संखुवासभा सामुहिक हत्याकाण्डमा नाम जाेडिएका लोकबहादुर काे हुन् ?

डिसी नेपाल
२६ भदौ २०७८ २१:१५

संखुवासभा। संखुवासभाको मादी-१ उम्लिङमा एक वर्षअघि लोकबहादुर कार्कीकी आमा तेजबहादुरको घरमा लडेकी थिइन्। उनको आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यु भएको थियो।

लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर नै भएको आरोप लगाउँदै आएका थिए। तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको दुरीमा छ।

यसैबीच गत सोमबार बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई लोकबहादुरले बाटोमै कुरेर बसे। र, आक्रमण गरेर हत्या गरे।

तेजबहादुरको हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गए। घरनजिकै रहेको खोलाछेउमा उनीहरूलाई पनि लोकबहादुरले ह्यामरले हिर्काएर हत्या गरे।

हत्या गरेको प्रमाण मेटाउन लोकबहादुरले आठ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई समेत बारीमा लखेटी-लखेटी हत्या गरे। त्यसपछि पनि लोकबहादुरले तेजबहादुरको घरमै पसेर कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरे।

यो रहस्य भने लोकबहादुर प्रहरीले पक्राउ गरेपछि बाहिरिएको हो। आफन्तसमेत रहेका लोकबहादुरले सपरिवारकै हत्या गरेको स्वीकार गरेको प्रदेश नम्बर १ का डिआइजी अरुणकुमार बिसीले जानकारी दिएका छन्।

६ जनाको ज्यान जाने गरी भएको गत सोमबारको घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो। सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको हो।

लोकबहादुरले पनि व्यक्तिगत रिसीबीका कारण हत्या गरेको स्वीकार गरिसकेका छन्। हत्या गरिएका तेजबहादुरले केहि गर्न नसकेको भन्दै ‘हेपेका कारण’ आफूले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन्।

त्यसो त २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर नाताले काका-भतिज हुन्। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन्। तर, घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको उनले स्वीकारेको प्रहरीले जनाएको छ।

लोकबहादुरले कक्षा ८ सम्म पढेपछि पढाइ छोडेका थिए। छिमेकी चन्द्रबहादुर थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने लोकबहादुर मलेसिया र कतार काम गर्न गए पनि वर्षदिन नपुग्दै गाउँमा फर्किएका थिए।

६ वर्ष अगाडि मलेसिया गए पनि १० महिनामा विदेश जाँदाको ऋणसमेत नतिरी फर्किएको थापाको भनाई छ । त्यसको डेढ बर्षपछि पुनः वैदेशिक रोजगारीको लागि कतार पुगे । तर, त्यहाँबाट पनि नौ महिना नपुग्दै घर फर्किए।

गत सोमबार तेजबहादुरको शव घरको आँगनमा फेला परेको थियो भने श्रीमती मनमाया र बुहारी रन्जनाको शव घरनजिकै खोल्सामा भेटिएको थियो। नाति-नातिनी दीपक र गोमाको शव पनि घरमाथि मकै बारीमा भेटिएको थियो।

निर्दोष देखिनका लागि लोकबहादुरले छिमेकीलाई हत्याको खबर सबैभन्दा पहिले पुर्‍याएका थिए। तर, लोकबहादुरको घरमा रगत लागेको कपडा र हत्यामा प्रयोग गरिएकोजस्तो देखिने हतियार प्रहरीले फेला पारेपछि उनलाई केन्द्रविन्दुमा राखेर अनुसन्धान गरेको थियो।

घटनामा संलग्नलाई आइतबार चैनपुर इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । उनले भने, ‘घटनामा संलग्नलाई नियन्त्रणमा लिइसकेका छौ, भोलि बिहान १० बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं।’

प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी लोकबहादुर संकाको घेरामा थिए। घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा शंकास्पद केही ब्यक्तिको ‘डिएनए’समेत परीक्षण गरिएको थियो । तर, प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट डिएसपी लालध्वज सुवेदी नेतृत्वको संयुक्त अनुसन्धानबाट लोकबहादुर बच्न सकेनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *