कोरोनाका कारण ६३ वर्षीया वृद्धा सडकमा रात बिताउँदै – Dcnepal

कोरोनाका कारण ६३ वर्षीया वृद्धा सडकमा रात बिताउँदै

काठमाडौं। कालोपुल आसपासमा तरकारी व्यापार गर्दै आएकी ६३ वर्षीया आशा शर्मा अहिले ‘घरको न घाटको’ भने झै बन्न पुगेकी छन्। भाडाको कोठामा बसेर आफैं कमाएर गुजार चलाउँदै आएकी उनको हप्तादिनदेखि सडकमा बास बनेको छ।

कसरी सडकको बास बस्नु पर्‍याे  त? भन्ने घटनामा उनी सुनाउँछिन्, ‘पहिले देखि नै कालोपुलमा बसेर साग बेच्ने काम गर्थेँ। त्यत्तिकै एक दिन खुट्टामा सानो घाउ निस्कियो। त्यति नै बेला लकडाउन भयो, अस्पताल पनि सबै बन्द भयो र बेलैमा औषधि गर्न पनि पाइनँ। घाउ ठूलो हुँदै गयो र एक दिन मानवसेवा आश्रमबाट आएर हेर्नु भयो, कुराकानी गर्नु भयो। कुराकानी गरेपछि आफू त बुढाबुढी मान्छे राम्रै होला भन्ने भयो। कुराकानीपछि भोलि आउछु भनेर जानु भयो र भोलिपल्ट आएर लानु भयो।’

उनी अगाडि भन्छिन्, ‘खासमा मलाई त पशुपतिनाथको वृद्धाआश्रम लाने कुरा थियो र उतै लान्छन होला भन्ने भयो। तर अर्को आश्रम लगेपछि हामीले तपाईंलाई यता (कालोपुल) आउन दिँदैनौं यदि कोही आफन्त छ भने कहिलेकाहिँ पठाइदिन्छौं भन्नु भयो। अनि मैले आफन्त कोही छैन, म एक्लै हो। यो उमेरमा म वृद्धा आश्रम बस्दिन, खुट्टा सन्चो भयो भने आफ्नै ठाउँमा गएर काम गरेर खान्छु भनेको थिएँ।’

उनी पुनः सुनाउँछिन्, ‘यो घटना एक महिना अघिको हो। लगेपछि उहाँहरुले एक दिन आश्रममा राख्नु भयो। भोलिपल्ट टिचिङ अस्पताल लग्नु भयो र खुट्टाको दुई वटा औला काट्नु पर्यो। औंला काटेपछि आश्रम ल्याउनु भयो। त्यहाँ त्यति राम्रो गर्नु भएन। अप्रेशन गरेको हप्तादिनमा अस्पतालले बोलाएको थियो, तर मलाई १५–२० दिन पछि लानु भयो। उहाँ लगेपछि डाक्टरले घुडादेखि नै खुट्टा काट्नु पर्छ भन्नु भयो।’
उनले भने डाक्टरले भनेबमोजिम खुट्टै काटेर फाल्न भने मानिनछिन्। उनी भन्छिन्, ‘यो दुईवटा औला काट्दा त मैले आश्रमबाट सेवा पाएको छैन भने झन घुँडै काटेपछि सेवा पाइँदैन भनेर मानिन। त्यसपछि उहाँहरुले आश्रममा लाने भनेर ल्याउनु भयो।’

आश्रममा भएका नर्स, डाक्टरले पनि राम्रो सेवा नगरेको गुनासो गर्दै उनी भन्छिन्, ‘त्यहाँ रहेका एक जना डाक्टरले तपाईं टेन्सन नलिनुस यसको उपचार गरेर ठिक गरिदिन्छु भनेर दुई–चार दिन राम्रै गर्नुभयो। त्यसपछि उहाँ पनि कोरोनाले गर्दा आउनु भएन। पछि नर्सलाई जिम्मा दिए । नर्सले घिन मानेर ड्रेसिङ्ग गरिदिए जस्तो गर्थिन्। कारोनाबाट मुक्त भएपछि डाक्टर आएर दुई चार दिन ड्रेसिङ्ग गरिदिनु भयो। त्यसपछि डाक्टरले आमा यहाँबाट पैसा दिँदैनन्, हामीले आफ्नो पैसाले औषधि गर्दैछौं भन्नु भयो। त्यसो हो भने मैले एक मुठा सागै बेचे भने पनि आफैं केही उपचार गर्न सक्छु भनेर म फेरि कालोपुलमा आए।’

आश्रमले बिरामी उनलाई सिहारसुसार गर्न झर्कोफर्को मानेको र खाना पनि राम्रो नदिएकोले त्यहाँ बस्न मन नलागेको उनले सुनाइन्। उनी भन्छिन्, ‘खानेकुरा पनि घाउ पाक्ने चिज मासको दाल, भेन्टा दिने गर्नु हुन्थ्यो। नखाऔँ भोक लागिराखेको छ, खाउ त घाउ पाकिराखेको छ। अनि नर्स आएर जतिबेला पनि तपाईंको खुट्टा काट्नु पर्छ मात्रै भन्ने गर्थिन्। अनि त्यहाँ सरलाई मेरो एरिया पुर्याउने कि नपुर्याउने भने र उहाँले घर जाने भए पुर्याइदिने भनेर गाडीमा हालेर कालोपुल ल्याएर छोडिदिएका हुन्।’

उनका अनुसार बिरामी भएर आश्रम जाने भएपछि कालोपुलका बासिन्दाहरुले उनलाई पैसा उठाएर २७ हजारभन्दा बढी दिएका रहेछन्। त्यो सबै पैसा आश्रमले मागेर लिएको र पछि जति माग्दा पनि फिर्ता नदिएको गुनासो गर्दै उनले भनिन्, ‘आश्रममा जाँदा यहाँका साथीभाईले पैसा उठाएर अप्रेशन गरेपछि मिठो मसिनो खाओस् भनेर २७ हजार ५ सय उठाएर दिनु भएको थियो । त्यो पैसा दिने कि नदिने भनेर मागेर लगे। २–३ चोटी आश्रमको कृष्ण बाबुसँग पैसा फिर्ता मागे तर उनले नसुने झै गरे, दिएनन्।’

अहिले उनलाई आश्रमबाट आफू बस्दै आएको कोठामा फर्केपछि घरबेटीले सो कोठामा छिर्न दिएका छैनन्। जसले गर्दा उनी अहिले कालोपुलनजिकै पुलिसबिटको अगाडिपट्टी रहेको एक पसल अगाडि काठहरु ओछ्याएर राति सुत्ने गर्छिन र बिहान बेलुका भने बाटोमा साग बेच्ने काम गर्छिन्।

घरबेटीले कोठामा बस्न नदिएको गुनासो गर्दै उनी भन्छिन्, ‘आश्रमबाट आएको देख्नासाथ तपाईंलाई हामी कोठा दिदैनौं भने। अर्को कोठा खोज्छु, सर्छु, त्यतिन्जेल कोठा दिनु भन्दा पनि दिएनन्। उसले घर भत्काउँछु भन्यो र मैले भत्काएपछि सामान निकाल्छु भनेको, नदिएपछि यहि फलेक लगाएर सुत्ने गरिराखेको छु।’

उनी को हुन् र कहाँबाट आएकी हुन्, उनकै शब्दमा :

म जन्मेको इन्डिया हो। मूल घर नेपालको लमजुङ्ग पश्चिम ३ नम्बर हो, मेरो बाउ बाजे जन्मेको त्यही हो। मेरो बुबा सानैमा इण्डिया गएर उतै विवाह गरे। अनि म पनि उतै जन्मी, हुर्की र विवाह पनि उतै भएको हो। मेरो उतैको अफिसमा लेखापढी गर्ने २५ वर्षीय सापकोटासँग १३ वर्षको उमेरमा विवाह भएको थियो। श्रीमानले जाँड खाने, पैसा नदिने गर्दागर्दै २ वटा छोरा भए।

पछि श्रीमानसँग बस्न नसकेर २ वटा छोरा लिएर माइत गए। पछि उ आएर दुई वटै बच्चा लिएर गए। अनि मैले पनि यसो विचार गरे ठिक छ उसको जागीर छ, बच्चा राम्रो गरी पाल्छ भनेर उसैलाई छोडे। त्यतिबेला बच्चाहरु एउटा ९ र अर्को ११ वर्षको थियो। जेठोको कुलदिप र कान्छो छोराको मुकेश नाम हो।

इण्डियामा जन्मदिने आमा खसेपछि म २०४० सालमा ३२ वर्षको उमेरमा एक्लै काठमाडौं आए। त्यो बेला बुबा र भाई उतै थिए । एउटा भाई हो, उसको नाम राजु शर्मा हो। मेरो श्रीमानको पहिलाको श्रीमती पनि यता नेपालको चितवनमा ५–६ वटा बच्चासहित बस्छिन् भन्ने कुरा मेरो विवाह गरेको धेरैपछि थाहा पाएको थिए। उसले भने विवाह गरेको छैन भनेर ठगेर मेरो बुबा आमासँग मागेर मलाई विवाह गरेका थिए।

पछि श्रीमानसँग छुट्टिने बेलामा मैले इण्डियाको अदालत गएर यसलाई लतमाथि केही भएछ भने यसको जागीर बच्चाले पाओस भनेर निवेदन दिए। निवेदन दिएर सबै पक्का गरेर म निस्केर हिडेको हो। उता बुबा, भाई, बुहारी थिए। पछि म यता आएपछि बुबा पनि बित्नु भयो।

पहिला पहिला म यताबाट भाईलाई चिठ्ठी पठाइराख्थे। र, यता कमाएको पैसा पनि पठाउथे बच्चाहरुलाई दिनु भनेर। उसले बच्चाहरुलाई राम्रै छ, आफ्नो शरीरको ख्याल गर्नु पैसा चाहिँदैन भन्थ्यो। पछिपछि चिठी भित्र पैसा हालेर पठाउदा यतै फिर्ता आउन थाल्यो, उसको पनि चिठ्ठी आउन छोड्यो । त्यो भएर मैले चिठी पनि लेख्न छोडेँ। अहिले कहाँ छन्–छैनन्, के गर्दै छन्, केही थाहा छैन ।

काठमाडौं आएर के के गरिन?
सुरुमा काठमाडौं आएर १८ वर्ष गलैंचा बुन्ने काम गरे। पछि गलैंचा सरेर बालकुमारी गयो र हामी साथीभाई त्यता गएनौं। त्यसपछि घरको काम (खाना पकाउने भाडा माझ्ने) गर्न थालेँ। घरको काम गर्दागर्दै यही मैतिदेवीमा आएर बसियो। त्यसपछि अलिअलि कमाएको पैसा लिएर कालोपुलमा व्यापार गरे। त्यसपछि अहिलेसम्म यही व्यापारै गरिराखेको छु।

सुरुमा काठमाडौं आएर कमलपोखरी, गैह्रीधारा, मैतीदेवी हुँदै कालोपुलमा बसेँ। गलैचा बुन्दा साथीहरु मिलेर काठोमा बसेका थियौं, पछि एक्लै बसेँ। अहिले तिनै साथीभाइ र कालोपुलका छरछिमेकी नै आमा बुबा जस्तो लाग्छ। केही पर्यो भने यिनै साथीभाइले हेर्छन्। सुरुमा काठमाडौं आउँदा मलाई पुलिसमा भर्ना गरिदिन्छौं पनि भने तर मलाई मन लागेन।

सुरुमा गलैंचामा महिनामा ३ सय जति कमाई हुन्थ्यो। त्यतिबेला कोठाको भाडा ५०–६० रुपैयाँ तिर्नुपथ्र्यो। त्यसैले खाने बस्ने गरेपछि पैसा बचाउन सकिएन। नेपाल आएपछि यस्तै यस्तैमा भुलिए म । मैले काहि कसैको याद पनि गरिन, याद पनि आएन।

उता आमा मरेपछि मलाई के गरौं र कसो गरौं भएर बेहोस जस्तो भए र यता आएको हो। त्यसपछि त्यो ठाउँमा जाउँ भन्ने कहिल्यै लागेन। छोरा, बुढालाई खोज्न मन लागेन। मैले दुःख पाए पनि बच्चाको भविष्य राम्रै होला, श्रीमानको सरकारी जागीर भएकाले, उसलाई केही भएछ भने पनि बच्चाले त्यो जागीर पाउछ भनेर मन मारेर म यता(नेपाल) आएर बसेको हो।

अहिले म ६३ वर्षको भए । छोराहरु, बुढा बारे केही थाहा छैन। मेरो नागरिकता छैन। इण्डियामा कसले बनाउने र? नेपालमा पनि बाउहरु छैनन्, अरुले चिन्दैन। हुनत यहाँ २०४० सालमा मैले भोट त दिएको हो। त्यो बेला नागरिकता खोज्दैन थिए।

गलैचाबाट भोट हाल्न लिएर जान्थे। मैले विद्या भण्डारी, मदन भण्डारीलाई भोट हालेको छु। त्यतिबेला नागरिकता बनाइदिनु भन्दा घरै जानुस भन्नु भयो। अब घरमा कसैले चिनेकै थिएन। मैले आजसम्म मोबाइल पनि कहिल्यै बोकेको छैन, फोन गर्न पनि जान्दिन।

उनको इच्छा के

यति गरेको छु, खाएको छु अब खुब गरे ५–६ वर्ष गरेर खाइन्छ। त्यसपछि देखा जाएगा। मैले दुःख पाए, छोराहरुलाई भेटौ, खोजौं भन्ने लाग्दैन। यतै मर्न पाए हुन्थ्यो भन्ने लाग्छ। अहिले मलाई कसैले सहयोग गरेर कोठाको भाडा तिरिदिए हुन्थ्यो भन्ने लागेको छ।

अहिले घरबेटीले यो कोठाको भाडा लिदैनौ, कोठाको सामान बेचेर उसै (प्रहरी) लाई पैसा दिन्छौ भन्नु भएको छ। कोठाको चाबी पुलिसलाई दिने भन्थे, पुलिसलाई जिम्मा दिए कि उनीहरुले राखे थाहा छैन। म आश्रममा बस्न नसकेर फेरि कोठामा आएको हो। म कालोपुलको त्यो भण्डारीको घरमा बसेको २० वर्ष भयो।

उनीहरुले ढोका नखोलेपछि मैले आफैं गर्छु, खान्छु, उपचार गर्छु तपाईहरुको पैसा पनि तिर्छु भने। तर उनीहरुले हामी ढोकै खोल्दैनौ भने। २५ सय कोठा भाडा दिइराखको थिए।

सुरुमा त्यहाँ २० वर्ष अगाडि ११ सय तिरेर बसेको थिए। त्यसपछि १५ सय हुँदै २५ सय भाडा बढेको हो। यहाँ पुलिसहरुलाई पनि ढोका खोल्न लगाइदिनु भने तर पुलिस पनि घरबेटीकै कुरा सुन्छन्, मेरो सुन्दैनन्।

अहिले साग बेचेको पैसाले मलम पट्टी ल्याएर राखेको छु, आफै ड्रेसिङ्ग गर्छु, मैले इण्डियाको अस्पतालमा काम गरेकाले ड्रेसिङ्ग गर्न आउछ। खाना चाहीँ साथीभाईहरुले दिन्छन्। अहिले यहाँ आइसकेपछि धेरै सन्चो भइसकेको छ।

मलाई सबै मिलेर बृद्धाआश्रम लगिदिएका हुन तर म वृद्धाआश्रम जान खोजेको थिइन । तर खुट्टामा घाउ आएपछि सबैले उतै जानु भने र गएको। आफूलाई पनि दुखिराखेको थियो र गएको।

अलिअलि कमाएको लकडाउनले गर्दा सकियो। ४–५ महिना भाडा नदिदा अहिले ढोकै खोल्दिन भने। ढोका खोलेर कोठा दिए भने भाडा पनि यताउता गरेर दिन्थे भन्ने विचार थियो। अब कोठै नदिने भाडै नलिने भनेपछि त अर्काको घर हो के गर्ने? पहिला पहिला कमाएको ७०–८० हजार पैसा पनि लकडाउन हुँदा काम गर्न पाइएन र त्यसैले कोठाभाडा तिर्ने खाने गर्दा सकियो।

अन्ततः एक्ली वृद्धा उनी खुट्टा सन्चो बनाइदिएपछि आफ्नै कोठामा आएर गरिखाने सोच बनाएर वृद्धाआश्रम गएको तर बस्न नसकेर पुनःआफ्नै ठाउँमा फर्केर आएको बताउँछिन्। हाल उनलाई बस्ने कोठा र खुट्टाको घाउको औषधिमूलोको लागि आर्थिक सहयोग चाहिएको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो