प्रभावितलाई व्यवस्थापन र भत्किएका संरचनाको पुनःनिर्माण तत्काल गर्न गृहमन्त्रीको निर्देशन

डिसी नेपाल
१९ भदौ २०७८ १८:२६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बाढी प्रभावितलाई व्यवस्थापन र भत्किएका संरचनाको पुनःनिर्माण तत्काल गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । शनिबार बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्न हेलम्बु र मेलम्ची पुगेका गृहमन्त्री खाँणले मेलम्ची र इन्द्रावती नदीमा आएकोे बाढीबाट हुने क्षति कम गर्न विभिन्न स्थानमा ‘चेकड्याम’ बनाउनुपर्ने बताए।

मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स तथा बस्ती बचाउन कहाँ–कहाँ कति वटा ड्याम बनाउनुपर्ला भनेर विस्तृत अध्ययन गरिने उनले बताए । गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नं २ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।

गृहमन्त्रीसहित सो टोलीमा सांसद शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी थिए ।

गत असार १ र साउन १६ गतेको आएको वर्षाको कारण सो क्षेत्रमा पाँच जनाको मृत्यु, छ घाइते र २० बेपत्ता छन् । बाढीपहिराले १५ पुल, सडक खेत र सयौँ घरटहरासहित ठूलो धनजनको क्षति भएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *