मौसम परिवर्तनको असर: भाइरल ज्वरोका बिरामी बढ्दो

डिसी नेपाल
१३ साउन २०७८ २१:२१

राजविराज । मौसममा भएको परिवर्तनसँंगै सप्तरीको बोदेबर्साइन नगरपालिका–५ स्थित शत्रुध्न अस्पतालमा भाइरल ज्वरोका बिरामी वृद्धि भएका छन् ।

विगत पाँच÷सात दिनदेखि अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने क्रममा वृद्धि भएको अस्पतालका मेडिकल अधिकृत डा अरविन्द्रकुमार यादवले जानकारी दिए ।

उनले उपचारका लागि अस्पताल आउने बिरामीमध्ये अहिले ६०\७० प्रतिशत भाइरल ज्वरोका रहेको बताए । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् । बिरामीमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखापर्ने गरेको डा यादबको भनाइ छ । भाइरल ज्वरोको उपचारका लागि अस्पतालमा दैनिक २५\३० बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

विगत केही दिनयता तराई मधेशमा अत्यधिक गर्मीका कारण वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको स्थानीयवासी उमेशकुमार साहले बताए । अत्यधिक गर्मीका कारण शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले पनि शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको चिकित्सकको भनाइ छ । भाइरल ज्वराको प्रकोप बढेको बेला झोल पदार्थ बढी खान, पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन सबैमा आग्रह गरिएको बोदेबर्साइन नगरपालिका स्वास्थ्य शाखाका संयोजक वैद्यनाथ साहले बताए ।

यस्तै सप्तरीको राजविराजस्थित गजेन्द्र अस्पतालमा पनि उपचारका लागि आउने भाइरल ज्वराका बिरामीको सङ्ख्या बढ्दो छ ।

एक्सरे मेसिन बन्द, सेवाग्राही मर्कामा

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको एक्सरे मेसिन बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

अस्पतालमा सञ्चालनमा रहेको एक्सरे मेसिन बन्द हुँदा उपचार गराउन आउने बिरामी सास्ती भोग्न वाध्य छन् । बाहिर गएर एक्सरे गराउँदा दोब्बर खर्चिनुपरेको बिरामीको गुनासो छ ।

केही वर्षअघिसम्म रेफरल सेन्टरको नामले परिचित यो अस्पतालमा व्यापक सुधार खाँचो रहेको राजविराजका बिजाय रजकको भनाइ छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रणजीत कुमार झाले प्राविधिक गडबडी र युपिएस बिग्रेका कारण बन्द भएको एक्सरे सेवो एक÷दुई दिनमा पुनःसञ्चालनमा आउन सकिने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *