दमक नगरपालिकाले जोड्यो संस्कृतिलाई सम्बृद्धिसँग

डिसी नेपाल
२४ भदौ २०७८ १५:४२

झापा।   प्रत्येक वर्ष भाद्र शुक्ल तृतियाका दिन मनाइने हरितालिका तीज व्रत यस वर्षपनि देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरुले हर्सोल्लासका साथ मनाइरहेका छन्। पौराणिक कथा वस्तु अनुसार भगवान शिवलाई पति पाउँ भनी पार्वतीले कठोर व्रत बसी आफ्नो मनोकांक्षा पूरा गरेको दिनसँग तीज पर्व सम्वन्धित छ।

कथाअनुसार पार्वतीलाई आफ्ना पिताले आफूले मन पराएको व्यक्तिसंग नभई अर्कै व्यक्तिसँग विवाह गर्ने थाह पाएपछि सखीको सहायताले अज्ञात पर्वतमा गएर कठोर वर्त वसी भाद्रशुक्ल तृतीयाको दिन शिवलिङ्गको पूजा आरधना गरिरहेको वेला शिव प्रकट भइ इच्छाएको वरदानको माग्न आग्रह गर्दा हजुरलाई पति पाउ भनी ब्रतवसेकी भनेपछि शिवले साथ लिएर आफ्नो वासस्थानमा लगि सुखी र खुशी दाम्पत्य जीवन विताएको कथामा उल्लेख छ।

मध्यकालीन समयमा तीजपर्व वर्षभरी काम गरेर वर्षाको समय पार गरेपछि आफ्ना छोरी चेलीलाई आफ्ना मनका वह पोख्ने दुःख सुखको विसौनी बन्यो । टाढा टाढाका चेलीवेटीहरु एकैठाउमा भेला भएर अतितदेखि वर्तमानसम्मका आफ्ना घटना परिघटनालाई एक आपसमा आदनप्रदान गर्थे। दिदीबहिनीलाई दाजुभाइ कति प्यारा थिए।

आमाबुबालाई आफ्ना सबै छोराछोरी एक दिन भएपनि भेला भएर रमाइलो गर्दा बाल्यावस्थाको याद दिलाउँथ्यो। छोरोछोरी प्रतिको स्नेह, ममता र प्यार बढ्थ्यो। छोराछोरीलाई आफ्ना आमाबाबु प्रतिको कर्तव्य, जिम्मेवारी र दायित्वको बोध हुन्थ्यो, पर्वको माध्यमबाट।

तर अहिले परम्पराका नाममा प्रतिस्पर्धा बढेको छ। कसले महँगा लुगा लगाउने? कसले धेरै गरगहनाहरु लगाउने ? कस्ले धरै साथीभाईलाई बोलाएर खुवाउन सक्छ? अनि कस्ले धेरै परिकार वनाएर खुवाउन सक्छ? आदि आदि। पर्व भनेको असत्य माथि सत्यको विजय, आसुरी चरित्रमाथि दैविक चरित्रको जीत …आदिमा आधारित रहेको पाइन्छ।

तर वास्तविक संस्कारको अर्थ र औचित्य नै समाप्त हुनेगरी गरिएको आडम्वर र देखावटीपनले संस्कारको नै खिल्ली उडाएको जस्तो भान भएको वर्तमान परिवेशमा दमक नगरपालिकाले तीज पर्व मनाउने नयाँ तरिकाको थालनी गरेर संस्कार संस्कृतिलाई सीप र सम्बृद्धिमा जोड्न एउटा नयाँ र उदाहरणीय कामको थालनी गरेको छ। “दमकका महिला, उद्यममा पहिला” नारा सहित स्थानीय कच्चा पदार्थ, श्रम र सीपको प्रयोग गरी दमकका महिला उद्यमहरुले उत्पादन गरेको सामाग्रीको प्रदर्शनी गरी “तीज महोत्सव, २०७८” मनायो।

५ दिनसम्म सञ्चालित उक्त कार्यक्रममा स्थानीय उद्यमी महिलाहरुले स्थानीय स्रोत र साधन प्रयोग गरी आफ्नो सीपबाट उत्पादन गरिएको सर सामान मुढा, झोला, अचार, माला पोते, हातले बनाएइका गुडिया, धागोले बनाएका झुमर, वासेबल, सेनेटरी प्याड, जुती चप्पल, धुप, गरगहना लगायतका सामान प्रदर्शनका साथै बिक्री गरेर तीज मनाएका छन्।

दमक नगरपालिकाले तालिम दिएर सीप सिकाई विभिन्न प्रकारका सामाग्रीहरु उत्पादन गरी विक्री वितरण गर्न सहयोग गरेको भुटानी शरणार्थी अपाङ्क संघका अध्यक्ष देवीमाया गुरुङ बताउँछिन्।

तीज महोत्सव आयोजना हुनु भन्दा अघि आफूहरुले धेरै सामाग्री उत्पादन गरेपनि बजारको समस्याको कारणले आफूहरु समस्यामा रहेकोमा अहिले सामाग्रीको माग बढेर आफ्नो सीप देखाउन पाएको र आफ्नो पहिचान दिलाउन पाएकोमा उनीहरु उत्साहित र खुशी छन्।

मुढा, झोला, साजवटका सामाग्री लगायतका.सामाग्री उत्पादन गरिरहेका उनीहरुलाई महोत्सवको समयमा विभिन्न वितिय संस्थाहरुले झोलाको अर्डर गरेको र मुढाको पनि माग बढेको छ उनी खुशी हुदै सुनाउँछिन्।

यसैगरी यस उत्सवमा एकल महिलाहरुको १३ जनाको समूहले उत्पादन गरेको सेनेटरी प्याड, वाती लगायतका सामाग्री उत्पादन गरिरहेकोमा तीज महोत्सवले यी सामाग्रीको बजार प्रबद्र्धनमा सहयोग पुगेको बताउँछिन् एकल महिलाहरुको नेतृत्व गर्ने खेमकुमारी ओली।

उनी भन्छिन् वातावरण र खर्च दुवैको दृष्टिकोणबाट बजारमा पाइने अरु प्याजभन्दा सस्तो र सुरक्षित यो प्याडको प्रयोगले महिलाहरुको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव हुन्छ।

बजारमा उपलब्ध हानीकारक केमिकलबाट तयार भएका प्याडको प्रयोगबाट महिलाहरुमा पाठेघरको क्यान्सर हुने, बाझोपन हुने जस्ता थुप्रै समस्याबाट बच्नपनि आफूहरुले उत्पादन गरेको प्याड बिक्रीमा प्रबद्र्धन गरिदिन समेत अनुरोध गरिन्।

उनले तीज महोत्सव कै कारण आफ्ना सामाग्री हरेर सधैं  र रोटरी क्लव लगायतका संस्थाले आफूलाई प्रशिक्षकको रुपमा बोलाएकोमा खुशी समेत व्यक्त गरिन्।

यसैगरी ढाकाका सामाग्रीहरु, अचार, पोते, गरगहना लगायतका सामाग्रीको उत्पादन पनि महिलाहरु आफैले हातको सीप प्रयोग गरी गरेको उनीहरु बताउँछन्। महोत्सवको माध्यमबाट १० वटा महिला समूहका ६० जना भन्दा बढी महिला उद्यमीहरुले आफ्नो सीप प्रदर्शनी गरी फजुल खर्च कटाएर र अतिरिक्त खर्चलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जन गरेका छन्।

“महिलाहरुलाई अगाडी बढाउन उनीहरुलाई आर्थिक अधिकार आवश्यक छ। महिलाको नाममा जग्गा र घर हुदैमा आर्थिक अधिकार प्राप्त हुँदैन। उनीहरुलाई आर्थिक रुपमा अगाडि बढाउन महिला कै प्रत्यक्ष सहभागीतामा सीप सिक्ने र आत्मनिर्भर बन्न उद्यमशिलता तर्फ उत्साहित गदै आर्थिक अधिकार र सामाजिक रुपान्तरणका माध्यमबाट उनीहरुलाई सबल र सक्षम बनाउँदै समृद्ध समाज बनाउनु पर्दछ।” दमक नगरपालिकाका उपप्रमुख गिता अधिकारीले बताइन्।

आफ्नो करिव २७ वर्ष अर्थशास्त्र बिषयको प्राध्यापकको रुपमा अनुभव बटल्नु भएकी, एम. फिल. सम्म योग्यता प्राप्त गर्नुभएकी एक सक्षम उपप्रमुख गिता अधिकारीले आफ्नो नेतृत्वमा दमकमा शिक्षाको क्षेत्रमा निक्के ठूलो लगानी र सुधारको लागि पहल गर्नु भएको छ ।

दमक क्याम्पसका ४ जना प्राध्यापकलाई पिचडी गर्न छात्रावृत्तिको व्यवस्था, उच्च शिक्षामा छात्राको पहुँच बढाउन कक्षा ११ देखि स्नातकोत्तर तहसम्म सामुदायिक स्कूल र क्याम्पसमा अध्ययनरत छात्राहरुलाई छात्राबृत्तिको व्यवस्था, समुदायद्वारा सञ्चालित बालविकास केन्द्रहरुलाई निजी क्षेत्रको भन्दा उत्कृष्ट व्यवस्थपान, महिलाहरुलाई स्वरोजगार र उद्यमी बनाउन विशेष पहल, स्वास्थ्य क्षेत्रको सुधार, विकास र विस्तारमा महत्वपूर्ण भूमिका लगायतका थुप्रै महत्वपूर्ण कामहरु उपप्रमुख अधिकारीको नेतृत्वमा दमकमा भएका छन् । उप प्रमुखकै नेतृत्वमा भएको तीज महोत्सव २०७८ ले संस्कृतिलाई समृद्धिसँग जोड्ने प्रयास गरेको छ । यस महोत्सवले हामीलाई आगामी बर्षहरुको लागि मर्गनिर्देश पनि गरेको उपप्रमुख अधिकारीको भनाइ छ।

तीजको नाममा रहेको अस्वच्छ प्रतिस्पर्धा र गलत विचारले परिवार, समाज र अन्तत्वगोत्वा राष्ट्रलाई नै ठूलो घाटा पु¥याउँछ। पारिवारिक, आर्थिक, सामाजिक तथा नैतिक लगायतका सम्पूर्ण क्षेत्रमा यस्को नकारात्मक असर बढ्दो छ । एक दिनको पर्वका नाममा महिनौसम्म समय र स्रोत खर्चिनु निश्चय नै राम्रो कुरा होइन ।

यसले हुने खाने र हुँदा खाने बीचको दुरी वढाउनमा थप टेवा पु¥याउँछ । भ्रष्टचार, चोरी डकैती र लुटपाटका घटनालाई बढाउँछ साथै एकै परिवारबीचमा पनि आर्थिक, सामाजिक असन्तुलनको अवस्था आउनसक्छ र पारिवारिक द्वन्दको अवस्था सृजना हुन्छ। श्रीमान् श्रीमतिको प्यार र माया बढोस् र दाम्पत्य जीवन सुखमय बनोस् भन्ने कामनाका साथ मनाइने यो पर्वमा प्रतिस्पर्धाको भावनाले पारिवारिक विखण्डनको अवस्था सृजना हुन लागेको अवस्था छ।

अर्कोतिर दिनभर परिश्रम गरेर हात मुख जोर्नेहरुकोलागि पर्व वोझ बन्न लागेको अवस्था छ। दैनिक उपभोग्य सामाग्रंीहरुको उपभोगसमेत गर्ने नसक्नेहरुकोलागि चाडपर्वको अर्थ र औचित्यपनि समाप्त हुने अवस्था देखा पर्दैछ।

यस प्रकार आम समस्याले ग्रसित हुदै गएको समाजको विकास गर्न अब महिलाहरुले कसरी समाजमा प्रस्तुत हुने ? महिला र पुरुष बीचको एकतालाई कायम राख्दै कसरी सहकार्य गर्ने ? आध्यात्मिक पौराणिक चिन्तनको संरक्षण र संबद्र्धन गर्न आर्थिक तडक भडक र उच्छृङ्खलताको सोचाइबाट समाजलाई कसरी मुक्त गराउने ?

महिला उत्थानको लागि अधिकारको समुचित प्रयोग गरी क्षमता र दक्षताको विकास गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेशमा आफ्नो पहिचान कसरी कायम राख्ने भन्ने दीर्घकालीन सोचको विकास गर्ने कुरामा दमक नगरपालिकाले थालनी गरेको यो प्रशसनिय कार्यबाट एउटा इटा थप्ने काम गरेको छ ।

महिलाहरुको सक्रियता र समक्षताको सम्बन्ध परिवार, समाज र राष्ट्रको विकाससँग जोडिएको हुन्छ । पारिवारिक द्वन्द्व कम गर्न, सामाजिक र सांस्कृति क्षेत्रको सुधार र सम्बद्र्धन गर्न, आर्थिक रुपमा सक्षम समाजको परिकल्पना गर्न, अपराधरहित सम्बृद्ध समाजको निर्माण गर्न संस्कृतिका नाममा आएको विकृतिलाई रोक्न दमक नगरपालिकाले चालेको यो कदम अनुकरणीय रहेको बताउँछन् स्थानीय वुद्धिजीवि र समाजसेवीहरु।

पर्वको समयमा नयाँ लुगा नै नकिन्नु, गहना नै नलगाउनु, रमाइलो नै नगर्नु र नखानु भन्ने हुँदै होइन तर संस्कार र संस्कृतिलाई धज्जी उढाउने गरी त्यसको मुल मर्मलाई नै विर्सिएर समय, श्रम र रुपैयाँ पैसाको फजुल खर्च गर्ने प्रवृत्तिलाई भने सुधार गर्नु जरुरी छ।

दमक नगरपालिकाको यो पहललाई देशभरीका अन्य पालिकाहरुले पनि अनुसरण गरी लागू गर्न सके चाडपर्वका बेला गहना र लुगा खरिद लगायत चाडपर्वजन्य फजुल खर्चका नाममा घर घरमा हुने द्वन्द्व न्यूनिकरणमा समेत सहयोग पुग्ने निश्चत छ। यस तर्फपनि सबैको ध्यान जाओस् हरितालिका तीजको सबैमा शुभकामना।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *