‘पाँच पटकको अप्रेशनले विदेशको कमाई सकिएपछि, भिख माग्दै २५ वर्षीय युवा’ – Dcnepal

‘पाँच पटकको अप्रेशनले विदेशको कमाई सकिएपछि, भिख माग्दै २५ वर्षीय युवा’

काठमाडौं । सुनसरीका २५ वर्षीय राजु सरदार, जो यतिबेला आफ्नो उपचार खर्च जुटाउन लागिपरेका छन् । खर्च जुटाउन उनी सकिनसकी दैनिक पशुपतिनाथ मन्दिर परिसरमा झोला थापेर पैसा माग्न उभिने गर्छन् । उनको चार पटक आन्द्राको र एक पटक घाँटीको गरी पाँच पटक अप्रेशन भइसकेको छ। उनका अनुसार अझ एक पटक घाँटीको अप्रेशन गर्न बाँकी छ । जसको लागि उनी बिहानको समयमा करिब ४ घण्टा जति पशुपतिनाथ परिसरमा पैसा माग्ने काम गर्छन् ।

अशक्त राजु भन्छन्, ‘आन्द्रा चार ठाउँमा काटेको छ र एक पटक घाँटीको अप्रेशन गरेर पाँच पटक अप्रेशन भइसक्यो । अझै एक पटक घाँटीको अप्रेशन गर्न बाँकी छ ।’

बसेर माग्न नसक्ने भएकाले उनी उभिएर झोला थापेको बताउँछन् । अप्रेशन गरेको ठाउँ खुल्ला राखेकाले उनको पेट र घाँटीमा भएको अप्रेशनका दागहरु जो कोहीले प्रष्टै देख्न सक्छन् । उनको पेटमा पाइप लगाइएको छ, जसबाट सिरिन्जमार्फत खाना खाने गरेको उनी बताउँछन्।

उनी भन्छन्, ‘मैले अझसम्म खाना खान सकेको छैन । अलिअलि यहिँबाट (पेटमा राखेको पाइपलाई देखाउँदै) सिरिन्जले हाल्छु र झोलकुरा अलिअलि मुखबाट पनि पिउछु । मुखबाट त पिउन पनि धेरै गाह्रो हुन्छ, सक्दै सक्दिन धेरै दुख्छ । घाँटीमा एकपटक अप्रेशन गरेको, घाउ भएकाले फेरि एक पटक गर्नुपर्छ।’

उनका अनुसार उनको आन्द्रा सुकेकाले चार पटक आन्द्राको र घाँटीमा घाउ भएकाले एक पटक घाँटीको अप्रेशन गरेको हो । र, घाँटीमा घाउ निको नभएकाले फेरि घाँटीको एक पटक अप्रेशन गर्नुपर्ने छ।

त्यसरी माग्न थालेको केही समय मात्र भएको बताउँदै उनी भन्छन्, ‘अहिले म यहाँ(पशुपति परिसरमा) माग्न आएको २३ दिन भयो । म त्यति माग्न पनि सक्दिन । बिहान मात्रै २/४ घण्टा बस्छु अनि गइहाल्छु, सक्दिन नि । अस्तिको अन्तिम सोमबार यहाँ भीड थियो, तर म उभिनै नसकेर कोठामा गए । अलिकति धक्का लाग्यो भने त म पुक्लुक्कै जान्छु । त्यही भएर म भाग्न पनि त्यति सक्दिन।’

उनले सुरुमा बिरामी हुँदा आफ्नो उपचार विराटनगरस्थित अस्पतालमा गरेका रहेछन् । त्यहाँ उपचार हुन नसकेपछि उनी काठमाडौंको विर अस्पताल आएका रहेछन् । उनी भन्छन्, ‘विराटनगरबाट उपचार नभएपछि यहाँ विर अस्पतालमा उपचार गर्न पठाइदिएको हो।’

कसरी बिरामी भएको ?, भन्ने जिज्ञासामा उनी भन्छन्, ‘म बिरामी भएको ९ महिना पुग्यो । सुरु सुरुमा खाना खाएपछि भित्रभित्र पोल्थ्यो, त्यस्तो गर्दैगर्दै पछि आन्द्रा सुकेछ । त्यसपछि अप्रेशन गर्नु परेको हो।’

बिरामी भएपछि उनले विराटनगरस्थित अस्पतालमा मात्रै करिब ६ लाख रुपैयाँ खर्च भएको बताए । त्यति खर्च गरेर पनि ठिक नभएपछि उनी विर अस्पताल आएका रहेछन् । उनी भन्छन्, ‘विराटनगरमा मात्रै ५/६ लाख खर्च भयो । त्यहाँ आइसीयूमा राखेको थियो।’

सुरुमा उनी काठमाडौं आमा, श्रीमतीसँग आएका रहेछन् । हाल भने उनी र श्रीमती मात्रै काठमाडौंमा छन् । उनी भन्छन्, ‘अहिले आमा गाउँ गइसक्नु भयो, श्रीमती मसँगै छिन् । काठमाडौं आएको ६ महिनाभन्दा बढी भइसक्यो । धेरै समय विर अस्पतालभित्रै बस्यौं, सबैजना । अहिले एक महिना पनि पुगेको छैन, कोठा भाडामा लिएर बसेको।’

उनका अनुसार हाल उनी र उनकी श्रीमती पशुपति परिसरमै एउटा सानो कोठा भाडामा लिएर बसेका छन् । महिनाको ३ हजारमा लिएको उक्त कोठमा अहिले उनीहरु दुखसाथ बस्दै आएका छन्।

सोही कोठाको बारेमा कुरा गर्दै उनी भन्छन्, ‘मसँगै श्रीमती कोठामा बस्छिन्, उनले मलाई नै स्याहारिरहेकी छिन् । हाम्रो रुममा पनि केही छैन । केहि दिनको लागि बाबा (पशुपतिनाथका जोगी) ले ग्यास दिनु भएको थियो । बाबाको श्रीमती, छोरा आएकोले त्यो पनि फिर्ता लिएर जानु भयो । अहिले स्टोभ छ, त्यसमै खाना पकाउने गर्छिन् श्रीमतीले।’

आफूले कमाएको पैसा सबै सकिएको र अबको उपचार खर्च नभएकाले बाध्य भएर माग्न बसेको बताउने उनी कोरोना संक्रमण फैलिनुभन्दा अगाडि भने विदेश गएर आएका रहेछन्।

उनी भन्छन्, ‘म पहिला विदेश मलेसिया ३ वर्ष बसें । त्यहाँ कमाई नै भएन । ट्वाइलेटको प्यानहरु आगोमा बनाउनु पर्थ्यो । ओभर टाइम(ओटी) काम खासै थिएन । बेसिक मासिक मलेसियाको एक हजार थियो । त्यहीपनि कहिले काहि ओटी गरेर महिनाको १ हजार ११ सय जति बचाउँथे । तलबबाटै खाने बस्ने खर्च गर्नु पर्थ्यो।’

मलेसियामा हुँदा यता नेपालमा बुबा बितेकाले धेरै नै दुःख लागेको बताउँदै उनी भन्छन्, ‘मलेसियामा बस्दा यता नेपालमा बुवा बित्नु भयो । बुवा बितेको सुनेर मैले फोटोमा बुवाको मुख पनि हेर्न सकिन । मलाई उता धेरै पिर लाग्यो । बुबा खसेको तीन महिनापछि मेरो कन्ट्रयाक्ट सकिएर म नेपाल आएको हो।’

कुराकानीको क्रममा माग्न धेरै लाज लाग्ने गरेको बताउने उनी भन्छन्, ‘मेरो बाध्यता हो यो माग्नु भनेको । मैले कहिले सोचेको थिइन, यसरी माग्नु पर्छ भनेर । म विदेशबाट आएपछि कोरोना फैलियो । यो कोरोना नभएको भए म फेरि विदेश जान्थें । तर गएको भए त उतै मर्थे होला । कोरोना संक्रमण फैलिनुभन्दा ४/५ महिना अगाडि नेपाल आएको हो म।’

हालको उनको कमाईबारे सोध्दा उनी भन्छन्, ‘सक्दिन काम गर्न, ४–४ ठाउँमा आन्द्रा काटेको छ । सन्चो भयो भने रुममै बस्छु । म त पहिला घर, बिल्डिङ्ग बनाउने मिस्त्री काम पनि गर्थे । अब त एउटा ईट्टा बोक्न पनि सक्दिन । नौ महिनादेखि बेडमा सुतेको अहिले त ढाड दुखेर सुत्न पनि सक्दिन । बरु उभिन सक्छु । उभिए भने बरु अलि आराम भए जस्तो लाग्छ।’

हाल उनको परिवारमा आमा, २ जना भाइ र उनकी श्रीमती गरी पाँच जनाको परिवार छ । उनका अनुसार उनको भाइ पनि बिरामीले अशक्त छन् । उनी भन्छन्, मेरो साइलो भाइको पनि किड्नीको अप्रेशन गरेको छ, दुई वटै किड्नीको । अहिले घरमा आमा र भाइहरु छन्।’

झोला थापेर पैसा माग्न उभिएका उनको बारेमा सबै सोधीखोजी गरेपछि फोटो खिच्ने अनुमति माग्दा उनी भन्छन्, ‘फोटो खिचेको अप्ठ्यारो त लाग्दैन तर साथीहरुले देख्यो भने अलि गाह्रो लाग्छ । अरुअरु मान्छेले पनि फोटो फेसबुकमा हालेको रहेछन । अब कताबाट खिचिहाल्छन, थाहा नै हुँदैन।

तपाईले त मलाई सोधेर खिच्नु भयो, अरुअरु मान्छेले त लुकेर खिचेर गइहाल्छ के गर्ने ? ठिकै छ न्युजमा हालिदिनु हुन्छ भने पनि हालिदिनु होला अब त सबैजनालाई थाहा पनि भइसक्यो।’

उनी अगाडि थप्छन्, ‘विदेश गएको बेला मजाले कमाएर खाइराखेको थिए, कमाएर पुगिराखेकै थियो । यस्तो अवस्था आउछ भनेर सोचेको पनि थिइन । अब निको भयो भने यतै(काठमाडौं) काम गरेर बस्छु । श्रीमतीलाई पनि काम गर्न भन्छु र म पनि हल्काहल्का काम गर्छु । बरु यतैतिर चिया बेचेर बस्छु । मागेर त खाँदिन।’

डाक्टरले पनि अलिअलि हिँड्नु भनेकाले उनी त्यहाँ त्यसरी उभिएर मागेको बताउँछन् । धरै बोल्न पनि नसक्ने उनी दुई दिन अघि विर अस्पताल अप्रेशन गरेको टाका खोल्न ट्याक्सी चढेर गएका रहेछन् । उनी भन्छन्, ‘विर अस्पताल बसमा जान सक्दिन । त्यही भएर ट्याक्सी चढेर टाँका काट्न गएको १ हजार भाडा मात्रै खर्च भयो ।’

उनका अनुसार विर अस्पतालमा उनलाई उपचार गर्ने डाक्टरहरु किरण, दिपक, दिनेश, कुमार गरी चार जना छन् । ती डाक्टरहरुले उनलाई पातलो जाउलो बनाएर सकेसम्म मुखबाटै खाने कोसिस गर्नु भनेका रहेछन् । तर उनी भन्छन्, ‘डाक्टरले जाउलो खानु भन्नुहुन्छ, तर खान सक्दिन धेरै दुख्छ ।’ उनका अनुसार अनार लगायत फलफुलको झोल निकालेर पानी मिसाई बिस्तारै खाने कोसिस गर्छन्।

उनी डाक्टरहरुले पनि धेरै सहयोग गरेको बताउँदै भन्छन्, ‘सुरुमा ३ वटा अप्रेशनमा मैले कमाएको र घरको गरी आफ्नै पैसा खर्च भयो । २ वटा अप्रेशनमा भित्रैबाट डाक्टरहरुले मिलाइदिनु भयो । विर अस्पताल बसेको ६ महिना पछि डिस्चार्ज भएपछि पनि धेरै छुट गरिदिनु भयो । त्यतिबेला ४० हजार जति मात्रै लाग्यो । नत्र त ३–४ लाख नै लाग्थ्यो नि । आइसीयूमा ३ हजार लाग्छ, साढे ३ महिना जति आइसीयूमै बसे।’

मलेसियामा काम गरेर फर्केपछि बिरामी परेका राजुलाई मलेसियामा रहेका उनका साथीभाइहरुले समेत खर्च पठाएको सुनाउँदै उनले भने, ‘मलेसियाबाट धेरै साथीहरुले पनि ४/५ हजार गर्दै मलाई औषधि गर्नु भनेर पैसा पठाएदिएर औषधी गरेको हो।’

उनका अनुसार अब उनको अन्तिम एक पटक घाँटीको अप्रेशन गर्न बाँकी छ, जुन अप्रेशन १–२ महिनाभित्र गरिसक्नु पर्छ । उनी भन्छन्, ‘अब एक पटक घाँटीको अप्रेशन गर्न बाँकी छ र ठाउँठाउँमा जोडेको आन्द्रा के भयो भनेर एक्सरे गरेर हेर्नु पर्यो । अबको अप्रेशन डेढ महिना पछि यसरी नै पैसा जम्मा गरेर गर्छु । डाक्टरलाई भन्यो भने त एक महिनामै अप्रेशन गरिदिनु हुन्छ तर पैसा पुग्नु पर्यो नि । त्यसको लागि एक–सवा लाख जम्मा गर्नु पर्छ।’

उनका अनुसार अब गर्ने घाँटीको अप्रेशनको लागि उनले गाउँमा आमालाई समेत चन्दा उठाउन भनेका रहेछन् । उनी भन्छन्, ‘पहिला औषधी गरेको ऋण लागेको छ । जग्गा जमिन केही पनि छैन, ऐलानी जग्गामा बस्छौं । त्यही पनि अप्रेशन गर्न गाउँबाट अझै चन्दा उठाउनु भनेको छु आमालाई ।’

सहयोगी हातहरुको लागि ९८००९०६४११ (राजु सरदार)

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो