अमेरिकामा मृत्यु भएका २२ वर्षीय युवा श्रृजनको शव नेपाल पठाइँदै

डिसी नेपाल
२ भदौ २०७८ ८:१८

वासिंगटन डिसी। अमेरिकाको विसकन्सिन राज्यमा मृत्यु वरण गरेका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको शव गैर आवासीय नेपाली सङ्घ अमेरिकाको पहलमा अगष्ट १८ तारिख बुधवार नेपाल पठाइने भएको छ।

नेपाल पठाउनुअगाडि फ्युनेरल होममा गएर गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्घिसागर सुवेदीसहित विसकन्सिनबासी नेपालीहरूले मङ्गलवार स्वर्गीय कुँवरलाई श्रद्धाञ्जली दिएका छन्।

शव सुरक्षित ढङ्गले नेपाल पठाउन भ्याली फ्युनेरल होम एप्पलटोनले आवश्यक व्यवस्था गरिसकेको गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीलाई जानकारी गराएको छ। सृजनको शव अगष्ट १८ तारिख बुधवार साँझ ७ बजेर ५० मिनेटमा कतार एयरवेजबाट नेपाल पठाउने उडान तालिका प्राप्त भएको छ।

भ्याली फ्युनेरल होम एप्पलटोन सँगै काममा जुटिरहेका व्यक्ति, संस्था र निकायसँग समन्वय गर्दै शब नेपाल पठाउनका लागि आर्थिक पक्षमा कोषाध्यक्ष राजीव श्रेष्ठ र अरू पक्षमा महासचवि अन्जनकुमार चौलागाईले काम गरिरहेको एनआरएनए अमेरिकाका प्रबक्ता तोया दाहालले जानकारी दिएका छन्।

सृजन कुवरको शव परिवारका सदस्यलाई बुझाउनु अगाडिसम्म सुरक्षित राख्न र नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि गैर आवासीय नेपाली सङ्घ अमेरिकाले विसकन्सिन च्याप्टरको विशेष पहलमा गोफण्ड मार्फत रकम सङ्कलन गरेको छ। विसकन्सिन च्याप्टर अध्यक्ष दीपक थापाका अनुसार शव नेपाल पठाउन परिवारको अनुरोध पत्र आएपछि गो फण्डबाट २५ हजार डलर सङ्कलन गरिएको छ।

विसकन्सिन स्थित नर्थ पिटर्स एभिन्यु फण्डुलेक बस्दै आएका सृजन कुँवर काममा रहेको समयमा नै अचानक मुर्छित भएपछि प्रहरी र एम्बुलेन्स आएर नजिकैको बिएभर दम अस्पतालको आकस्मिक कक्षमा पुर्‍याएको थियो।

सो अस्पतालले सृजनको थप परीक्षण र उपचारका लागि अर्को ठूलो अस्पताल यूडब्लु माडिसन अस्पताल पठायो। त्यहाँ पनि कुँवरको उपचार सम्भव भएन। सोही अस्पतालले सृजन कुँवरलाई मृत घोषणा गर्‍यो।

मृत्युपछि गर्नु पर्ने संस्कारका लागि स्वर्गीय सृजनका बुवा कृष्णहरि कुँवर अमेरिका आउन नेपालस्थित अमेरिकी दूतावासमा भिषाका लागि निवेदन दिएका थिए।

तर अमेरिकी दूतावासबाट भिसा अस्वीकृत गरेकोले आफ्नो प्रिय छोरा सृजनको प्राण विहीन शरीरलाई एक पटक हेरेर मात्रै मृत्यु संस्कार गर्ने बुवा कृष्णहरि कुँवरको चाहना अनुरूप नै शव नेपाल पठाउन लागिएको प्रबक्ता दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

स्वर्गीय कुवरको परिवारको भिसा प्रक्रियामा केही समय व्यतीत हुँदा शव नेपाल पठाउने काम केही दिन ढिलो हुन पुगेको जनाइएको छ। काठमाडौँ जिल्ला दक्षिणकाली ४ बासवारि जन्म घर भएका कुँवर मे १० तारिख २०१९ मा अमेरिका आएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *