प्रदेश १ का नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले लिए शपथ

डिसी नेपाल
३० भदौ २०७८ १८:४५

काठमाडौं । प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । पार्टी विभाजन भई सरकार अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले बुधबार थप दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई आठ सदस्यीय बनाएका हुन् । मुख्यमन्त्रीले संखुवासभाका सांसद तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना मन्त्री, झापाका सांसद हीराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद बिस्तारका क्रममा सोलुखुम्बुका सांसद उत्तमकुमार वस्नेत उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, मोरङका सांसद ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङकै सांसद लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रिद्वयलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री आचार्यले शपथ गराए।

भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका भीम आचार्यले पहिलो पटक भदौ ११ गते दुई जना मन्त्रीहरुलाई मन्त्रिपरिषदमा सामेल गराएका थिए । ताप्लेजुङका सांसद बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तेह्रथुमका सांसद लछुमत तिवारीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेको झण्डै २० दिन मुख्यमन्त्री आचार्यले दोश्रो पटक मन्त्रिपरिषद बिस्तार गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *