मध्यपहाडी राजमार्गः हिउँदमा सुविधा, वर्षातमा सास्ती

डिसी नेपाल
१२ भदौ २०७८ २३:१५

ओखलढुंगा । मध्यपहाडी राजमार्गको उदयपुरको घुर्मीदेखि सिन्धुलीको खुर्कोट खण्ड वर्षातमा छिचोल्नै मुस्किल पर्छ । पहाडी जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संघीय राजधनी जोड्ने मार्ग हो यो ।

तराईका जिल्ला जान पनि खुर्कोट हुँदै बर्दिवास निस्केर पहाडका नागरिकले यही सडक प्रयोग गर्छन् । हिउँदको समयमा ७ घण्टामा राजधानी पुग्न सकिने भएपछि पहाडको लाइफ लाइनकै रुपमा स्थापित पनि छ । तर, वर्षातमा भने यो सडकका व्यथा भनिसाध्य छैन ।

असार लागेपछि यो राजमार्गमा दर्जनौ ठाउँमा पहिरो खस्ने र ३ वटा खोलामा बुल नबन्दा सवारी साधन बिच बाटोमै अलपत्र पर्छ । ४र५ घण्टाको बाटो छिचोल्न एकदिन बढी समय लाग्दा यात्रुले निकै हैरानी खेप्नु पर्छ । ओखलढुंगाबाट यो सडक हुँदै जिल्लाका पश्चिमी गाउँपालिकाका केन्द्रमा समेत जानुपर्ने अवस्था हुन्छ । आन्तरिक सडक वर्षातमा नचल्दा राजमार्ग हुँदै घुमेर जानुपर्ने बाध्यता छ ।

ओखलढुंगाका खिजीदेम्वा, लिखु, चम्पादेवी र सुनकोसी गाउँपालिकाका अधिकांश भागमा जान उदयपुरको घुर्मी हुँदै सिन्धुलीको फिक्कलसम्मको सडक प्रयोग गर्नुपर्छ । राजधानी तथा तराईका जिल्ला जाने मूल मार्ग पनि यही हो । तर, आजकल यो राजमार्गमा यात्रा गर्ने यात्रुले ४र५ घण्टाको सडक पार गर्न ३० घण्टा सम्म लाउनु पर्छ ।

उदयपुरको घुर्मीबाट सिन्धुलीको खुर्कोट ६५ किलोमिटर सडक छ । यो बिचमा दर्जनबढी खोला पार गर्नुपर्छ । ३ वटा खोलामा पुल नबन्दा खहरेले दिनमा ३ पटकसम्म सडक अवरुद्ध पार्छ । ‘घुर्मीबाट सिन्धुलीको खुर्कोट पुग्न ३० घण्टा लाग्यो, राजर्मागमाथि खनिएका शाखा सडकको माटो बगेर बन्द हुनेदेखि खोलाले थुन्दाको सास्तीको कुरै छैन,’ यात्रु शम्भु ढकालले भने । वर्षातको समयमा यो सडक पार गर्न ज्यानकै बाजी लाउनु पर्ने उनको भनाइ छ ।

उनीजस्ता सयौ यात्रुको समस्या यस्तै छ । ‘यात्रामा निस्केपछि साना ठूला भन्ने हुँदैन, सबैले दुख पाउँछन्,’ ढकालले भने । मोलुङ गाउपालिकाका अध्यक्ष मणिराज राई सहितको टोली सोही सडक खण्डमा १० घण्टा थुनियो । कतै सडकमा जमेको हिलोले जीप आधा डुब्ने अवस्था हुन्छ भने खोला र माथिबाट ढुंगा खस्ने त्रासको झन् जोखिम छ ।

यस्तो जोखिम भए पनि सरकारी निकायले राजमार्ग सुरक्षाको मापदण्ड अपनाएको छैन । राजमार्ग माथि शाखा खच्ची सडक खन्ने, खहरेका निर्माणाधीन पुल समयमा नबनाउँदा जोखिम युक्त यात्रा गर्न यात्रु बाध्य छन् । यो सडक खण्ड माथिल्लो सगरमाथाका तीन जिल्लाका यात्रुले अध्याधिक प्रयोग गर्ने तर सिन्धुलीको भूगोल भए पनि कोशी किनार भएकाले त्यहाँका सरकारी निकाय र स्थानीय तहको ध्यान नगएको सरोकारवालाको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *