प्रदेश १ सरकारलाई नेकपा एसले समर्थन नगर्ने, मुख्यमन्त्री आचार्यको पद धरापमा

डिसी नेपाल
२८ भदौ २०७८ १८:५४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश १ सरकारलाई आफ्नो दलको समर्थन नरहेको बताएको छ । सोमबार प्रदेशसभा सचिवालयमा संसदीय दल गठन भएको औपचारिक जानकारी गराउँदै प्रदेश सरकारलाई समर्थन नरहेको पनि जानकारी दिएको हो ।

एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै मुख्यमन्त्री आचार्यलाई समर्थन नगर्ने निर्णय गरेको थियो । सो दलले भोजपुरबाट निर्वाचित सांसद राजेन्द्र राईलाई दलको नेतासमेत चयन गरेको छ ।

एमाले विभाजनको एक दिनपछि गत भदौ १० गते एमाले सचिव भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री आचार्य राजनीतिक रुपमा अल्पमतमा परेपछि दल विभाजन भएको जानकारी भदौ २५ गतेमात्र प्रदेशसभा सचिवालयमा दर्ता भएकोले असोज २३ वा २४ गतेमात्र विश्वासको मत लिने तयारीमा रहेका छन् ।

प्रदेश १ मा नेकपा एमालेका ५१ सांसद थिए । पार्टी विभाजन हुँदा १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि नेकपा एमालेले बहुमत गुमाएको हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसको २१, नेकपा माओवादी केन्द्रको १५, नेकपा एकीकृत समाजवादीको १०, जनता समाजवादी पार्टीको तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको एक जना गरी ५० जना पुगेका छन् भने नेकपा एमालेसँग ४१ सांसद छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *