रामचन्द्रको प्रस्ताव : २७ भदौकाे पालिका अधिवेशन स्थगित गरौं

डिसी नेपाल
२४ भदौ २०७८ १३:५९
76
Shares

काठमाडौं। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २७ भदौका लागि तय भएको कांग्रेसको स्थानीय तहको अधिवेशन स्थगित गर्न प्रस्ताव गरेका छन्। बिहीबार बिहान सभापति शेरबहादुर देउवालाई भेटेर पौडेलले अधिवेशन सार्न प्रस्ताव गरेका हुन्।

क्रियाशील सदस्यता विवादका कारण २१ जिल्लाका वडा अधिवेशन हुन नसकेको भन्दै वडा अधिवेशन नगरी पालिका अधिवेशन नगर्न उनको प्रस्ताव छ।

विवादमा रहेका २१ मध्ये सभापति देउवाको गृहजिल्ला डडेलधुराका वडा अधिवेशन २५ भदौ अर्थात् भोलि गर्ने तयारी भए पनि हालसम्म निश्चित भइसकेको छैन।

पौडेलको प्रस्तावमा देउवा पनि सकारात्मक रहेका कारण पालिका अधिवेशन सर्ने निश्चितजस्तै भएको पौडेलले न्युज कारखानालाई जानकारी दिए । उनका अनुसार देउवा ५ असोजमा हुने क्षेत्रीय अधिवेशनको मिति प्रभावित नहुने गरी पालिका अधिवेशन सार्न सकारात्मक बनेका छन्।

यसैबीच, आगामी महाधिवेशनमा सभापतिका प्रत्यासी कांग्रेस नेता विमलेन्द्र निधिले बुधबार देउवालाई पत्र लेख्दै क्रियाशील सदस्यता विवाद टुंगो लगाएर मात्र पालिका अधिवेशन गर्न आग्रह गरेका थिए।

बुधबार नै अर्का नेता शेखर कोइरालाले पनि वडा अधिवेशन नसकिएसम्म पालिका अधिवेशन गर्न नसकिने भन्दै कांग्रेस नेताहरूको ध्यानाकर्षण गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *