नेपालको संघीयता कार्यान्वयन प्रशंसनीय : उपाध्यक्ष हार्टविङ्ग (तस्वीरसहित)
काठमाडौं । विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्याक्ष हार्टविङ्गले नेपालमा संघीयता कार्यान्वयन प्रशंसनीय भएको बताएका छन्। धुलिखेलमा भएको नेपालमा संघीयता कार्यान्वयन सम्बन्धी उच्चस्तरीय छलफलमा भाग लिदै उपाध्यक्ष हार्टविङ्गले नेपालमा संघीयताको कार्यान्वयनको सफलतामा आफु खुशी भएको बताएका छन्।
उनले भने, ‘संघीयता कार्यान्वयन सहज त छैन । केवल पाँच वर्षको सफलता प्रशंसनिय छ । समावेशिता, शशक्तिकरण र विकासको लागि संघियताको महत्व छ । नेपालमा प्राप्त नतिजाबाट सन्तुष्ट छौं।’
भूकम्पले भत्काएका बेला नेपालको भ्रमण गरेको स्मरण गर्दै उनले अहिले सबैको छानो टिनको भइसकेको बताए। उनले भने, ‘म खुशी छु । नागरिकहरु विस्तारै सक्षम र समृद्ध बन्दैछन् । यसमा संघीयताको अभ्यासले महत्वपूर्ण भूमिका खेलेको छ।’
उनी आफू संघीयताको फ्यान भएको बताउँछन्। जर्मनीको उदाहरण दिँदै उनले आफूले पनि मतदान गरेको बताए। उनले भने, ‘जर्मनमा पनि संघीयताको राम्रो अभ्यास छ। अहिले निर्वाचन भइरहेको छ। मैले पनि मतदान गरेँ।’
संघीयताले नागरिक र सरकारबीचको सम्बन्ध अत्यन्तै राम्रो गराउने उनको धारणा छ। उनले भने, ‘समग्रमा विकासको आधारभूत आवश्यक्ता नेपालीको चाहाना रहेको छ।’
संघीयतालाई दीर्घकालिन रुपमा लैजान विश्व बैकको सकारात्मक धारणा रहेको उनको भनाइ छ। उनले कोभिड तथा भूकम्प जस्ता महाविपत्तिमा नेपाल र नेपालीहरुले खेलेको भूमिका र संघीयताको कार्यान्वयन नेपाली जनताले सहज महसुस गर्नु पनि प्रशंसनीय रहेको बताए।
अन्य मुलुकमा जस्तै नेपालमा पनि सहयोग गर्न विश्व बैंक तयार रहेको बताउँदै उनले प्रदेश र स्थानीय तहलाई संघको सहयोग आवश्यक रहेको बताए। ‘विश्व बैंक नेपाल सरकारलाई निरन्तर सहयोग गर्न तयार रहेको घोषणा गर्दछु,’ उनले भने।
छलफलमा नेपाल सरकारका सहसचिव एवं प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका निर्देशक, संघीयताका विज्ञ डा.गोपी खनालले संघीयता कार्यान्वयनमा नेपालले फड्को मारेको बताउँदै स्थानीय सरकारको क्षमता विकास आवश्यक भएकाले नेपालका तीनै तहमा पूर्वाधार निर्माणमा विश्व बैकले सहयोग बढाउन अनुरोधसमेत गरे।
अर्थ मन्त्रालयका उप सचिव प्रेम उपाध्यायले संघीयताको कार्यान्वयनसँगै तीनै तहका सरकारलाई एउटै सुत्रमार्फत सुशासन कायम राख्न सकिएको बताए।
नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले तीन तहका सरकार मध्ये स्थानीय तहका सरकार नागरिकहरुको दैनिक सेवामा कृयाशिल भएकाले संघीयताको सफल कार्यान्वयन भईरहेको बताए।
उनले बालमैत्री नगर, एक घर एक घारा, कोभिड महामारीमा नागरिकहरुको सुरक्षा, गरिवी निवारणमा क्षमता अभिबृद्धी, नागरिकहरुको सेवामा डिजिटल प्रविधि, निशुल्क एम्बुलेन्स सेवा, परिषद्हरु गठन गरी नागरिकहरुलाई सेवा प्रवाह सहज बनाएको बताए।





















डिसी नेपाल








Facebook Comment