अमेरिकी सेनाको जहाजमा एनआरएनए अमेरिकाको सामग्री नेपाल पठाइयो

डिसी नेपाल
१२ भदौ २०७८ ९:४३

वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिकाले नेपाली जनताका लागि सहयोग भनेर १० हजार पाउण्ड अर्थात् ४ टन स्वास्थ्य सामग्री नेपाल पठाएको छ।

अमेरिकी सेना एयर फार्सको विमानमार्फत अमेरिकाको युटा शहरबाट ती सामग्रीहरु अगष्ट २७ तारिक शुक्रबार दिउँसो नेपालका लागि उडाइएको छ। गैरआवासीय नेपाली संघका प्रबक्ता तोया दाहालका अनुसार, ३ लाख ६० हजारभन्दा बढी अमेरिकी डलर अर्थात् ४ करोड ८ लाखजति नेपाली रुपैयाँ बराबरका सामग्रीहरु नेपाल पठाइएको छ।

यी सामग्री नेपाल पठाउन एनआरएनए,अमेरिकाका कोषाध्यक्ष राजीव श्रेष्ठ आफैं युटा विमानास्थल पुगेका थिए। उनले दुई दिनसम्म त्यहीँ बसी सामान नेपाल पठाउन अमेरिकी सैनिक अधिकारीहरुसंग समन्वय गरेका थिए। अमेरिकी सेनाको तर्फबाट मेजर जनरल विलियम के वेसिन्जरले समन्वयको काम गरेका थिए।

गैरआवासीय नेपाली संघ, अमेरिकाको कार्यसमिति भित्रैबाट प्राप्त सहयोग, विभिन्न संघसंस्था र साधारण सदस्यहरु समेतबाट उठेको सहयोगबाट खरिद गरिएका सामग्रीहरु नेपाल सरकारलाई पठाइएको हो। यी सामग्रीहरु अगष्ट ३१ तारिकका दिन काठमाडौं पुग्ने समय तालिका अमेरिकी सेनाले एनआरएनए, अमेरिकालाई दिएको छ।

अमेरिकावासी नेपालीहरुका तर्फबाट कोरोना महामारीले पीडित बनेका मातृभूमि नेपालका दाजुभाइ दिदी बहिनीहरुलाई राहत पुर्याउन अहोरात्र खटेर पठाइएका यी सामग्रीहरु हस्तान्तरण गर्न एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी पनि काठमाडौं जाने भएका छन्।

यी सामग्रीहरु सिधै नेपाल सरकारलाई हस्तान्तरण गरिने एनआरएन अमेरिकाले जनाएको छ। हेल्प नेपाल मिसन अन्तर्गत यी सामग्रीहरु नेपाल पठाउन निशुल्क सैनिक जहाजको व्यबस्थालगायतका काममा खटिने एनआरएनए अमेरिकाका कोषाध्यक्ष राजीव श्रेष्ठले संस्थाको आधिकारिक फेसवुक पोष्टामार्फत यो कार्यमा सहयोग गर्नेमा अमेरिकी सरकार, युटाका गभर्नर र जनता, अमेरिकास्थित नेपाली दूतावास र त्यसका अधिकृत होमकान्त भण्डारी, अवैतनिक महावाणिज्यदूत ऋषि ढकाललाई धन्यवाद दिएका छन्।

उनले डाइरेक्ट रिलिफ, सेवा इन्टरनेशनल,गुरुङ्ग समाज लसएन्जेलस, सिख गुरुद्वारा सानहोजे, एनआरएनएका च्याप्टरहरु र अन्य सहयोगी संघ संस्थालाई पनि यो कार्यमा सहयोग गरेवापत धन्यवाद दिएका छन्।

समाचारअनुसार, अक्सिजन कन्सन्टेटरलगायतका स्वास्थ्य सामग्रीहरु तयार गरेर पठाउन जहाज खर्चमात्रै एक लाख डलर खर्च हुने भएपछि एनआरएनएले अमेरिकी सेनालाई सहयोगका लागि केही महिनाअघि नै अपिल गरेको थियो। पूर्व अध्यक्ष सुनील साहको पालामा डेन्टन प्रोग्रामअन्तर्गत यी सामग्रीहरु पठाउने प्रयास गरिए पनि अमेरिकी सेनाले सो प्रोग्रम अन्तर्गत सहयाता गर्नुपर्ने लिष्टमा नेपाल नपरेकाले त्यतिबेला आफ्नो जहाजबाट निशुल्क ढुवानी गर्न नसक्ने जानकारी गराएको थियो। तर, एनआरएनए अमेरिकाको नयां कार्यसमितिले अमेरिकी सेनाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ अन्तर्गत निशुल्क ढुवानी गराइदिन फेरि आग्रह गर्यो। यो प्रोग्रम अन्तर्गत ढुवानी गर्न मिल्ने देखिएपछि अमेरिकी सेनाले यी सामग्रीहरु नेपाल लगिदिन तयार भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *