यस्ता छन् देउवालाई मतदान गर्ने २२ सांसदलाई ओलीले लगाएका आरोप

डिसी नेपाल
६ साउन २०७८ १७:०१

काठमाडौं। एमालेका २२ सांसदले गत सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थनमा प्रतिनिधिसभामा मतदान गरे। देउवाले प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा मत विभाजन हुँदा एमालेका सांसदहरु पनि विभाजित बने।

संसदमा मतविभाजन हुनु अघि नै एमाले संसदीय दलको बैठकले देउवाको पक्षमा मतदान नगर्ने निर्णय गरेको थियो। यो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने अनुपस्थित थियो। त्यसैले माधव समूहले संसदीय दलको निर्णय पनि मानेन। जसअनुसार त्यसअघि अध्यक्ष ओलीकै साथमा रहेकासहित २२ जना सांसदले देउवालाई समर्थन गरे।

यसबाट क्रुद्ध भएका अध्यक्ष ओलीले ती २२ जनालाई पार्टीबाट किन निस्कासन नगर्ने भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका छन्। पाँच गतेको मिति राखिएको स्पष्टीकरण पत्र बुधबार ती २२ जनालाई बुझाइएको छ।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश र प्रतिनिधिसभा विघटनलाई बदर गर्दा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीलाई समर्थन वा विरोध गर्दा पार्टीको ह्वी नलाग्ने र सोही विषयलाई लिएर कारबाही गर्न नपाइने व्याख्या गरेको छ। तर, एमाले अध्यक्ष ओलीले देउवाको समर्थन गर्ने २२ जना सांसदलाईमात्र स्पष्टीकरण सोधेकाले देउवालाई समर्थन गरेकै कारण स्पष्टीकरण सोधिएको देखिन्छ। तर, स्पष्टीकण पत्रमा सो आरोप भने लगाइएको छैन।

ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई सोधेको स्पष्टीकरणमा पार्टीको हित विपरित पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलपा गरेको, पार्टीको निर्णय तथा विधान विपरित गुटबन्दी गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको, पार्टीको निष्ठा र विश्वासमा भ्रम फैलाउने काम गरेको, पार्टीको गोपनीयता भंग गरेको जस्ता आरोप लगाएका छन्।

स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नआए वा जवाफ नदिए पार्टीबाट निष्कासित गर्नेसमेत उल्लेख गरिएको छ। स्पष्टीकरण पत्रमा मिति मंगलबारको छ भने उनीहरुले पत्र बुधबार बुझेका छन्। स्पष्टीकरण सोध्ने निर्णय भने सोमबार भएको थियो। त्यसैले यो २४ घण्टाको समय कहिले सकिन्छ भन्ने स्पष्ट भने छैन।

स्पष्टीकरण सोधेपछि मावध समूहले भने पार्टीको एकतामै समस्या थपेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *