कर्मशील ८३ वर्षीया वृद्धा, जाे पानी बेचेर परिवार पाल्छिन्

रिता बस्नेत
२२ साउन २०७८ ११:१४

काठमाडौं। सिन्धुपाल्चोककी ८३ वर्षीया बालकुमारी कार्कीको दैनिकी काठमाडौंस्थित हनुमान ढोका क्षेत्र आसपासमा बित्ने गर्छ। बुढौलीपनले चाउरिएको हसिलो अनुहार भएकी कार्की सडक व्यापारी हुन्। जो कोहिसँग खुलेर बोल्ने उनी व्यापार गर्न सिपालु छिन्। उनी प्रायलाई बाबा भनि सम्बोधन गर्छिन्।

उनी त्यहाँ आउने दर्शनार्थी, पर्यटक तथा बटुवाहरुलाई लक्षित गरी बिहानको समयमा परेवालाई खुवाउने चारो (मकै, धान, गुहँ आदि) र दिउँसो एक लिटरको पिउने पानीको बोतल बेच्ने गर्छिन्। उनका अनुसार काठमाडौं आएर उनले व्यापार गरेको १०–१२ वर्ष भयो।

६ जना छोराछोरीकी धनी उनी ‘बाबु यति एउटा बोहोनी गरिदिनुस् न, बाबा यति एउटा पानी खाइदिनु न’, भन्दै पानीको बोतल हातमा लिई सडक पेटीमा बसेर आउजाउ गर्ने मानिसहरुलाई आग्रह गरिराखेकी हुन्छन्। आमा किन यति धेरै दुःख गरेको छोराछोरी छैनन् भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘म बाचुन्जेल आफैं दुःख गरेर खान्छु भनेर यो व्यापार गरेको।’

उनी अगाडि थप्छिन्, ‘सिन्धुपाल्चोकमा छोराछोरी छन्, सबैजनाको परिवार खेती किसानी गरेर खाइराखेका छन्। दुई जना यतै छन्। उनीहरुको पनि कोठा भाडा तिर्न नसकेर बिजोक छ।’ उनका अनुसार उनका एक छोरा र एक छोरीको परिवार भने काठमाडौंमै बस्छन् र उनीहरु पनि सडक व्यापार गर्छन्।

बुढी आमाले पनि दुःख गरी कमाएको देख्दा छक्कै लाग्यो भन्ने प्रश्नमा मज्जाले खुशी हासो हाँस्दै उनले भनिन्, ‘इन्द्रचोकमा घर हुने मान्छे त यहाँ मैले जस्तै गरी बाटोबाटोमा पानी बेच्छन्। उसको त घर भाडा आउँछ। त्यस्तालाई त पुगेको छैन, बाबा। म त झन केही नभएको मान्छे खानकै लागि पनि गर्नु परिहाल्यो नि।’

हसिलो वृद्ध शरीर, जो कोहीको नजर उनमाथि पर्छ। त्यसैले पनि होला उनको व्यापार पनि फाट्टफुट्ट भइराख्छ। कसरी यस्तो व्यापार गर्न सुरु गर्नु भयो?, भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘सुरुमा काठमाडौं साथीभाइसँग आएर ४ वर्ष प्लाष्टिक, बोतल टिपे र बागबजारमा लगेर बेच्ने गथ्र्यौं। र, उनीहरुले नै लिएको भाडाको कोठामा मिलेर बसे। त्यतिबेला हनुमान ढोकामा सबैले परेवाको लागि मकै बेचेको देखे। अनि मैले पनि परेवाको चारो बेच्न थाले।’

उनका अनुसार बिहान हनुमान ढोकास्थित मन्दिरहरुको दर्शन गर्न आउने दर्शनार्थीहरुले तिनै बुढी आमालगायतले राखेको चारो किनेर त्यहाँ भएका परेवालाई खुवाउने गर्छन्।

मकै बेचेरभन्दा पानी बेचेर अलि बढी कमाई हुने बताउने उनी भन्छिन्, ‘दुई कार्टुन (२४ वटा बोतल) पानी बेच्यो भने २ सय फाइदा हुन्छ।’ सुरुमा उनी ६ वटा पानीको बोतल ल्याएर बेच्न बस्छिन र त्यो सकिएपछि नजिकैको होलसेल पसलमा गएर फेरि ६ वटा बोतल ल्याएर बच्ने गर्दिरहेछिन्।

उनी भन्छिन्, ‘हात दुखेर धेरै पानी बोक्न सक्दिन । थोरै थोरै ल्याएर बेच्ने गर्छु।’ केही महिना अघि स्लाइन दिएकाले हात दुखेर धेरै भारी बोक्न नसकेको उनले सुनाइन्।

उनले भनिन्, ‘अस्तिको बैशाखमा निषेधाज्ञाको भोलिपल्ट मलाई के भयो के व्यापार गरिराखेको ठाउँमा ढलेछुँ। हाईप्रेसरले भक्कै लडेको, अझ बेलैमा अस्पताल पुर्याएकोले बाचेको रे, डाक्टरले भनेको। लडेपछि अरुले छोरालाई बोलादिएछन् अनि आएर अस्पताल लगेछ। छोरा चाहीँ अलि पर डालोमा चुरोट बेचेर बसेको थियो।’

उनका अनुसार १५ दिन अस्पताल बसेपछि निको भएर फेरि व्यापार सुरु गर्न थालेको हो। विगतलाई कोट्याउँदा उनी भन्छिन्, ‘श्रीमान् बितेको त ४१ वर्ष भयो। मैले छोराछोरीलाई पढाउन पनि सकिन, छोराछोरीले पढेका पनि छैनन्। एउटी कान्छी छोरीलाई चाहीँ उबेला यहाँको एक जना साहुको घरमा राखेर काम गर्दै पढादिने भएका थिए। धेरै काम मात्रै लगाएछन् एसएलसी पास गर्नै सकिन।’

हाल उनै कान्छी छोरीको परिवारसँग आफू बस्दै आएको उनले बताइन्। वृद्ध आमाका अनुसार सँगै बस्ने छोरीले पनि सडक पेटीमा बसेर चप्पलको व्यापार गर्छिन्। उनी भन्छिन्, ‘छोरीको कोठा नरदेवीमा छ। उसले इन्द्रचोकमा भरे बेलुका पसले राख्छे । उसको व्यापार नै हुँदैन।’
उनी अगाडि भन्छिन्, ‘छोरीलाई पनि खानै दुःख छ, भुईँ तलको कोठामा बस्छन्, बस्ने ठाउँ अप्ठ्यारो छ। ज्वाई माडवाडीको पसलमा काम गर्छन्। छोरी कहिल्यै बोहोनी लाग्यो भन्दिन्। त्यो नाथे चप्पल कसैले लिँदैनन्।’

उनी छोरीको कोठामा पनि केही महिनाअघिदेखि मात्रै बस्न थालेको सुनाउँदै उनी भन्छिन्, ‘अस्तिसम्म म १५ सयको ट्वाइलेट जत्रो कोठामा एक्लै बस्दै आएको थिए, त्यो पनि मुसाले माटो उठाएर थुपारेको थियो। भाडा नदिएकाले कोठामा घरबेटीले बस्नै दिएन। आजभोलि देख्ने साथ जहिल्यै भाडा मागेको मागै गर्छन्। त्यही अलिअलि सामान छोडिदिएको छ नि हजुरलाई, फेरि मैले ढोकामा ताला लगाएर गएको होइन त्यसै छोडेर गएको कोठा हो भनेको उसले तलाई कराउँछेस् भन्छन्।’

उनका अनुसार इन्द्रचोकस्थित भाडामा लिएको सानो कोठामा ताला नगाइकनै छोडेर उनी गाउँ गएकी रहेछिन्। उताबाट आएपछि कोठामा बस्न नसकेर छोरीको कोठामा बस्न थालेकी रहेछिन्। तर, त्यो घरबेटीले देखेपिच्छे भाडा माग्ने गर्दा रहेछन् तर उनी भने मैले कोठामा चाबी लगाएर गएको थिइन भन्दै पन्छिने गर्दिरहेछिन्। तरपनि ति घरबेटीले भाडा दिनु भन्दै गाली गर्न भने छोड्दा रहेनछन्।

कमाएको पैसा के गर्नु हुन्छ, जम्मा गरेर राख्नु भएको होला नि भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘अलिअलि कमाएको छोरीलाई चामल, दाल किनिदिन्छु। पैसा के को जम्मा गर्नु, पैसै पुग्दैन। वृद्धभत्ता आएपछि घरभाडा तिर्छु भनेको छु। नाति नातिना पनि छन्।’

उनी थप्छिन्, ‘मेरो नागरिकतामा उमेर घटाएर बनाइदिएको रहेछ। पोहोरबाट त वृद्धभत्ता लिन थालेको। लाटी थिइन् आमा पनि। आमाले होकि बुबाले नागरिकता बनाएको, थाहा छैन। अस्ति १२ हजार रुपैयाँ भत्ता आएको थियो, छोरीहरुलाई यसो १–१ हजार दिए। नातिनीले पढ्न पाइन भनि नातिनीलाई दिए, अर्की नातिनीलाई पनि दिए। सबै पढ्नेलाई १–१ हजार दिए । २ हजार ५ सय बचेको थियो, त्यसको कुखुराको फुल ल्याएर दिनकै उसिनेर खाइसके।’

वृद्धाआश्रम बस्न मन नपर्ने बताउने उनी भन्छिन्, ‘बस्दिन, धेरैले लान खोजे तर म मरे पनि बस्दिन। म आफै दुःख गरेर खान्छु, आफ्नो कोठामा जान्छु यो कुरै नगर्नु भनेपछि लिन आएका पनि गए। सिन्धुपाल्चोकमा आफ्नै घर छ, यहाँ सकुन्जेल गर्ने नसकेपछि घर जाने हो।’

गाउँमा बिरामी एउटा छोरालाई भने आफूले हेर्दै आएको बताउने उनी भन्छिन्, ‘गाउँमा एउटा छोरा मानसिक रोगी छ। उसलाई मैले खर्च गर्नु पर्छ, उसको दिमागले काम गर्दैन, दिमागले काम नगर्ने छोरालाई अलिकति दिनु पर्यो नि। उसको परिवार छन्, तर कुट्छन् गाली गर्छन्, कोही छोराछोरी बेमानी हुँदा रहेछन्। अनि वनमा गएर बल्छ, मर्न लागेको छ । म ४–५ हजारको औषधी किनेर पठाउछु।’

प्राय गाउँ गइराख्ने गरेको बताउने उनलाई गाउँमा बसेका छोराछोरीले अब यतै बस्नु भनेर आग्रह गरेको सुनाउँदै उनी भन्छिन्, ‘घरमै खेतीपाती गरेर छोराछोरी बसेका छन् । दुःख नगर घरमा आएर बस भन्छन्।’

सोधेको प्रश्नको उत्तर झर्को नमानी खुशी हुँदै फर्काउने वृद्धा कार्की बटुवाहरुलाई देख्नासाथ ‘लिनु बाबा, जुनीजुनी धर्म हुन्छ, यति एउटा त खाइदिनुस’ भन्दै छेउमा आइपुगेका प्रायलाई पानी किन्न आग्रह गछिन् र छेउमै बसेका जिज्ञासुसँग फर्केर भन्छिन्, ‘के गर्ने केटाकेटीहरु त पछिपछि दगुरेर बेच्छन्। म त्यसरी हिडेर, पछिपछि कुदेर बेच्न सक्दिन । त्यही भएर मेरो पानी त्यति खाइदिँदैनन्।’

पानी किनीदिने व्यक्तिलाई शुभकामनास्वरुप ‘बाबुको राम्रो होस्, फलोस फुलोस’, भनेर आर्शिवाद दिने उनलाई प्राय व्यक्तिले पानी किनेर ३०/५० रुपैयाँ राख्नुस् भनेर बढी नै दिने गरेको देखिन्छ। कर्मशील वृद्धा आमालाई सलाम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *