साथीको हत्या गरी लुटपाट गरेको अभियोगमा ३ जना पक्राउ

डिसी नेपाल
१६ साउन २०७८ १८:१४

पर्सा । सर्लाही लालबन्दी नगरपालिका १ घर भई काठमाडौं गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिनको हत्या गरी साथमा रहेको सुनको सिक्री, सुनको औँठी, घडी र नगद १० हजार रुपैयाँ लुटपाट गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा वीरगञ्ज महानगरपालिका ७ रामटोल बस्ने २५ वर्षीय राहुल महर्जन, सोही ठाउँ बस्ने २७ वर्षीय विक्की भन्ने दीप लामा तामाङ र बारा फेटा गाउँपालिका ३ बस्ने २७ वर्षीय धनञ्जय रजक रहेका छन् ।

उनीहरू ३ जना र भारत मोतीहारी घर भई वीरगञ्ज महानगरपालिका १६ नगवा बस्ने रवि सर्राफ गरी ४ जनाले लुटपाट गर्ने योजना बनाई राहुलको साथी ज्ञानु पाख्रिनलाई वीरगञ्ज बोलाएको, साउन १३ गते साँझ दुई जना साथीसहित ज्ञानु बीरगञ्ज पुगपछि ७ जना दीप लामाको खाली घरमा मादक पदार्थ सेवन गरी बसेको र साउन १४ गते बिहान काठमाडौंबाट आएका २ जनालाई सोही स्थानमा छोडी ज्ञानुलाई थप बियर किन्ने बहाना गरी रामटोलको खाली जग्गामा लगि घाँटीमा लक लगाई अँठ्याई ज्यान लिई मृतकको साथमा रहेको उक्त धनमाल लुटेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

लुटपाट गरेको धनमाल रवि सर्राफले राखी तत्काल फरार भएको र अन्य तीन जना भागी फरार हुने क्रममा नियमित गस्तीमा घटनास्थल नजिक पुगेको प्रहरी टोलीले उनीहरुलाई तत्काल पक्राउ गरेको थियो । थप अनुसन्धान गर्दा दीप लामाले घटनास्थल नजिकै नालामा लुकाएको सुनको सिक्रीको टुक्रा प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर कर्तव्य ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तथा लुटपाट गरेको अन्य धनमाल लिई फरार भएका रविको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *