पत्रकार फसाउन खोज्दा यसरी आफैं फसे घुमुवा प्रहरी

डिसी नेपाल
८ भदौ २०७८ १०:२५

काठमाडौं। नियमविपरित राखिएका घुमुवा प्रहरीले पत्रकार फसाउन खोज्दा आफैं फसेका छन्। प्रहरी प्रधानकार्यालयले घुमुवा प्रहरी नराख्न गरेको परिपत्रलाई समेत वेवास्था गरी रौतहटमा परिचालन भएका घुमुवा प्रहरीले पत्रकारकै मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोज्दा आफैं फसेका हुन्।

पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाइएका दुई प्रहरी अहिले निलम्बनमा परेका छन्। रौतहटका सञ्चारकर्मीले प्रहरीका घुमुवाले अनियमितता गरेको समाचार लेखेपछि उनीलाई लागुऔषध प्रयोग गरी सुनियोजित तवरले फसाउन खोजेका थिए।

जिल्ला प्रहरी कार्यलय रौतहटमा कार्यरत असइ उदय यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी थप कारवाहीको प्रकृया अघि बढेको रौतहट जिल्ला प्रहरी कार्यालयमा एसपी सिद्धविक्रम शाहले बताए। असइ यादव र प्रहरी जवान जिप्रका रौतहटका घुमुवा हुन्।

पत्रकार मोहम्मद मोजिबुल्लाहले प्रयोग गरेको मोटरसाइकलमा लागुऔषध राखेर पक्राउ गरेका थिए। उनीहरूको प्रत्यक्ष संलग्नतामा पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध लुकाई पत्रकारलाई पक्राउ गरेपछि त्यसको भिडियो बाहिर सार्वजनिक भएको थियो।

त्यसका लागि उनीहरूले स्थानीय युवा धीरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोटरसाइकलमा ‘नाइट्राभेट’ नामक लागुऔषध राख्न लगाएका थिए।

प्रहरीले घटनामा संलग्न धीरज र जितेशकुमारलाई पनि पक्राउ गरेको छ । केही दिन अघि पत्रकाहरुले घुमुवा प्रहरीले नै सीमा नाकाबाट तस्करी गर्न सहयोग गरेको समाचार प्रकाशन भएको थियो।

असइ उदय र प्रहरी जवान मनोजको निर्देशनमा धीरज र जितेशकुमारले ३२ साउनमा स्थानीय होटेलअगाडि पार्क गरी राखेको मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखेका थिए। मोजिबुल्लाह भने होटेलभित्र खाजा खान छिरेका बेला उनीहरु लागुऔषध राखेपछि घुमुवा प्रहरी पुगेर उनलाई पक्राउ गरिएको थियो।

लागुऔषध राखेलगत्तै उनीहरूले नै प्रहरीलाई खबर गरेका थिए। घटनाको पाँच दिनपछि होटेलको सिसिटिभी फुटेज सार्वजनिक भएपछि मात्र प्रहरीकै मिलेमतोमा मोजिबुल्लाहलाई फसाइएको रहस्य खुलेको थियो। घटनामा अर्का पत्रकार सञ्जय सहनीको समेत संलग्नता रहेको एसपी शाहले दावी गरेका छन्।

नेपाल प्रहरीमा विशेष अप्रेशनका लागि बाहेक सादा पोशाकमा प्रहरी परिचालन गर्न पाइदैन तर तराईका हरेक जिल्लामा सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। ‘हामीले सादा पोशाकमा प्रहरी परिचालन नगर्न निर्दैशन दिइसकेका छौ’, प्रहरी प्रधानकार्यालका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *