नेपालमै गरेको व्यवसायले बिदेश बिर्सेका युवाहरु

तर्कबहादुर थापा
२२ साउन २०७८ ७:०४

काठमाडौं। केही वर्ष पहिला गायक पशुपति शर्माको ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ भन्ने गीतले निकै चर्चा पायो। चर्चाको मात्र कुरो नभएर त्यसपछि धेरैले पशुपति शर्माको गीतमा भनिएका शब्दहरुजस्तै आफ्नै व्यवसाय पनि गरे।

व्यवसाय गरेकाहरुमध्ये कतिले अन्तर्राष्ट्रिय स्वाद आफ्नै देशको माटोमा पाए भन्ने फरक कुरा हो। तर, बाग्लुङका हिमाल सुवेदी र म्याग्दीका बाबुराम कँडेलका दाजुभाइले भने फ्रान्सको अनुभूति नेपालमै गरेका छन्।

फ्रान्सको एउटा कम्पनीले उत्पादन गर्ने कफी मेसिनहरुलाई नेपाली बजारका लागि आधिकारिक बिक्रेताको अनुमति पाएपछि करिव ५ वर्ष यता विदेश गएको भन्दा धेरै राम्रो भएको उनीहरुको भनाइ छ।

देशका विभिन्न शहरहरुमा आफूहरु आधिकारीक बिक्रेता भएको मेसिन र कफीको लागि आवश्यक कच्चापदार्थ पुर्‍याएपछि उनीहरुलाई पनि अष्ट्रेलिया यहीँ, जापान पनि यहीँ भएको छ।

पछिल्ला केही वर्ष यता नेपालका अधिकांश युवाहरुको रोजाइ हो बिदेश। आफ्नो अध्ययन सकेपछि पारिवारिक परिस्थिति अनुसारका बिदेशहरुमा जाने प्रचलन बढ्दो क्रममा छ।

नेपालमा केही गर्न नसकिने भन्दै बैदेशिक रोजगारी र अध्ययनका लागि नेपाल छोड्न सामान्य जस्तै भएको छ। विद्यार्थी भिसामा गएकहरुले पनि बिदेशमा पढ्ने भन्दा धेरै काम गरेर नेपाल पैसा पठाउने गरिहेका छन्।

तर, म्याग्दी र बाग्लुङका यी तीन जना युवा भने बिदेशमा हुने कमाइ भन्दा बढीको पैसा नेपालमै कमाइ रहेका छन्। पढ्दै गरेको अवस्थामा हिमालयन जाभा कम्पनीबाट कफी बनाउन सिप सिकेका उनीहरु अहिले आफ्नै कम्पनी खोलेर बसेका छन्। उनीहरुले ५ वर्ष हिमालयन जाभा कम्पनीमै कफी बनाउने कामको अनुभवका आधारमा अहिले आफैंले सोही व्यवसाय गरिरहेका छन्।

काठमाडौंमा सजिलै जागिर पाउनका लागि पनि कफी बनाउन जान्ने भए सजिलो हुने गरेको उनीहरुको अनुभव छ। ‘पहिला त विदेश जाँदा कफी बनाउन जान्ने भए सजिलो हुन्छ झैं लाग्यो,’ हिमाल सुवेदीले भने, ‘अनि काठमाडौंमा पनि जागिर सजिलै पाउनका लागि हामीले कफी बनाउन सिकेका हौं। तर, पछि आफैंले जानेपछि आफ्नै गरौं भन्ने योजना बनायौं।’

३० लाखबाट सुरु भएको धौलागिरि कफीको ब्राण्ड अहिले करोड बढी भएको छ। वर्षेनी औषतमा ५ करोड बढीको टर्नओभर गर्दै आएका छन्। ‘कोरोना काल भन्दा पहिलाका वर्षहरुमा वर्षेनी ५ करोडको टर्नओभर थियो,’ सुवेदीले भने, ‘अहिले कोरोनाको बेला भएर होला व्यापार घटेको छ। हुन त यो बेलामा हामी मात्र होइन सबै प्रकारका व्यापारहरुमा समस्या भएको छ।’

सुरुवातमा बुबाआमा बिदेश जाओस भन्ने अपेक्षालाई आफूहरुले उपेक्षा गरेको जस्तो भएको अनुभव उनीहरुको छ। सुवेदीले भने, ‘हामी मामा भाञ्जा हौं। अरुको परिवारले झैं हाम्रो परिवारले पनि सरकारी जागिर वा बैदेशिक रोजगारको अपेक्षा गर्नु भएको थियो। आफैं गर्छौं भन्दा कही नभने पनि भर मान्नु भएको थिएन। जब हामीले सुरुवातीमा लिएको ऋण तिरेर सक्यौं त्यसपछि कमाउन थाल्यौ। अहिले सबैजना खुसी हुनुहुन्छ।’

यसरी भयो व्यवसायको सुरुवात

हिमालयन जाभामा सिप सिकेर केही वर्ष काम गरेपछि आफैंले केही गर्ने योजना बनाउँछन् उनीहरु। तीन जनाको एक प्रकारको सहमति भएपछि ३० लाख जति पैसाको जोहो गर्छन्। आफूले काम गर्ने भएपछि बैंकबाट नै सबै ऋण लिन्छन्। बनाएको कफी बेच्ने काम गरेका उनीहरु कफी बनाउने मेसिन नै बेच्ने सोचमा पुग्छन्।

बैंकबाट ऋण लिएको पैसा आफूसँग आएपछि उनीहरुले फ्रान्सको एउटा कम्पनीसँग सम्झौता गर्छन् र नेपालमा त्यसको आधिकारिक डिस्ट्रिब्यूटर हुन्छन्। एउटै मेसिनको ५ लाख बढी मूल्य पर्ने भएपछि सुरुवातिमा ५ वटा मेसिन मगाउँछन्। नेपालमा मेसिन पुगेपछि उनीहरुले आफूले चिने जानेका व्यक्तिहरुलाई सम्पर्क गर्छन्।

सामाजिक सञ्जालको समेत प्रयोग गरेर मेसिन बेच्न सुरु गरेका उनीहरुको अहिले बैदेशिक रोजगारीमा गएर कमाएको भन्दा बढी कमाइ भइरहेको छ। बैदेशिक रोजगारी पनि खाडी मुलुकको होइन, जापान कोरीयाको भन्दा बढी।

हाल देशका विभिन्न ठूला शहरहरुमा उनीहरुले मेसिन बेचिरहेका छन्। ‘कफीशप’ गर्न इच्छा भएका व्यक्तिहरुसँगको सहकार्यमा मेसिनमात्र नभएर आवश्यक कफी र अन्य सामग्री पनि उपलब्ध गराउँदै आएका छन्। काठमाडौं, काभ्रे, पोखरा, सुर्खेतलगायतका शहरहरुका अधिकांश कफीशपले उनीहरुसँग सहकार्य गर्दै आफ्नो व्यवसाय गरिरहेका छन्।

कस्ता कस्ता मेसिन छन्

अहिले दुई प्रकारका मेसिनहरु बेचिरहेको उनीहरुले सुनाए। २० जनासम्म क्षमता भएको कफीशपको लागि सिंगलहेड मेसिन दिने गरेका छन् भने त्यो भन्दा बढी क्षमता भएका कफीसपहरुको लागि मल्टीहेड मेसिन दिने गरेका छन्। मेसिनको खरिददेखि व्यवसायको सुरुवाती नहुँदासम्मका सबै आवश्यक कुराहरुमा तालिम दिने गरेको समेत सुवेदीले बताए।

सुवेदीका अनुसार मेसिन चलाउन, कफी बनाउन, विभिन्न किसिमको कफीको मूल्य समायोजन गर्न, विभिन्न किसिमको स्वादका कफीहरु बनाउनेसमेतको तालिम पनि उनीहरुले नै उपलब्ध गराउँदै आएका छन्। ‘अहिले आफूसँग भएको मेसिनबाट करिव ५० प्रकारको कफी बनाउन मिल्छ,’ सुवेदीले भने।

सिंगलहेड भएको कफी मेसिनको बजार मूल्य तीन लाख ५० हजारबाट सुरु हुन्छ भने मल्टीहेड भएका मेसिनको मूल्य पाँच लाख ५० हजारबाट सुरु हुन्छ। विभिन्न सयममा परिवर्तित भएर आएका मेसिनहरुको मूल्यमा केही तलमाथि हुने गरेको उनीहरुको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *