३८ वर्षको पत्रकारितामा मैले बिपी जस्तो पोल्टिसियन अरु देखिनः पत्रकार केदारमान – Dcnepal

३८ वर्षको पत्रकारितामा मैले बिपी जस्तो पोल्टिसियन अरु देखिनः पत्रकार केदारमान

वृद्ध शरीर, घरीघरी आफूले गरेका कुराहरु बोल्दाबोल्दै बिर्सिने अवस्थाका पुराना पत्रकार केदारमान सिंह श्रेष्ठको उमेर ८२ वर्ष कटिसकेको छ। २०१७ सालदेखि पत्रकारिता सुरु गरेका उनले आफ्नो पूरै जीवन पत्रकारितामै व्यतित गरे।

हाल काठमाडौंस्थित भोटेबहाल घरमा बसेर समय व्यतीत गर्दै आएका उनीसँग स्वर्गीय भइसकेका पुराना नेता तथा राजाहरुसँग प्रत्यक्ष भएर धेरै अविस्मरणीय कामहरु गरेको अनुभव छ। उनै पुराना पुस्ताका पत्रकार श्रेष्ठले भोगेका र गरेका काममा आधारित भएर गरिएको कुराकानीलाई आज डिसी नेपालमा प्रस्तुत गरिएको छ ।

पत्रकार केदारमानकै शब्दमा

मैले पत्रकारिता सुरु गर्दा देशमा कांग्रेसी र पञ्चायती भनेर छुट्याउने गरिन्थ्यो । त्यसबेला हामी तीन (म, गणेश बल्लभ प्रधान र बटुक) जना समकक्षी पत्रकार थियौं, हामीहरुलाई प्रजातान्त्रिक खेमा नजीक भएकाले पञ्चायतकालमा कांग्रेसी पत्रकार भनिन्थ्यो।

हामीले पत्रकारिता सुरु गर्दा पढेलेखेका बिग्रियो भने पत्रकार बन्छ, अनपढ बिग्रियो भने ड्राइभर हुन्छ भन्थे  त्यसबेला हामी कतै सरकारी कार्यालयमा जाँदा तपाईं पनि कति तलब खानु हुन्छ भनेर हेपाहा तरिकाले ठूलाबडा हाकिमहरुले सोध्ने गर्थे । रिपोर्टिङ गर्न जाँदा पनि हेपाहा प्रवृतिले उता बस्नुस् भनेर अलि पर कुनामा बस्न लगाइन्थ्यो।

नेपालमा २०१७ सालमा ‘कु’ हुँदा अलि सक्रिय युवाहरुलाई राजनीतिमा लागेकोले अहिले पनि सक्रिय भएको होला भनेर लगेर थुनिहाल्ने चलन थियो।  त्यसबेला विपी कोइरालालाई समात्दाखेरी मेरो साथी(पत्रकार वल्लभ) पनि त्यही ठाउँमा थियो, त्यसवखत ऊ त्यहांबाट उम्किन सफल भएर ४,५ महिनापछि पक्राउ पर्यो र ५/६ महिनासम्म जेल बस्यो । तर, म भने कुनै दिन पनि जेलमा परिन।

तर, मलाई गर्व छ, म र मेरा साथीले पत्रकारितालाई निस्पक्ष ढङ्गले पेशागतरुपमा अघि बढायाैँ र यसरी पत्रकारलाई हेप्ने प्रवृत्तिमा परिवर्तन ल्यायौँ। र, पत्रकारहरुप्रति अपहेलित धारणामा विस्तारै परिवर्तन हुन थाल्यो। पछि हुँदाहुँदा पछिल्लो समयमा म पत्रकार हुँ भन्दाखेरी, गर्व गर्ने वातावरण बन्यो। अनि पत्रकार भनेपछि ए यता आउनुस्, बस्नुस भनेर सम्मानसाथ आफूसँगै राख्ने गरियो।

पहिलो पटक स्नातक गरेर पत्रकारिता सुरु गर्ने नेपालमा हामी (वल्लभ, वटुक र म) नै थियौँ । हामी पढेलेखेका पत्रकार थियौँ । हामीले पत्रकारिता सुरु गरेपछि नै पत्रकारिताको मूल्य र मान्यता कायम भएको हो भन्दा अत्युक्ति नहोला। सुरुमा मैले पत्रकारिता गर्दा मासिक ५२ रुपैयाँ तलब थियो।

मैले स्कुल काठमाडौंको शान्ति निकुन्जमा पढेको हो। त्यसपछि त्रिचन्द्र कलेजमा पढेँ। त्यो बेला नेपालमा युनिभर्सिटी नभएकाले मैले भारतस्थित पटना यूनिभर्सिटीबाट पोल्टिकल साइन्समा स्नातक गरेको हो।

मैले सुरुमा सगरमाथा संवाद समितिमा काम गरेको हुँ । र, पछि सगरमाथा संवाद समिति र नेपाल संवाद समिति (२०१७ साल) मर्ज भएर राष्ट्रिय संवाद समिति बनेको हो, त्यसैलाई पछि नयाँ ऐन अन्तर्गत राष्ट्रिय समाचार समिति (रासस) भनी २०१८ साल फागुन ७ गते स्थापना गरिएको हो।

सगरमाथा संवाद समितिमा काम गर्दागर्दै पछि मर्ज भएर हामीले राष्ट्रिय संवाद समितिमा विशेष प्रतिनिधको रुपमा सेवा गर्याैँ। त्यतिबेला हामी शुद्ध प्रजातन्त्रवादी पत्रकार थियौँ । र, प्रजातन्त्रवादीले पञ्चायतलाई समर्थन गर्ने कुरै भएन।

नेपालमा २०१७ सालमा ‘कु’ हुँदा अलि सक्रिय युवाहरुलाई राजनीतिमा लागेकोले अहिले पनि सक्रिय भएको होला भनेर लगेर थुनिहाल्ने चलन थियो।  त्यसबेला विपी कोइरालालाई समात्दाखेरी मेरो साथी(पत्रकार वल्लभ) पनि त्यही ठाउँमा थियो, त्यसवखत ऊ त्यहांबाट उम्किन सफल भएर ४,५ महिनापछि पक्राउ पर्यो र ५/६ महिनासम्म जेल बस्यो । तर, म भने कुनै दिन पनि जेलमा परिन।

त्यतिबेला हामी जस्ता सक्रिय युवा पत्रकारमा नलागेको भए समातेर जेलमा लगेर थुनिहाल्ने गर्थे । राजनीतिमा सक्रिय हुनसक्ने भएर होला त्यसो गर्थे। त्यसबेला पार्टीहरु प्रतिबन्धित भएकाले खुल्ला रुपमा काम गर्न नपाइने, त्यसैले पत्रकारिता क्षेत्रमा लाग्नाले प्रशासनको आंखाबाट अलि टाढा भयौं । र, यसरी हामीले सत्य तथ्य सूचन प्रसारण गरी जनचेतना जगाउने कार्यमा पत्रकारिता पेशालाई उपयोग गर्यौंं । खुल्ला रुपमा काम गर्न पनि पत्रकारितामा लागेपछि मात्रै गर्न सकिने अवस्था थियो र हामीले यही क्षेत्र रोज्यौँ।

त्यसबेला अलि सक्रिय युवाहरुलाई वडा हामिकलगायत अन्य जागीरको प्रलोभन दिइन्थ्यो । त्यस्ता प्रस्ताव स्वीकारेन भने यिनीहरु राजनीतिमा सक्रिय छन् भनेर थुनिहाल्ने गरिन्थ्यो। मैले सुरुमा मदरल्याण्ड अंग्रेजी दैनिकमा काम गरे। त्यसबेला नेपालमा दुई वटा अंग्रेजी पत्रिका प्रकाशित हुन्थे, एउटा गोपालदास श्रेष्ठको कमनर र मणिन्द्र श्रेष्ठको मदरल्याण्ड। म मदरल्याण्डमा काम गर्दा मेरो उमेर सायद २० वर्षको थियो होला । त्यहाँ चार वर्ष काम गरेँ।

रा.स.स. मा त्यहाँका अध्यक्ष रामराज पौड्यालसँग मतभेद भएपछि हामी दुबैले सो जागीर छोड्यौँ र मैले फ्रान्सको सरकारी न्यूज एजेन्सी एएफपी (एजेन्सी फ्रान्स प्रेस)मा नेपालस्थित सम्वाददाता भएर काम गरे । गणेशवल्लभले पछि जन्मभूमि पत्रिका निकाले । ए.एफ.पी.मा समाचार पठाउँदा भारतीय दूतावासमा कागजमा हातले लेखेर दिन्थें अनि उनीहरुले बम्बई पठाउथ्यो र बम्बईबाट मेरो अफिस दिल्लीमा पठाइदिन्थ्यो । त्यसले गर्दा पनि इण्डियनहरुले त्यतिबेला मैले लेखेको समाचारलाई ढिलो पठाउने, सेन्सर गर्ने आदि गर्थे।

अनि मैले राजासँग दर्शन पाउनासाथ यो आधुनिक सोसाइटीमा हवाइजहाजलाई त कसैको रोकटोक छैन भने यो हवाइजहाज जस्तो आकाशबाट जाने त हो नि, त्यसैले हाम्रो आफ्नै एउटा स्वतन्त्र न्यूज एजेन्सी चाहियो भन्न थाले।

नेपालमा आफ्नै न्यूज एजेन्सी नभएकाले विदेशी समाचार लेख्दा इण्डियाले जे लेख्छ त्यो मात्रै हामी कहाँ प्रचार हुने गर्थ्याे । किनभने इण्डियाको हिन्दुस्तान समाचार र पीटीआईको समाचारलाई लेख्दाखेरी इण्डिया र चाइना दुबैको झैझगडामा इण्डियापक्षीय समाचारमात्रै हाम्रोमा जाने भयो।

त्यसकारण हाम्रो पनि आफ्नो न्यूज एजेन्सी चाहियो भनी मैले भनेको थिएँ। त्यहीबेला नेपालका ठूलाबडाले विचार गर्यो होला । मैले भनेकै कुरालाई मान्यता दिएको भन्न त मिल्दैन तर हामी पत्रकारले आफ्नै न्यूज एजेन्सी चाहिन्छ भनेर केही आइडिया चाहीँ राजा महेन्द्रको ब्रेनमा हालिदिएका थियौँ । शायद त्यसैले पन्चायतको सुरुमा नै ०१८ सालतिर रा.स.स.को स्थापना गरियो।

सन् १९६१–६६ तिर इण्डिया र चाइनाको बोर्डरमा झगडा हुँदा इण्डियन न्यूज पेपर हिन्दुस्तानले जहिले पनि चाइना विरोधी समाचार लेख्थ्यो र त्यो समाचार नेपालको प्रेसमा पनि छापिन्थ्यो । अनि चाइना जहिले पनि रिसाउथ्यो, इण्डियन भर्सनमात्रै गर्यो हाम्रो सत्यतथ्य दिएन भनेर।

२०१८ सालतिर होला, म राससबाट नेपाली प्रेसको प्रतिनिधित्व भएर जनकपुरमा राजा महेन्द्रको भ्रमणमा गएको थिए । त्यसबेला राजामाथि बम फालियो र संयोगवस म पनि त्यही थिए । त्यो बम कांग्रेसका एकजना कार्यकर्ताले फालेको थियो।

अनि मैले त्यहाँबाट फर्कनुभन्दा एकदिन अगाडि राजालाई अंग्रेजीबाट प्रश्न गरे, तपाईमाथि आक्रमण गर्न खोजियो, कस्तो लाग्यो भनेर । उहाँले नेपालीमा उत्तर दिदैँ भन्नुभयो वास्तवमा मलाई केही लागेन बरु मेरो पछाडी जिपमा बसेर आउने तुलसी गिरी सिटबाट तल झर्यो, अनि यसो उठाएर किन डराएको भनेर सिटमा राखे ।

राजा महेन्द्र जहाँ जाँदा पनि मलाई रातो झण्डा या कालो झण्डा देखाओस्, त्यसको मलाई चिन्ता छैन भन्थे । उनले त्यसबेला जनताको सेवाको लागि अगाडि बढेकोले म आफ्नो परवाह गर्दिन भनेका थिए। मेरा, यी अविस्मरणीय घटनाहरु समेटेर एउटा किताब लेख्ने विचार छ, हेरौं अब के हुन्छ।

मैले एएफपीमा करिब ३८ वर्ष काम गरे । पहिला नेपालमा गोरखापत्र एउटा मात्रै पत्रिका थियो । पछि विस्तारै पत्रकारिताको विकास हुनथाल्यो । एएफपी छोड्दा करिब ३८ वर्षको सेवागरेवापत ९८ लाख रुपैयाँ जति पाएको थिए । त्यो पैसा पाएको केही दिनमै म अमेरिकामा जांदा त्यहां हर्टअट्याक भएर इमर्जेन्सी अप्रेसन गर्नु पर्यो र त्यसमा ९६ लाख रुपैयाँ जति खर्च भयो । त्यसवखत इमर्जेन्सीमा ओपन हर्ट सर्जरी गर्नुपर्यो।

मैले ५२ रुपैयाँ मासिक तलबबाट पत्रकारिता सुरु गरेको हो । त्यसबेला सगरमाथा सम्वादको आम्दानी नै नभएकाले हामी पत्रकारलाई ३ महिनासम्म तलबै दिइएन । यसैवीच बिबिसिमा पनि १८ वर्ष काम गरे । त्यहाँ मलाई राससको अनुभवले गर्दा लिएको हो । त्यहाँ म राजनीतिक समाचार लेख्थेँ।

राससमा काम गर्दा एकदिन महिनाको ५–५ रुपैयाँ कटाउने गरी राससले ७५ रुपैयाँ सापटी दियो र त्यो पैसाले साइकल किनेको थिए । त्यसबेला साइकल चढ्दा हात्ती नै चढे झै लागेर दङ्ग पर्थे ।

विदेशबाट भिआइपी आउनासाथ मलाई बोलाइहालिन्थ्यो र भेट्न गइहाल्थे । दरबारले पनि राजा विरोधी ठानेता पनि हामीलाई बाध्य भएर समाचार लेख्नुपर्ने भएकाले बोलाउथ्यो । हामी(पत्रकार)लाई प्रजातन्त्रपक्षधर भएकाले राजा विरोधी भन्थे । तर, हामीले कहिले पनि कसैको झण्डा उठाउने वा विरोध गर्ने गरेनौं ।

त्यसवखत मैले राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र सबैसँग भेट्ने मौका पाएं । वीरेन्द्र ज्यादै नै उदारवादी थिए, जे सोधे पनि हाँसेर जवाफ दिन्थे । उनीसँग फ्राङ्क्ली कुरा गर्न पाइन्थ्यो । तर, महेन्द्र खुल्ला हृदयका थिएनन्, उनी त्यति बोल्दैनन थिए, हाम्रो कुरामात्र धेरै सुन्थे, आफू भने चूपचाप बसिरहन्थे ।

राजा वीरेन्द्रको वंश नाश हुने गरी दरवार हत्याकाण्ड हुँदा मैले तुरुन्तै थाहा पाएको थिए र त्यतिनै बेला बिबिसिलाई समाचार पठाएको थिए । वास्तवमा अन्तरराष्टिय जगतमा राजाको हत्याको पहिलो न्यूज ब्रेक गर्ने म नै थिए । त्यसबेला संसारमा बिबिसि, एएफपीमा दिइएको समाचारलाई आधार मानेर राजाको हत्या भएको समाचार अरु मिडियामा पनि प्रसारण भएको थियो ।

दरबारमा धेरैजनासँग चिनजान र राम्रो सम्बन्ध भएकाले मैले हत्याको समाचार तुरुन्तै थाहा पाएको थिए । उनीहरुले विश्वास गरेर घटना मलाई बताएका थिए र मैले मेरो आफ्नो रिस्कमा राजपरिवारको हत्या भयो भनेर समाचार पठाए । किनभने औपचारिक तवरले समाचारको पुष्टि भैसकेको थिएन ।
त्यसबेला हामी पत्रकारहरु जहाँ गएपनि हाम्रो लागि ढोका खुल्ला हुन्थ्यो । म लगायत मेरा साथीहरु विपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी जस्ता नेताहरुसंग बरोबर भेट हुन्थ्यो र उनीहरुको अन्तर्वार्ता पनि गर्ने मौका मिलेको थियो ।

प्रधानमन्त्री मनमोहन अधिकारीले ‘राजतन्त्र अब केही समयको लागि मात्र हो’ भनेको कुरालाई बिबिसिमा समाचार बनाएर पठाएको थिए । त्यो समाचार आएपछि पछि मनमोहनले सच्याउँदै मैले केही समयको लागि भनेको होइन आउदा दिनहरुमा भनेको भनेर सच्याए । मनमोहनले मलाई त्यसबेला फटाहा बनायो । त्यो कुराले गर्दा झण्डै मेरो जागीर नै गएन ।

बिपी सज्जन, निडर तथा स्पष्टवक्ता नेता थिए । मेरो ३८ वर्षको पत्रकारितामा बिपी जस्तो निष्पक्ष, स्वतन्त्र र स्पष्ट बोल्ने पोल्टिसियन मैले अरु देखिन । उसले बोलेपछि बोल्यो, बोल्यो । बोलेपछि उसको शब्दहरु परिवर्तन हुँदैन थियो । विपी त्यसै महान् भएको होइन नि ।

विपीको मैले धेरै अन्तरर्वार्ताहरु गरेको छु । जुनसुकै प्रेस कन्फ्रेन्स गर्दा बिपीले म नगई सुरु नै गर्दैन थिए । गणशेमान चाहीँ कसैको परवाह नै नगरी निर्धक्क बोल्ने नेता थिए ।
हामी केही सिनियर पत्रकारले नेपालमा स्वतन्त्रता, जनताको फ्रिडम र डेमोक्रासीलाई प्रोमोट गर्न धेरै काम गरेका थियौं । तर अहिले आएर मेरो प्रेस कार्ड रिन्यू गर्नलाई लोकल पेपरमा तीन वटा आर्टिकल लेख्नु पर्छ रे । भनेपछि यो हामीमाथि एकदमै अन्याय हो । अमेरिकामा छोरा भएकाले म अमेरिका आउजाउ गरिराख्छु । त्यो भएर पत्रकार भएको कार्ड रिन्यू गर्न खोजेको हो ।

अब प्रेस कार्डको लागि ३ वटा आर्टिकल चाहिन्छ रे । हामी सिंगो पत्रकार भएर प्रजातन्त्रको लागि लड्यौ । प्रजातन्त्रले गर्दा त्यसबखत राजतन्त्र बच्यो । अब आएर हामीहरुको लागि यो स्थानीय पत्रिकामा लेखेर आफ्नो पेशा बचाउनु, राम्रो भएन नि ।

पत्रकारिताले गर्दा मैले केही सम्मानहरु पनि पाएको छु । पत्रकार भएर काम गर्दा बेलायत, अमेरिका, जर्मनी, जापान, फ्रान्सलगायत देशहरु घुमेको छु ।
वास्तवमा माउन्टेरिङ्ग टुरिजममा पनि मेरो ठूलो देन छ । नेपाललाई विदेशमा चिनाउने एउटा माउन्टेन टुरिजम हो, जुन मैले पत्रकारिताको माध्यमले काम गरे । हाम्रो पालाको पत्रकारिता लगाम लगाएका घोडाहरु जस्तै थियो । तर, अहिले आएर सबैचिज फ्रि (खुल्ला) भयो । अहिलेका पत्रकारहरु त धेरै भाग्यमानी।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो