माधव समूहको स्थायी कमिटी बैठक चलिरहेका बेला एमाले अधयक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको स्पष्टीकरण पत्र त्यहाँ पुर्याइएको छ। वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई ५ गतेकाे मिति राखेर स्पष्टीकरण पत्र बुझाइएको छ।
स्पष्टीकणमा देउवाको पक्षमा मतदान गरेको विषय उल्लेख नगरी विपक्षी गठबन्धनमा लागेको आरोप लगाइएको छ। सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बनेका प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कारबाही नहुने व्याख्या गरेकाले ओलीले उनीहरुमाथि सो विषयको आरोप नलागई विपक्षी गठबन्धनमा लागेकोमात्र आरोप लगाएका हुन्।
स्थायी कमिटी बैठक चलिरहेका बेला सो पत्र पुगेपछि सो बैठकले त्यसको भत्सर्ना गरेको छ। बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै स्थायी कमिटी सदस्य रघुजी पन्तले सर्वोच्चको फैसला विपरित निहुँ खोज्ने काम भएको भन्दै त्यसको भत्सर्ना गरिएको जानकारी दिएका छन्।
Facebook Comment