बोक्सीप्रथा केन्द्रित अनुसन्धानात्मक पुस्तक ‘शल्यक्रिया’ विमोचन
काठमाडौं । सञ्जय खड्का र लोग्शरी कुँवरद्वारा लिखित ‘शल्यक्रिया’ पुस्तकको विमोचन गरिएको छ । अधिकारकर्मी, समाजसेवी, अधिवक्ता, पत्रकारलगायतको उपस्थितीमा एक कार्यक्रममार्फत १ सय ६७ पृष्ठको पुस्तक ‘शल्यक्रिया’ आज(सोमबार) विमोचन गरिएको हो ।
कार्यक्रममा सांसद निरुदेवी पालले पुस्तक लेख्नु चानचुने कुरा नभएको भन्दै कतिपय कुरा भन्न र गर्न सजिलो भएपनि व्यवहारमा लागू गर्न निक्कै गाह्रो भएको बताएकी थिइन् । पुस्तक माछा मार्ने जालो भएको बताउँदै सांसद पालले भनिन्, ‘माछा मारेर दिने हाम्रो उद्देश्य होइन माछा मार्न सिकाउने हो । माछा मार्न हामीले सिकायौ भने उसले आफै माछा मारेर खान्छ ।’
हाम्रो समाज आफै गरेर खाने कर्मशील नभएको भन्दै उनले धेरैजसो महिलाले मेरो अधिकार के के हुन त भन्ने कुरा अझैपनि थाहा नपाएकाले अन्याय सहेर बस्नु परेको अवस्था रहेको बताइन् । कर्मशील र आर्थिक पक्ष कमजोर भएकाले नै पीडित बन्नु परेको संकेत गर्दै उनले अझै पनि समाजमा बोक्सीका थोरै मात्रै घटना उजागर भएको र धेरैमात्राका घटनाहरु ढाकछोप गरिने गरिएको बताइन् ।
त्यस्तै, उनले हाम्रो समाजले पीडितलाई अझै पीडित बनाई गाउँबाट विस्थापित गर्ने गरेको तर पीडकलाई समाजले संरक्षण गर्ने गरेको बताउँदै उनले यस्ता विभेदलाई परिमार्जन गर्दै हटाउँदै जानुपर्ने बताइन् ।
उनले अन्याय गर्ने र अन्याय सहने दुबै अपराध भएको बताउँदै परिवर्तन स्वयं आफूबाट गर्नुपर्छ, जुन एकैचोटी निमूर्ल नहुने बताइन् । सांसद पालले यो पुस्तक तमाम पीडित दिदीबहिनीहरुको लागि खुराक बन्ने भन्दै उक्त पुस्तक गाउँगाउँसम्म पुगोस् भनेर कामनासमेत गरिन् ।
त्यसैगरी, कार्यक्रममा वरिष्ठ अधिकारकर्मी तथा इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेलले पुस्तक आउनु ज्ञान र अभिलेखको निरन्तरता भएको बताए । पुस्तक प्रकाशित गर्ने टिमलाई धन्यवाद तथा आभार प्रकट गर्दै कुनै पनि मानव वा समाजलाई कर्मकाण्डीहरुले बिगारेको आरोप लगाए ।
उनले सबभन्दा कमजोर स्थितिको मान्छेलाई बोक्सीको आरोप लगाइदै आइएको जनाए । साथै, उनले स्थानीय तहमा न्यायिक समितिलाई क्रियाशिल बनाएको खण्डमा बोक्सीलगायतका हिंसात्मक घटना कम हुँदै जाने बताए ।
कार्यक्रममा अधिवक्ता शशि बस्नेतले कविताबाट सुरु भएको शल्यक्रिया पुस्तकले सुरुमै मन छोएको बताइन् । जो मान्छेले बोक्सी हुन्छ अर्थात् बोक्सीले असर गर्छ है भनेर विश्वास गर्छ त्यो मान्छेले पूरै किताब नपढेर सुरुको कवितामात्रै पढ्यो भने पनि उसलाई हिंसाप्रतिको विश्वासमा सोच्न बाध्य पार्ने बताइन् ।
उनले पुस्तकले अन्तर्राष्ट्रिय र नेपालको कानुनलाई केही हदसम्म समेटेको भन्दै लैगिंक हिंसा र महिलाविरुद्ध हुने हिंसा बीचको फरकलाई स्पष्ट पारेको भए अझ राम्रो हुने थियो भन्दै सुझाइन् । उनले पुस्तक अनुसन्धात्मकमूलक र कुरुतीविरुद्धको सकारात्मक पक्ष भएकाले पुस्तकले समाजलाई परिवर्तन गर्न सघाउ पुर्याउने बताइन् ।
लेखक तथा सामाजिक अभियन्ता राधा पौडेलले पुस्तकले सामाजिक रुपान्तरणमा बलियो ईटा थपेको भन्दै उक्त पुस्तक अंग्रेजीमा पनि प्रकाशित हुनुपर्नेमा जोड दिइन । पुस्तकले बोक्सीप्रथाको ऐतिहासिक, सामाजिक, आर्थिक, राजनीतिक पाटोलाई राम्रोसँग उल्लेख गरेको बताइन् ।
लेखिका बिमला तुम्खेवाले नेपालमा धर्म, संस्कृति र संस्कारको कारणले गर्दा नै हरेक दिन महिलाहरुमाथि सोच्नै नसकिने किसिमको विभेद भएको भन्दै भोलिको दिनमा यो किताब महत्वपूर्ण आदर्श बन्ने बताइन् । उनले उक्त पुस्तक परिवर्तन चाहनेहरुको लागि सूचनामूलक हुन सक्ने भन्दै आउदा दिनमा यस्ता प्रकारका पुस्तक धेरै आउनु पर्ने बताइन् ।
लेखक तथा पत्रकार अम्म्रिता लम्सालले हाम्रो समाजले महिलाविरुद्ध बोक्सीलगायतका दर्दनाक घटनालाई वास्ता नगरेको तर सामान्य कुराहरुलाई समाजले न्यायका लागि धर्ना, जुलुस लगायत गरेको भन्दै दुःख व्यक्त गरिन् । उनले महिलाविरुद्धको हिंसात्मक घटनालाई पार्टीसँग नजोडि निष्पक्ष न्याय दिलाउनु पर्ने भन्दै समाजलाई सचेत बनाउनु पर्नेमा जोड दिइन । साथै, उनले शल्यक्रिया जस्ता पुस्तकले समाजलाई सचेतना जगाउने बताइन् ।
कार्यक्रममा स्वागत मन्तव्यको क्रममा अधिकारकर्मी कला राईले समाजमा भएका कुरिती, कुप्रथाहरुलाई हाम्रो समाजको दोस्रो पुस्ताहरुलाई पुस्तकमार्फत देखाउन खोजिएको बताइन् । पुस्तकले सम्पूर्ण समाजलाई लेखनमार्फत शल्यक्रिया गरेको छ भन्दै उनले अझै पनि यस्तै हरेक विधाबाट समाजको शल्यक्रिया गर्नु पर्छ भन्ने लागेको बताइन् ।
शल्यक्रिया पुस्तककी लेखिका लोग्शरीले पुस्तक लेखनमा धेरैजनाको सहयोग रहेको जानकारी गराइन् । उनले आफूले समेत बोक्सी आरोपको प्रहार भोगेको भक्कानिदै सुनाइन् । उनले भनिन, ‘आजसम्म अर्काको पीडा लेख्दै आएको छु तर आफ्नो पीडा कहाँ गएर पोख्नु ?’
कार्यक्रममा उनले ‘म पनि बोक्सी’ भन्ने पुनः अर्को पुस्तक लेख्ने विचार व्यक्त गरिन् । साथै, उनले शल्यक्रियामार्फत अन्धविश्वासविरुद्धलाई दस्तावेज गर्न खोजेको बताइन् ।
कार्यक्रममा लेखक, सामाजिक अभियन्ता, अधिवक्ता पत्रकारलगायतको उपस्थित रहेको थियो । कार्यक्रममा लेखकद्वय तथा प्रकाशकलाई सबै अतिथिले बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।







डिसी नेपाल








Facebook Comment