भोलिदेखि नयाँ नोट साट्न पाइने

डिसी नेपाल
३ असोज २०७८ १६:११

काठमाडौं । भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि साट्न पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट नयाँ नोट साट्न पाउने छन् । सर्वसाधारणले ५, १०, २० र १०० रुपैयाँ साट्न पाउनेछन् । यसवर्ष दशैं तिहारका लागि करिब ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याउने भएको छ ।

यसबाहेक कोभिड–१९ को समयमा भिडभाड कम होस् भनेर वाणिज्य बैंकहरूबाट पनि आफ्ना ग्राहकलाई नयाँ नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए । “सबै वाणिज्य बैंकलाई आफ्ना ग्राहकलाई नयाँ नोट साट्न निर्देशन दिएका छौँ,” नेपालले बाह्रखरीसँग भने, “सबै वाणिज्य बैंकलाई काठमाडौं उपत्यकामा कम्तीमा १० वटा शाखाबाट नयाँ नोट सटही सुविधा उपलब्ध गराउन पत्राचार गरेका छौँ ।”

वाणिज्य बैंकहरूले नयाँ नोट सटहीको लागि एक चरण बैंकहरूलाई उपलब्ध गराइसकेको र सटही गर्दा नपुगेमा पुनः राष्ट्र बैंकबाट उपलब्ध गराइने उनले जानकारी दिए । अहिले राष्ट्र बैंकमा ठूला र साना दरका गरी २०० अर्ब नयाँ नोट रहेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *