चितवनमा घट्दै कोरोना सङ्क्रमण

डिसी नेपाल
२७ भदौ २०७८ १०:२३
96
Shares

चितवन । साउन महिना लागेसँगै उच्च बनेको कोरोना सङ्क्रमणदर विस्तारै घट्दै गएको छ। जिल्लाका र बाहिरबाट उपचारका लागि आउने सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ। गत साउनमा दैनिक २०० हाराहारीमा सङ्क्रमण रहेकामा यही भदौ लागेसँगै सङ्क्रमण घट्दै गएर दैनिक ४० हाराहारीमा झरेको छ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार साउन ७ गते २५५ मा सङ्क्रमण पुष्टि भएको थियो। यस्तै साउन १७ गते २२९, साउन २४ गते २३८ मा सङ्क्रमण देखिएको थियो। साउन मसान्तबाट यो सङ्ख्या घट्दै गएको हो। साउन ३१ मा आइपुग्दा २०१ जनामा कोरोना देखिएको थियो।

जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा भदौ महिना सुरु भएसँगै यो सङ्ख्या थप घट्दै गएको हो। कार्यालयको तथ्याङ्कानुसार भदौ १ गते १०६ मा सङ्क्रमण देखिएकामा भदौ १० गते आउँदा ९७ मा झरेको थियो। भदौ २० गते ७० मा झरेकामा २४ गते आइपुगदा यो सङ्ख्या ४१ मा झरेको छ।

साउनमा २७ हजार १९७ को परीक्षण गरिएकामा पाँच हजार २६५ मा सङ्क्रमण देखिएको थियो। भदौ २४ गतेसम्ममा १५ हजार ६१८ को नमूना परीक्षण गरिएकामा एक हजार ७८५ मा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिइन्। साउनमा सङ्क्रमणका कारण ६६ को मृत्यु भएको र भदौमा सो सङ्ख्या ३४ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

उनका अनुसार जिल्लामा अहिले ६७५ सक्रिय सङ्क्रमित छन्। तीमध्ये ३१ अस्पतालमा उपचाररत छन् भने ६४४ होम आइसोलेशनमा छन्। जिल्लामा हालसम्म २५ हजार १९३ सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये ४०५ को मृत्यु भइसकेको छ। सङ्क्रमितमध्ये जिल्लामा धेरै महानगरका छन्। जनघनत्व बढी भएका कारण सहरी क्षेत्रमा कोरोना धेरै देखिएको अधिकृत ढकालले बताइन्। साउनको अन्तिम साता जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० पुगेको थियो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *