‘डाक्टर होइनन्, तर डाक्टरभन्दा कम छैनन् पन्त’ – Dcnepal

‘डाक्टर होइनन्, तर डाक्टरभन्दा कम छैनन् पन्त’

‘रिटायर्ड लाइफ’ परेवा र बाँदरको सेवामा

काठमाडौं। काठमाडौंको कमलपोखरीका ६५ वर्षीय रमणदेव पन्तले माध्यमिकस्तरको पढाई विजय ममोरियल स्कुल र पद्योदय माध्यमिक विद्यालयबाट गरेका हुन्। काठमाडौंमै जन्मिएर हुर्किएका उनले २०२९ सालमा एसएलसी दिएपछि नेपालको पहिलो विज्ञान क्याम्पस अमृत (एस्कल) साइन्स क्याम्पसबाट आई.ए.सी.अध्ययन पूरा गरे।

आई.ए.सी.मा राम्रो नम्बर ल्याउन नसकेपछि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज मेडिकल क्याम्पसबाट ३ वर्षे हेल्थ ल्याबोटेरी टेक्निसियनको कोर्स पूरा गरे र त्यसपछि काम गर्न सुरु गरे। मेडिकलतिरको प्याथोलोजी लाइनमा लागेको बताउने उनले त्यसबेला काम गर्ने सिलसिलामा पोखरा, धनकुटा लगायत बाहिरी जिल्लाहरुमा गएर पनि काम गरेको सुनाए।

हेल्थ ल्याबोटेरी टेक्निक पास गरेर काम गर्दै जाँदा केही समय तालिमको लागि बम्बई (भारत) पनि गएको उनी सुनाउँछन्। उनी भन्छन्, ‘पछि उता (भारत) बाट आएपछि मैले आफ्नो फिल्ड(पेशा) परिवर्तन गरिदिए। क्लिनिकल फर्मोक्लोजिकल तिर गए, यो भनेको मान्छेले कुनै पनि औषधि खायो भने त्यो औषधिको मात्रा (रगतबाट हेर्ने) हेर्ने विषयतिर लागे, जसलाई थेरापिडिक ड्रग मनिटरिङ (टीडीएम) ल्याब भनिन्छ। जस्तोःकसैले प्यारा सिटामोल खायो भने त्यसको मात्रा रगतमा कति छ, भनेर हेर्ने।’

पन्तका अनुसार व्यक्तिको रगतमा प्यारासिटामोलको मात्रा १० देखि २० माइक्रोग्राम हुनुपर्छ। यदि प्यारासिटामोल खाएको व्यक्तिको रगतमा त्योभन्दा बढी मात्रा भइदियो भने त्यो हानिकारक हुन्छ। उनी भन्छन्, ‘यस बाहेक मान्छेले विष खायो भने त्यो मान्छेको रगत जाँचेर के विष खाएको रहेछ भनेर हेर्ने काम पनि मैले गरेँ।’

महाराजगन्ज मेडिकल क्याम्पसमा दरबन्दी भएकाले त्यहाँ ल्याब खोलेर शरीरमा औषधिको मात्रा कति हुनुपर्छ र कति छ भनेर जाँच गर्ने काम उनले सुरु गरे। तर, उक्त क्याम्पसका मुख्य प्रशिक्षक पन्तले खोलेको त्यो ल्याब त्यति नचलेपछि उनी त्यहाँबाट टिचिङ अस्पतालमा काम गर्न गए।

टिचिङ अस्पतालमा ३९ वर्ष काम गरेपछि रिटायर्ड (अवकास प्राप्त) भएपछि अहिले उनी काम पर्दा अथवा डाक्टरहरुले काम परेर बोलोएको खण्डमा दौडेर टिचिङ पुग्ने गर्छन्। लामो समय टिचिङमा काम गरेका उनलाई उनका साथीभाइहरुले अझै पनि ‘यो डाक्टर होइन तर डाक्टरभन्दा कम छैन’ भन्ने गर्छन्।

उनी पनि आफूले गरेको कामप्रति गर्व लागेको बताउँदै सुनाउछन्, ‘अहिले म रिटायर्ड हुँ। मैले टिचिङमा इन्ट्री (प्रवेश) गर्दा नन् ग्राजुएटेडबाट सुरु गरेको थिए, अहिले फस्टक्लासमा पुगेर रिटायर्ड भए।’ हुन पनि उनी हेल्थ ल्याबको वरिष्ठभन्दा पनि माथि मुख्य प्रशिक्षकबाट रिटायर्ड (अवकास प्राप्त) हुन्।

उनको विषय ब्लड टेष्ट (रगत जाँच) सम्बन्धी भएकाले हाल उनी प्राइभेट कलेजमा फर्मोक्लोजी (फार्मेसि सम्बन्धी) पढाउने गर्छन्। आफूले गर्दै आएको कामप्रति धेरै सन्तुष्टि लाग्ने गरेको बताउने उनी भन्छन्, ‘आई एम रिटायर्ड बट नट टायर’(म अवकास प्राप्त हुँ तर थाकेको छुइन्)।

उनी काम गर्ने सिलसिलामा भएका र आफूले भोगेका कुराहरु यसरी सुनाउँछन्, ‘हेल्थ लेबोटेरी टेक्निसियन भन्ने विषय भनेको रगत, दिशा, पिसाब, जाँच्ने हो तर उबेला सबैले यसले त गुहु (दिसा) जाच्ने हो भन्थे। कहीँ देख्यो भने त्यसले त गुहु जाँच गर्छ भन्थे । तर वास्तवमा गुहु मात्रै जाच्ने त होइन।’

आफूले पढेको विषयमा दत्तचित्त भएर ४१ वर्षसम्म काम गरेको बताउने उनी प्रफुल्ल हुँदै भन्छन्, ‘अहिले मलाई पेन्सन पनि राम्रै दिइएको छ । करिब ४५ हजारभन्दा बढी खान्छु । त्यसको अलवा प्राइभेट कलेजहरुमा पनि पढाइराखेको छु।’

अहिले पढाउँदै गरेको कलेजमा पनि सबै विद्यार्थीले आदर गर्ने गरेको बताउने उनी बानेश्वरस्थित सेन्टल इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी भन्ने कलेजमा पढाउन जान्छन्। उनले त्यहाँ विद्यार्थीहरुलाई थेरापेटिक ड्रग मोनिटरिङको बारेमा प्रशिक्षण दिइराखेका छन्। साथै, विद्यार्थीहरुलाई हप्तैपिच्छे डेमोस्ट्रेशन पनि गराउँछन्।

उनी कलेजमा पढाएर पैसा कमाउनु भन्दा पनि विद्यार्थीहरुलाई पढाउन, काम सिकाउन रमाइलो लाग्ने गरेको बताउँछन्। उनी भन्छन्, ‘मेरा चेलाहरु अहिले पनि तराईतिर टन्नै छन्। तराईको पत्लइया काटेर गएपछि त्यहाँको कुनै पनि ठाउँको अस्पतालको इमर्जेन्सीमा गयो भने पन्त सर आउनु भएछ भनेर खुब खुसी हुन्छन्। तर, अब म कतिपयलाई चिनिराखेको पनि हुदिन।’

उनी अगाडि थप्छन्, ‘पहिला पहिला त म जनकपुर तिर पनि राम्रै तलबमा ठेक्का लिएर पढाउन जान्थेँ। पछि बाहिर गएर पढाउन मन लागेन र छोडिदिए हो।’

अहिले पनि उनलाई काठमाडौंका नाम चलेका ल्याबहरुले दुई घण्टा भएपनि मेरोमा काम गरिदिनु, मागेको रकम (तलब) दिन्छु भनेर धेरैले बोलाउने गरेको उनी सुनाउँछन्। उनी भन्छन्, ‘अहिले प्याथोलोजीमा नाम चलेका काठमाडौंका प्याथोलोजिष्टहरुले मलाई आग्रह गर्छन्, मेरो ल्याबमा आएर काम गरिदिउ भनेर। तर म अहिले आफ्नै तालमा छु। मलाई अब काम गर्न मन लाग्दैन।’

उनले पछिल्लो समय आफ्नो पुर्खाहरु जन्मेको ठाउँ पाल्पाको हुङ्गी भन्ने गाउँमा गएर ल्याब खोलिदिएका गरिदिएका छन्। सोही ल्याबबारे सोध्दा उनी भन्छन्, ‘त्यहाँको हुङ्गी हेल्पपोष्टमा सानो ल्याब संचालन गरेको हो। त्यो के कस्तो छ भनेर त्यही गएर बुझ्यो भने अझ क्लियर हुन्छ।’

ल्याब नै नभएको गाउँपालिकाको हेल्पपोष्टमा ल्याब खोलेपछि उनको सिको गर्दै अहिले पाल्पाको अन्य केही गाउँपालिकाले पनि ल्याब संचालन गरेको उनी सुनाउँछन्। र, खुशी हुँदै उनी भन्छन्, ‘पहिला त्यहाँका मान्छेलाई सुगर आदि जाच्नु पर्यो भने एक घण्टा बस चढेर अन्तै जानु पथ्र्यो। त्यही भएर मैले सरकारलाई आग्रह गरेर करिब सात लाखको सामान पाए र मेरो आफ्नो साढे तीन लाखको सामान गाडी रिजर्भ गरेर त्यहाँ पुर्याएर ल्याब खोलिदिएको हुँ।’

खोलिएको उक्त ल्याब देख्दा आफूलाई ठूलो अहम् हुने गरेको बताउने उनलाई सो गाउँपालिकाले सम्मानसमेत गरेको थियो। उनी भन्छन्, ‘सम्मानजनक कार्य गरेको भनेर प्रमाणपत्र दिएर दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो। तर, मैले पाएको सम्मान पनि उतै बाडिदिए। त्यहाँ दिइएको सर्टिफिकेट पनि आफन्त(भिनाजु)को घरमा झुण्डियाएर फोटो चाहिँ खिचेर ल्याएको छु।’

सो काम गरेवापत उनलाई गाउँका वृद्धहरुले आर्शिवाद दिने गरेको बताउने उनी भन्छन्, ‘पहिला पहिला त्यो गाउँमा सुगर जाँच गर्दा ३ सय रुपैयाँ खर्च हुन्थ्यो। मैले सुरुमा ३५ रुपैयाँमा गराइदिएको थिए र अहिले गाउँपालिकाले निःशुल्क गरिदिएछ, खुशी लागेको छ।’

गाउँको उक्त ल्याबमा अहिले सुगर, युरिया, क्रेटेनिन, कोलेस्टोल, टीभी, ब्लड ग्रुप आदिको जाँच हुने गर्छ। जुन ल्याब गाउँकै सोसम्बन्धी पढाई पूरा गरेकी अनुभवी सन्तोषी पाण्डेले चलाइराखेकी छन्। पन्त भन्छन्, ‘अहिले पनि ल्याब स्थापना गरेकोमा हेल्पपोष्टका डा.पुजन श्रेष्ठ लगायतले बेलाबेलामा फोन गरेर हजुरले ठूलो कर्म गर्नु भएको छ भन्नुहुन्छ।’

श्रीमती, आफू र दुई छोरा गरी चार जनाको परिवार भएको बताउने हाल उनको दैनिकी बिहानको समयमा जनावर, पंक्षीको सेवामा बित्ने गर्छ । उनी भन्छन्, ‘मेरो सोख भनेको सधैं बिहान तीन बजे उठ्ने, साढे तीन बजेसम्म घरमा चलमल गर्यो त्यसपछि नुहाएर ४ बजे घरबाट निस्किन्छु। पशुपति गुहेश्वरी, सिनामंगल हुँदै फेरि पशुपति आर्यघाट आएर बादरहरुलाई आफूले सकेको खुवाएर घर जान्छु। मैले घरमा पनि ८०–९० वटा परेवा पालेको छु।’

घरमा पालेको परेवाका बारेमा उनलाई बेकारमा किन यत्रो खर्च गरेको भनेर धेरै जनाले गाली गर्ने गरेको बताउने उनी भन्छन्, ‘धेरैले यत्रो खर्च गरेर परेवा पालेको भनेर गाली गर्छन्। परेवा शान्तिको प्रतिक हो। मलाई कौशीमा परेवा छोडेर बसेपछि समय बितेको पत्तै हुँदैन्, परेवाहरुसँग बस्न धेरै रमाइलो लाग्छ मलाई।’

घर बाहिर बिहानको समयमा विभिन्न मन्दिर मन्दिर धाएर परेवा, बादर, गाईवस्तुलाई खर्च गरी खानेकुरा खुवाउने गर्छन् र घरमा पनि परेवा पाल्ने, एक्युरियममा माछा पाल्ने र किचन गार्डेनिङ गर्न रमाउने उनी भन्छन्, ‘उमेरले ६५ लागे अहिलेसम्म कुनै औषधि पनि खानु परेको छैन। सायद यो मर्निङ वाकको समयमा बादर, परेवासँग रमाएको उपलब्धी होला।’

बिहान बादर, परेवालाई दैनिक कति खर्च गर्नु हुन्छ भन्ने प्रश्नमा उनी दुखेसो गर्दै भन्छन्, ‘यति खर्च भन्ने हुँदैन मनको सन्तोष हो, तिनीहरुलाई टन्न मैले खुवाउन त सक्दिन। वास्तवमा पशुपति विकास कोषले खुवाउनु पर्ने हो तर अहिलेसम्म खुवाएको देखिएको छैन। बादरलाई ठाउँठाउँमा पानी, चना आदि खानेकुरा राखिदिनु पर्ने हो, त्यो गरेको छैन। यहाँ मृगहरुलाई मात्र संरक्षण गरेर राखिएको छ। तर त्यहाँ हेर्ने हो भने उनीहरुको पनि दयनीय अवस्था छ। भक्तजनले हरियो झार किनेर खुवाइ राख्नु परेको छ। के गर्ने यी सबैको रक्षा पशुपतिनाथले गरिराखेका छन् भन्दै चित्त बुझाएर बस्नु परेको छ।’

रिटायर्ड लाइफ हुँदा समेत डाक्टरले गर्ने सेवा अप्रत्यक्ष रुपमा गरिराखेका उनलाई अहिले पनि आफन्त, टोलछिमेक तथा साथीभाइले यस्तो बिरामी भए कुन औषधि कति खानु भनेर सोधीखोजी गर्ने गर्छन् । पन्त भन्छन्, ‘हुनत म डाक्टर होइन तर सबैले मलाई डाक्टर भन्दा पनि तगडा छौं, औषधि दिनु पर्यो भनेर भन्छन्।’

हेल्थ ल्याबका अनुभवी पन्तलाई धेरै नाम चलेका डाक्टरहरुले अझै पनि टिचिङमा काम परेको खण्डमा बोलाएर सहकार्य गर्न लगाउने गर्छन् र उनलाई चिनेजानेकाले डाक्टरझै सल्लाह लिने, कुन औषधि खाने भनेर सोध्ने गर्छन्। तर, उनी आजभोली प्रायलाई फलानो डाक्टरको जानु भनेर सल्लाह दिने गरेको बताउँछन्।

पन्तले आफ्नो कार्यकालमा विष खाएर आएका धेरै प्रेमीहरुलाई बचाएर सम्झाई बुझाई गरेर घर पठाएको बताए। उनका अनुसार त्यो बेला प्रायले प्रेम असफल भयो भने र एसएलसीको रिजल्टले गर्दा विष खाने गर्थे।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो