माधवकुमार नेपाल नरम भएका हुन् कि कमजोर ?

डिसी नेपाल
२४ साउन २०७८ ११:२१

काठमाडाैं।  केही महिनाअघिसम्म आफ्ना पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति निकै आक्रामक रुपमा प्रस्तुत हुने एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पछिल्लो समय नरम देखिन थालेका छन्।  अहिले नेपाल ओलीप्रति आक्रामक रुपमा प्रस्तुत हुन छाडेका छन्।

बिहीबार आफू पक्षका केन्द्रीय सदस्यहरुको भेलामा त नेपालले आफ्नो पक्षका नेताहरुलाई अमर्यादित ढंगले शब्दहरु प्रयोग नगर्न आग्रह समेत गरे। भेलामा नेपालले आफूहरु पार्टी एकताको पक्षमा रहेको प्रस्ट पारे र एकता सम्मानजनक हुनुपर्नेमा जोड दिए।

शनिबार एक कार्यक्रममा नेपालले ओली सुध्रिनुपर्नेमा जोड दिए। तर, उनले ओली नसुध्रिएको अवस्थामा पनि ओली समस्या समेत नबनेमा भने पार्टी एकता हुन सक्ने बताए।

अहिले एमालेका दुई ध्रुवको नेतृत्व गरिरहेका अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल दुवै दबाबमा छन्। ओली नेपाल पक्षमाथि कारवाही नै गरेर कठोर रुपमा अगाडि बढ्ने तयारीमा थिए।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने क्रममा फ्लोर क्रस गरेरै मतदान गर्ने सांसदहरुलाई स्पष्टीकरण सोधेर कारवाही अगाडि बढाउने अध्यक्ष ओलीको तयारी थियो। तर, पार्टीका दोस्रो तहका नेताहरुले कावाही अगाडि बढाएर तिक्तता बढाउनुभन्दा पार्टी एकतामा जोड दिनुपर्ने दबाब दिएपछि ओली कारवाहीको मुडबाट पछि हटे।

अर्कोतर्फ केही महिना अगाडिसम्म पार्टी विभाजन नै गर्नेजस्ता अभिव्यक्ति दिइरहेका माधव नेपाललाई समेत दोस्रो तहका नेताहरुले एकतामा जोड दिन दबाब दिइरहेका छन् । नेपालको पक्षका पनि अधिकांश दोस्रो तहका नेताहरु पार्टी एकताको पक्षमा देखिएका छन्।

अहिले नेपाल नरम र कमजोर दुवै भएका छन् । तर, नेपाल कमजोर भएकै आधारमा पेलिने अवस्थामा पनि छैनन् किनकि नेपाललाई पेलेर जाने नीति नलिन दोस्रो तहकै नेताले अध्यक्ष ओलीलाई पनि रोकिरहेका छन्।

यी नेताहरुले अध्यक्ष ओलीका केही कदमहरु स्वेच्छाचारी भएकाले त्यसलाई अंकुश लगाउनुपर्ने तर पार्टी नै विभाजन गर्न नहुनेमा जोड दिएका छन्। मेटमणि चौधरी, रामकुमारी झाँक्री, विजय पौडेलजस्ता केही सीमित सांसदहरु पार्टी विभाजन गर्ने भन्दै उचालिए पनि अधिकांश नेताहरु पार्टी विभाजनको पक्षमा छैनन्।

आफ्नै पक्षका नेताहरुले पार्टीमा भइरहेको स्वेच्छाचारितालाई अंकुश लगाउनुपर्ने तर पार्टी एकता कायम राख्नुपर्नेमा जोड दिएपछि नेपाल पनि पार्टी विभाजन गर्ने पक्षमा देखिँदैनन्।

बरु पार्टी विभाजन हुन सक्छ भन्ने अवस्था कायमै राखेर अध्यक्ष ओलीलाई दबाबमा पार्दै आफ्नो पक्षको पार्टीमा सम्मानजनक स्थान सुनिश्चित गर्नेतर्फ नेपाल केन्द्रित छन्।

यसका लागि सकेसम्म आफू पनि दोस्रो अध्यक्ष बन्ने, नभए पार्टी बैठक र आधिकारिक निर्णयमा दुई जनाको हस्ताक्षर चल्ने बनाएर पार्टीमा आफ्नो पकड बलियो बनाउने पक्षमा उनी केन्द्रित छन्।

हुन त पार्टी विभाजन गर्नकै लागि पनि नेपाल बलियो छैनन्। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्ने क्रममा नै नेपालको पक्षमा ४० प्रतिशत सांसद थिएनन् । केन्द्रीय सदस्य भने ४० प्रतिशत पुग्ने दावी गरिएको थियो।

यही आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विभाजनका लागि केन्द्रीय सदस्य वा सांसदमध्ये कुनै एक ४० प्रतिशत भए पुग्ने गरी अध्यादेशमार्फत राजनैतिक दलसम्बन्धी कानुन संशोधन गर्ने भनिएको थियो।

तर, अहिले नेपाल पक्षकै दोस्रो तहका नेताले एकतामा जोड दिइरहेको अवस्थामा नेपाल पक्षमा बहुमत केन्द्रीय सदस्य भएको दावीमा पनि शंका छ । त्यसमाथि प्रधानमन्त्री देउवाले अध्यादेश ल्याउने सुरसार पनि गरेका छैनन्।

अहिले नेपाल नरम र कमजोर दुवै भएका छन् । तर, नेपाल कमजोर भएकै आधारमा पेलिने अवस्थामा पनि छैनन् किनकि नेपाललाई पेलेर जाने नीति नलिन दोस्रो तहकै नेताले अध्यक्ष ओलीलाई पनि रोकिरहेका छन्।

शीर्ष तहका दुई नेताहरु अध्यक्ष ओली र बरिष्ठ नेता नेपालले दम्भ पालेरै एक अर्कालाई निषेध गर्न खोजे पनि दोस्रो तहका नेताले यसरी अगाडि बढ्न दिने संकेत देखिएको छैन।

अहिले न ओलीले नेपाल पक्षका नेताहरुलाई पेलेर अगाडि बढ्न सक्छन् न त नेपालले पार्टी त्यागेर जाने अवस्था छ । दुवै यसरी दबाबमा पर्नुको कारण भने दोस्रो तहका नेताहरु नै हुन् ।

एकताको प्रयास चलिरहँदा केही विषयमा भने दुवै पक्ष सहमत हुन सकिरहेका छैनन्। नेपाललाई दोस्रो अध्यक्ष बनाउने र बैठकका निर्णय दुवै अध्यक्षहरुको हस्ताक्षरबाट हुनुपर्ने नेपाल पक्षको मागले पछिल्लो समय एकतामा अवरोध ल्याइरहेको छ। यो अवरोधमा सम्भवतः नेपाल पक्ष नै पछि हट्नेछ किनकि यसरी नेपाललाई अध्यक्ष बनाउँदा लोकतानित्रक विधि मिचिन्छ।

केपी ओली महाधिवेशनबाट जितेका अध्यक्ष हुन् र नेपाल उनै ओलीसँग हारेका उम्मेदवार हुन्। अर्को कुनै पार्टीसँग एकता नगरिएको अवस्थामा महाधिवेशनमा हारेका उम्मेदवारलाई जितेका अध्यक्षसँग बराबरी हैसियतमा तानेर ल्याउनु लोकतान्त्रिक विधि हुँदै होइन र यो कुरा एमालेका नेताहरुले पनि बुझेका छन्। यसबाहेकका विषयमा दुई पक्ष केही संशोधनसहित सहमत हुन सक्ने आधार देखिन्छ।

बाहिर जतिसुकै चर्चा परिचर्चा गरिए पनि पछिल्लो समय विकसित घटनाक्रमले एमाले विभाजन हुने सम्भावना घट्दो क्रममा रहेको देखाउँछ। पछिल्ला केही महिना अगाडि ओलीको विपक्षमा उभिएका नेताहरुले पनि ओलीलाई झुकाउने विषयमा माधव नेपालको पक्षमा हुनु तर पार्टी विभाजनका लागि साथ नदिने संकेत गर्नु तथा ओलीलाई समर्थन गर्दै आएका नेताहरुले पनि माधव नेपाल पक्षका नेताहरुलाई कारवाही गर्नबाट ओलीलाई रोक्नुले यो पुस्ता पार्टी एकताको पक्षमा रहेको देखाउँछ। अब एमाले विभाजित हुन्छ वा एकता हुन्छ भन्ने कुरा दोस्रो तहका नेताको भूमिकामा निर्भर रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *