नेपाल सरकारलाई अमेरिकामा धन्यवाद, भेदभाव नगर्न माग

डिसी नेपाल
२५ वैशाख २०८३ १९:४४

न्यूयोर्क। अमेरिकाको ओहायोमा एसोसिएशन अफ नेपाली ओरिजिन(एएनओ) ले एक कार्यक्रमको आयोजना गरी नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।

नेपाली मूलका नागरिकहरुलाई विमानास्थलका प्रस्थान र आगमन कक्षमा विशेष व्यबस्था गरिदिएको भन्दै एएनओले शनिवार ओहायो राज्यमा बसोवास गर्ने नेपालीहरुको बृहत भेलामा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको हो।

एएनओका अध्यक्ष डिल्ली अधिकारीले हस्ताक्षर गरी नेपाल सरकारलाई दिएको धन्यवाद पत्र अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरदराज आरणलाई सो समारोहमा हस्तान्तरण गरे।

धन्यवाद पत्र ग्रहण गर्दै कार्यवाहक राजदूत आरणले सरकारको कार्यको सह्राना गर्दै धन्यवाद पत्र दिएकोमा एएनओप्रति आभार व्यक्त गरे। उनले सरकारको कामको खुलेर प्रसंसा गरेको पत्र पाउंदा हर्षित भएको पनि बताए।

पत्र हस्तान्तरण गर्दै एएनओ अध्यक्ष अधिकारीले नेपाली मूलका नागरिकहरुलाई नेपाल सरकारले भावनात्मकरुपले जोड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा अध्यागमन डेस्कको स्थापना गरी कार्य प्रारम्भ गरेकोमा विश्वभरिका नेपालीहरु उत्साहित भएको बताए।

एएनओको निवेदनका आधारमा गत चैत्र ८ गते सरकारले नेपाली मूलका विदेशी नागरिककका लागि विशेष व्यवस्था गर्दै डेस्क स्थापना गरेको थियो। सयौं स्थानीय नेपाली मूलका मानिसहरुको उपस्थितिमा आयोजित सो कार्यक्रममा एएनओका माहासचिव चूडामणि भट्टराईले धन्यवाद पत्र बाचन गरेर सुनाएका थिए।

एएनओको धन्यवाद पत्रमा भनिएको छ, “नेपाल सरकारले गत चैत्र ८ गते गरेको ऐतिहासिक निर्णयअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा नेपाली मूलका नागरिकहरूका लागि छुटै डेस्क स्थापना गरिएकोमा हामी अत्यन्तै हर्षित र गौरवान्वित भएका छौं। एएनओको विशेष पहल र निवेदनलाई हृदयंगम गरी सरकारले चालेको यो कदमले विश्वभर छरिएर रहेका नेपालीमूलका समुदायमा मातृ तथा पितृभूमिप्रतिको भरोसा र अपनत्वलाई थप प्रगाढ बनाएको छ। हाम्रो बुझाइमा यो सम्बन्ध केवल भौगोलिक सीमा वा राहदानीमा मात्र सीमित हुँदैन । यो त हाम्रो पुर्खाको इतिहास, हाम्रो पहिचान र भावनात्मक अस्तित्वसँग जोडिएको अटुटबन्धन हो। विमानस्थलमा पाइला टेक्नासाथ आफ्नै देशले गरेको यो न्यानो स्वागत र सम्मानले हामीलाई केवल सुविधामात्र दिएको छैन, बरु हामी जहाँ भएपनि, नेपाल हाम्रो साथमा छ भन्ने आत्मीय अनुभूतिसमेत दिलाएको छ। नेपाली मूललाई नेपालसँग जोड्ने हाम्रो साझा अभियानमा यो निर्णयले नयाँ ऊर्जा र प्रेरणा प्रदान गरेको छ। यसले भावी पुस्तालाई समेत आफ्नो जरा र माटोप्रति गर्व गर्ने वातावरण सिर्जना गर्ने छ भन्ने हाम्रो विश्वास छ ।”

कार्यक्रममा हाल नेपालमा छलफलमा रहेको गैरआवासीय नेपालीसम्बन्धी ऐन २०८२ को पहिलो मस्यौदामा नेपाली मूलका मानिसहरुबीच भेदभाव गरेकोप्रति एएनओले नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो।

अध्यक्ष अधिकारीले ध्यानाकर्षण पत्र कार्यवाहक राजदूतलाई हस्तान्तरण गर्दै संसारको जुन मुलुकमा जन्मे पनि विश्वभरका नेपाली मूलका मानिसहरुलाई नेपाली मूलको परिचय पत्र नेपाल सरकारले भेदभाव नगरी दिनुपर्ने बताए।

उनले सार्क मुलुकभित्र जन्मेका लाई पनि यदि तेस्रो देशको नागरिक भइसकेको भए तिनले नेपाली मूल हुन पाउनु पर्ने माग गरे। मस्यौदामा यो कुरा उल्लेख गरिएको छैन। सरकारका तर्फबाट कार्यवाहक राजदूत आरणले एएनओको चासोलाई नेपाल सरकारसमक्ष पुर्याउने बताए।

उनले विश्वभरका नेपाली समेट्ने एएनओको अभियानको प्रसंसा गरेका थिए। एएनओ अमेरिकाका सचिव विवेक पौडेलले स्वागत गरेको तथा प्रवक्ता केशव आचार्यले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा इन्ट्रा फाउण्डेसनको गायन र नृत्य कक्षाका विद्यार्थीहरुले नेपाली सांस्कृतिक नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *