बढ्याे प्रहरीकाे रासन भत्ता

डिसी नेपाल
७ साउन २०७८ ९:५१

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बढेको रासन भत्ता पाउने भएका छन्। सरकारले बजेटमार्फत नै १५ प्रतिशत रासन भत्ता पाउने व्यवस्था गरेसँगै यही साउनबाट बढेको रासन पाउने भएका हुन्।

राष्ट्रबैंकले निर्धारण गरेको मूल्यवृद्धि अनुसार ४० प्रतिशतसम्म रासन भत्ता बढ्नु पर्नेमा ०७२ माघयता पहिलोपटक प्रहरीको रासन भत्तामा १५ प्रतिशत मात्रै वृद्धि भएको हो।

दुई वर्ष अघिबाटै ४० प्रतिशत रासन वृद्धि गर्नुपर्ने भन्दै गृहमन्त्रालयमा प्रस्ताव गरेको भएपनि सरकारले पाँच वर्षपछि १५ प्रतिशत मात्रै वृद्धि गरेको थियो। सरकारले ०७२ माघदेखि दुवै प्रहरीका कर्मचारीलाई तलबसँगै रासन भत्ता पनि बैंकमा जम्मा गरिदिनेछ। गण गुल्ममा बस्ने बाहेकका प्रहरी कर्मचारीको रासन भत्ता अहिले बैंकमा जम्मा हुने गरेको छ।

सुरक्षा निकायको सबैभन्दा धेरै रासन भत्ता माथिल्लो स्थान भने हुम्ला हो। त्यहाँ कार्यरत प्रहरीले दैनिक आठ सय ६४ अर्थात् मासिक २५ हजार नौ सय २० रुपैयाँ भत्ता पाउनेछन्। हुम्ला तथा हिमाली जिल्लाको उच्च भागमा प्रहरी कर्मचारीहरु जान रुचाउने गरेका छन्। सिपाहीको तलब स्केल भन्दा बढी राशन भत्ता पाउने भएकाले त्यहाँ जान प्रहरी कर्मचारीले रुची राख्ने गरेका हुन्।

उच्च हिमाली जिल्लाको हुम्लामा बस्ने प्रहरीले अहिलेसम्म दैनिक सात सय ५१ रुपैयाँ रासन भत्ता पाउँदै आएका थिए । माथिल्लो हुम्ला लगायत, सोलुखुम्बुको नाम्चे, लुक्लामा खाद्यान्न महँगो हुने भएकाले त्यहीअनुसार रासन भत्ता तय गरिएको हो । चामललगायत खाद्यान्न सस्तो पर्ने जिल्लामा कार्यरत प्रहरीले कम र महँगो पर्ने जिल्लामा कार्यरत प्रहरीले बढी भत्ता पाउने प्रहरी प्रधानकार्यालयले जनाएको छ ।

झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, रुपन्देहीमा कार्यरत प्रहरीले सबैभन्दा कम दैनिक एक सय ८१ रुपैयाँ रासन भत्ता पाउनेछन । यी जिल्लामा कार्यरत प्रहरीले अहिलेसम्म एक सय ५७ रुपैयाँ बुझ्दै आएका थिए ।

त्यस्तै, उपत्यकाका तीन जिल्लामा कार्यरत प्रहरीले गत आर्थिक वर्षसम्म दैनिक एक सय ७५ रुपैयाँ रासन भत्ता पाउदै आएकोमा साउन १ गतेदेखि दैनिक दुई सय एक रुपैयाँ भएको छ। नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले बढेको रासन यही महिनादेखि लागु भएको बताए। ‘रासन भत्ता बढेर सुरक्षाकर्मीहरुलाई केही राहत मिलेको छ’, एसएसपी कुँवरले भने।

प्रहरीको रासन भत्तासहित करिब ९८ अर्ब बजेट विनियोज भएको छ। रासन भत्तामा मात्रै नेपाल प्रहरीको यस वर्ष ६ अर्ब १२ करोड रुपैयाँ खर्च हुने प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार पाँच सय ३७ छ । त्यस्तै, सशस्त्र प्रहरीको करिब ३७ हजार दरबन्दी छ । सेनाले भने रासन नै खरिद गरेर खुवाउने गरेको छ । सेनाको रासनमा जहिल्यै ठेकेदारले कम गुणस्तरको सामान दिने गरेको भन्दै गुनासो आउने गरेको छ। ब्यारेकमा बस्ने भएकाले नगद दिन नमिल्ने भन्दै सेनाले ठेकेदारमार्फत रासन आपूर्ति गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *