‘कोरोना संक्रमणबाट बच्न निशेधाज्ञाभन्दा पनि विशेष स्वास्थ्य मापदण्ड अपनाऔँ’ – Dcnepal

‘कोरोना संक्रमणबाट बच्न निशेधाज्ञाभन्दा पनि विशेष स्वास्थ्य मापदण्ड अपनाऔँ’

काठमाडाै।  देशमा कोरोना संक्रमणको दोस्रो लहर आएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ। जसले गर्दा पछिल्लो समय काठमाडौंउपत्यका लगायत केही जिल्लामा बैशाख १६ देखि निशेधाज्ञा जारी गरियो।

खुकुलो पारी जारी गरिएको निशेधाज्ञासँगै अहिले फेरि दोस्रो भेरियन्ट सँगसँगै तेस्रो भेरियन्टको कोरोना फैलिने हो कि भन्ने आम मानिसलाई चिन्ता छ। र, फाट्टफुट्ट तेस्रो भेरियन्ट पनि देखा पर्न थालिसकेको छ।

उता चिकित्सकहरु कोरोनाका भेरियन्टहरु फैलिने सम्भावना उच्च रहेकाले कोरोनादेखि लापर्वाही नगर्न सुझाव दिइराखेका छन्। उनीहरु निशेधाज्ञा, लकडाउन आदि भन्दा पनि मानिसहरु स्वयंले नै कोरोना संक्रमणदेखि बच्न विभिन्न स्वास्थ्य मापदण्डहरु अपनाउन बारम्बार सुझाव दिने गर्छन्।

कोरोनाको विषयमा जानकार तथा संक्रमितको सेवामा खटिएका आम चिकित्सकहरुमध्ये एक चिकित्सक डा.प्रकृति बराल पनि हुन्। नेपालमा कोरोना संक्रमण फैलिएदेखि नै प्रत्यक्ष रुपमा संक्रमितहरुको नजिक रहेर काम गरेकी चिकित्सक डा.बराल पनि कोरोना संक्रमण फैलिन नदिन विशेषत आम मानिसहरुले स्वास्थ्य मापदण्डहरु अनिवार्य पालना गर्नुपर्ने बताउँछिन्।

डा.बराल हाल जोरपाटीस्थित नेपाल मेडिकल कलेज (एनएमसी) को क्यान्सरसम्बन्धी डिपार्टमेन्टमा र नारायणटारस्थित शंकरापुर अस्पतालको एमर्जेन्सी डिपार्टमेन्टमा काम गर्छिन्। बिरामीको सेवामा तल्लीन उनी शनिबार र सार्वजनिक विदामा पनि २४सैं घण्टा खटिन्छिन्।

हुनत उनले शंकरापुरमा काम गरेको करिब आठ महिना र एनएमसीमा काम गरेको करिब दुई महिना हुँदैछ। आठ महिनाअघि एमबीबीएसको पढाई सकेर केही महिनादेखि काम गर्न सुरु गरेको बताउने उनले इन्टर्नसिप गर्दाको समयमा नेपालमा भर्खर भर्खर कोरोना संक्रमण फैलिन सुरु भएको थियो।

एनएमसीबाटै इन्टर्नसिप गरेकी उनी भन्छिन्, ‘२०१९ को नोभेम्बरमा मेरो इन्टर्नसिप सुरु भयो र २०२० को जनवरीदेखि नेपालमा कोभिड संक्रमतिहरु बढ्न थाले। त्यो बेलादेखि नै मैले प्रत्यक्ष अप्रत्यक्ष रुपमा कोरोना संक्रमितलाई हेर्नु पथ्र्यो।’

उनी थप्छिन्, ‘त्यतिबेला डाइरेक्ट कोभिड वार्डमा काम नगरे पनि इमर्जेन्सी र फिबर क्लिनिकमा डिउटी हुन्थ्यो। हामीले पिपिई लगाएर काम गर्नु पथ्र्यो। त्यतिबेला फिबर क्लिनिकमा ज्वरो आएका पेसेन्टहरु हेर्नु पथ्र्यो। त्यो भएर एकदमै बढी डर थियो । त्यसमाथि भ्याक्सिन पनि थिएन, कोरोना के होला भन्ने पनि थियो।’

अहिले अस्पतालमा मेडिकल अफिसर भएर काम गरिराखेकी उनले कोरोनाको डरले सुरुसुरुमा इन्टर्नसिप पछि गर्नु भनेर घरपरिवारले सुझाव दिने गरेको सुनाइन। उनी भन्छिन्, ‘कोभिड सुरु हुँदा त सबैले किन यस्तो रिक्स लिनु, ढिलो इन्टर्नसिप सकेपनि केही हुँदैन भन्नु भयो। तर, बुवा आमालाई बरु आफू सुरक्षित भएर, तपाईंहरुसँग टाढै भएर बस्छु भनेर म ग । त्यतिबेला धेरै समय त म परिवारबाट छुट्टै कोठामा बसेँ।’

सुरुमा कोरोनाको डरले अस्पतालबाट घर जान नपाए हुन्थ्यो जस्तो लाग्ने गरेको बताउने उनी भन्छिन्, ‘कोभिडको डरले मलाई इन्टर्नसिप गर्दादेखि नै घर जान नपाए हुन्थ्यो जस्तो लाग्थ्यो। किनभने घरमा परिवारलाई पनि कोरोना भाइरस सर्ला भन्ने भयो। त्यतिबेला त्यो समस्या मेरो मात्र नभएर सबै स्टाप, नर्स, डाक्टर, हामी इन्टरसिप गर्ने सबैलाई थियो। आफूलाई जेसुकै होस तर मेरो कारणले मेरो परिवारलाई नसरोस् भन्ने मुख्य डर थियो हामीलाई।’

उनले त्यो बेला पीपीई लगाएर काम गर्दा धेरै अप्ठ्यारो भएको बताइन्। पीपीई लगाएर काम गर्दाको अनुभव सुनाउँदै उनले भनिन्, ‘सुरुमा इन्टर्नसिप गर्दा हामीलाई फिबर क्लिनिकमा पठाइन्थ्यो। त्यतिबेला भर्खर पीपीई लगाउन सुरु भएको थियो। पीपीई लगाएर फिबर क्लिनिकमा बस्दाखेरी त्यो सात घण्टाको डिउटीको समयमा न खान, न ट्वाइलेट जान नै पाइन्थ्यो। यस्तोसम्म हुन्थ्यो कि भित्र लगाएका सबै लुगा पसिनाले भिजिसकेको हुन्थ्यो। अर्कोतिर महिनाबारी हुँदा झनै समस्या हुन्थ्यो।’

त्यसबेला डाक्टरहरुले पीपीई लगाएर घण्टौं घण्टा काम गरेको देख्दा र आफूले पनि डिउडी आवरसम्म पीपीई लगाएको अनुभव सम्झदा अहिलेसम्म पनि एकदमै गाह्रो लागेको उनले सुनाइन्।

उनी भन्छिन्, ‘दुईवटा माक्स लगाउदा त कति गाह्रो हुन्छ भने घण्टौघण्टासम्म पीपीई लगाएर बस्दा झन कस्तो हुन्छ? आफूलाई हिड्न गाह्रो भइराखेको बेला बिरामीलाई पिपिई लगाएर हेर्नु पर्दा त्यतिबेला एकदमै गाह्रो हुन्थ्यो । तरपनि यहि विषय पढिएको छ, गर्नै पर्छ भन्ने हिसाबले गरियो। तर अहिले भने बानी परिसकेको छ।’

नेपाल मेडिकल कलेजबाटै एमबीबीएस गरेर डाक्टर बनेको केही समयपछि नै उनले कोरोना संक्रमितको नाजुक अवस्थाको सामना गर्नुपरेको बताउँदै उनी भन्छिन्, ‘म एमबीबीएसबाट डाक्टर भएको धेरै भएको थिएन। अस्पतालमा त्यतिबेला एकैचोटी धेरै कोभिडका सिरियस बिरामीहरु आउँथे। कतिपय मान्छेको शरीरमा अक्सिजनको लेभल एकदमै कम हुन्थ्यो। त्योबेला संक्रमितको अवस्था त्यस्तो देख्दा अचम्म लाग्थ्यो र डर पनि। बेड नपाएर अस्पताल बाहिर रातभर कुर्ने पेसेन्ट पनि हुन्थे, त्यस्तो नाजुक अवस्था थियो।’

धेरै कोरोना संक्रमितमध्ये कतिपय बिरामीको सम्झना भने दिमागमा बसिराखेको उनी बताउछिन्। अझ समयमै औषधि नपाएर ज्यान गुमाएका संक्रमितलाई सम्झेर झनै नरमाइलो लागिराख्ने गरेको सम्झना गर्दै एक बिरामीको अवस्थाबारे उनी भन्छिन्, ‘अस्पताल आउनु भएको एकजना कोरोना संक्रिमितको शरीरमा अक्सिजनको मात्रा एकदमै कम थियो। त्यो बेला उहाँले कतैपनि बेड पाउनु भएन। हाम्रोमा पनि खाली थिएन। आईसीयूमा राख्नुपर्ने उहाँले कतै पनि आईसीयू भएको ठाउँ पाउनु भएन। उहाँको लागि अन्य ठाउँमा हामीले पनि धेरै कोसिस गर्यौं तर कतैपनि पाइएन, त्यस्तो थियो काठमाडौंको अवस्था त्यतिबेला।’

उनी अगाडि थप्छिन्, ‘त्यो देख्दा चाहीँ हाम्रो हेल्थे केयर सिस्टम साच्चैनै पछाडि परेको हो कि जस्तो लाग्थ्यो, मलाई। त्यो एउटा पेसेन्टलाई बचाउन नसकेको म कहिले पनि बिर्सिन सक्दिन। उहाँको अवस्था यति नाजुक हुँदै गयो, पछि उहाँले अन्तिममा आईसीयूमा गएर ज्यान गुमाउनु पर्यो। त्यो देख्दा कहिले काहीँ डिउटीबाट आएर पनि एकदमै नरमाइलो लाग्थ्यो।’

निशेधाज्ञा सुरु भएको बैशाख १६ गतेदेखि यता एमर्जेन्सीमा धेरै कोभिड बिरामीहरु देखिन थालेको बताउँदै उनले पछिल्लो समयमा भने संक्रमित विस्तारै घट्दै गएको बताइन्। तरपनि नयाँ भेरियन्टको डर अझै भएकाले र नेपालमा पनि कोरोनाको नयाँ स्वरुप देखिन सुरु भएकाले सबैले सचेतना अपनाउन भने अति नै आवश्यक भएको उनले बताइन् ।

कोरोनाको नयाँ भेरियन्टले नराम्रो स्थिति ल्याएको भन्दै डा.बराल भन्छिन्, ‘गत बैशाख र जेठमा हरेक अस्पतालको लागि एकदमै गाह्रो थियो। २०७८ साल यताको भेरियन्टले नराम्रो स्थिति ल्यायो। त्यससमयमा हामीले आफन्तहरु पनि धेरै गुमायौं। एकजना बुबाको अस्पताल आउदाखेरी शरीरमा अक्सिजनको मात्रा ३५ थियो। जुन, ९० देखि ९२ भन्दा माथि हुनुपर्ने हो। त्यसैले उहाँलाई हाईफ्लो अक्सिजनमा राखिएको थियो। केही दिनमा उहाँको मृत्यु भयो। त्यसबेला त्यस्ता संक्रमितहरु धेरै थिए।’

सुरुमा कोरोनाले प्राय ६० वर्षभन्दा बढी उमेरसमुहका व्यक्तिहरुको मृत्यु भएको र यसपटक ३० देखि ५० वर्ष उमेरसमूहका व्यक्तिहरुको मृत्यु भएको बताउँदै उनी भन्छिन्, ‘जवान उमेर समुहका मानिसमा सहनसक्ने क्षमता बढी हुन्छ तर वृद्ध उमेर समुहका व्यक्तिको शरीर कमजोर हुन्छ। जवान उमेर समुहकालाई कोरोना संक्रमण भयो भने प्राय धेरै सहने गर्छन र अन्तिम समयमा धेरै नै गाह्रो भएपछि मात्रै अस्पताल पुग्छन्। त्यो भएर पनि ३० देखि ५० उमेर समुहका व्यक्तिहरुको यसपटक धेरै मृत्यु भएको हो र अलि सिरियस केस आएर पनि त्यस्तो अवस्था भएको हो।’

उनका अनुसार जवान उमेर समूहका व्यक्तिहरुको एक्कासी कोरोनाले ज्यान जानुको कारण शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाँदा समेत ठिक भइहाल्छ नि भन्दै अन्तिम समयमा मात्रै अस्पताल पुग्ने गरेकाले त्यस्तो भएको हो। उनले भनिन्, ‘अर्को नयाँ भाइरस विशेष युवा अवस्थाकालाई बढी असर गर्ने भएकोले गर्दा धेरै युवा अवस्थाका व्यक्तिहरु बितेको हामीले सुन्यौं।’

अहिले कोरोना खोपले गर्दा केही हदसम्म डर हटेको बताउने उनी भन्छिन्, ‘अहिले भ्याक्सिनले गर्दा सन्तुष्टी लाग्छ। अहिले त थाहा पनि भयो, कोरोना भनेको यस्तो रहेछ भनेर, पहिलापहिला त थाहा पनि थिएन।’

कोभिड नगराउनको लागि भ्याक्सिनको पनि ठूलो भूमिका हुने उनी बताउँछिन्। तर कतिपयले अझै पनि भ्याक्सिन लगाउन डराउने गरेको बताउँदै उनी भन्छिन्, ‘मान्छेमा अझै पनि कोरोना खोप के हो, कसो हो, के कुरा मेरो शरीरमा गइराखेको छ भनेर शंका गर्नु हुन्छ, जुन स्वभाविक पनि हो। तर, कोरोना संक्रमणले भ्याक्सिन लगाएकालाई नाजुक अवस्थामा नपुर्याउने भएकाले सबैले खोप लगाउनु पर्छ।’

साथै, कोरोना संक्रमणबाट बच्न निशेधाज्ञाभन्दा पनि विशेषत स्वयम् व्यक्तिहरुले स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने डा.बराल बताउँछिन्। उनी भन्छिन्, ‘कोरोना संक्रमणबाट बच्नको लागि सरकारले गरेको निशेषाज्ञाको पालना गर्दै सर्वप्रथम सबैले सबभन्दा पहिला माक्स अनिवार्य लगाउनु पर्छ। र, माक्स लगाउदा जताभावी हातले छुने र माक्स खोल्ने, खोलेर जतापायो त्यतै राख्ने फेरि त्यही लगाउने गर्यो भने कोरोना भाइरसबाट बचिदैन । राम्रो तरिकाले माक्स लगाउनु पर्छ ।’

उनले भनिन्,  ‘सबैले छोइराखेको ठाउँमा आफूले पनि छोइयो भने हात सफा नगरी, सेनिटाइजर नगरि खानेकुरा छुने गर्नु हुँदैन। जताभावी भिडमा नजाने, काम परिहाल्यो भने माक्स लगाएर समाधानीपूर्वक जाने गर्नु पर्छ।’

डा.बरालका अनुसार पछिल्लो समय धेरै व्यक्तिहरुले स्वास्थ्य मापदण्ड पालना नगरेकाले कोभिड संक्रमितको संख्या बढेको हो। उनी भन्छिन्, ‘स्वास्थ्य सावधानीका साथै आफूलाई ज्वरो आयो, खोकी लाग्यो वा अन्य कोरोनाको लक्षणहरु देखिएमा आफूलाई तुरुन्तै आइसोलेट गर्नुपर्छ, चाहे त्यो कोभिड होस् या नहोस्। र, पीसिआर नेगेटिभ नआएसम्म आइसोलेसनमा बस्नु पर्यो, त्यसले आफूलाई पनि बचाउछ र अरुलाई पनि बचाउन सकिन्छ।’

‘सुरुसुरुमा संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण फरक हुन्थ्यो। संक्रमितलाई छुनै हुँदैन भन्ने थियो, जसले मानसिक तनाव पनि एकदमै बढी थियो। त्यतिबेला संक्रमणले भन्दा पनि मानसिक तनाबले बढी मानिस मर्छन जस्तो भएको थियो। तर अहिले त्यस्तो अवस्था नभएको’ बताउँदै उनी भन्छिन्, ‘धेरै जना संक्रमित भएपछि विस्तारै त्यो परिवर्तन हुँदै गयो र मान्छेमा चेतना पनि भयो। फेरि गत बैशाखमा संक्रमणले मान्छेहरु धेरै मर्न थाले, त्यसपछि पुनःमान्छेलाई म मर्छु कि भन्ने तनाब बढी भयो।’ उनका अनुसार मानसिक तनाबले पनि रोगीहरुलाई थप रोगी बनाउँछ।

सुरुमा अन्य बिरामीलाई गाह्रो नभइकन अस्पताल नजानु भन्ने भएपनि आजभोलि अस्पताल जाने नन कोभिड बिरामीहरु बढेको उनी बताउँछिन्। उनका अनुसार विशेषत आँखा, नाक, कान, घाटीलगायतका बिरामीका साथै मानसिक रोगीहरु बढेका छन्।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो