धुलिखेल नगरपालिकाद्वारा ९८ प्रतिशत नागरिकलाई पूर्ण खोप
काठमाडौं । धुलिखेल नगरपालिकाले ९८ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको पूर्ण खोप लगाएको छ। नगर प्रमुख अशोक कुमार ब्याञ्जुले पहिलो डोजको खोप शतप्रतिशत नै पुगेको र दोस्रो मात्राको खोप दुई प्रतिशलाई लगाउन बाँकी रहेको डिसी नेपाललाई जानकारी दिए।
प्रमुख ब्याञ्जुले भने, ‘हाम्रो नगरपालिका बाहेक नजिकैका पालिकाहरुका नागरिकलाई पनि खोप लगाएका छौं। धुलिखेल नगरपालिका भित्र पर्ने सम्पूर्ण कर्मचारी, प्रहरी, सेना, नजिकैको पालिकाका नागरिकसहित जम्मा ३२ हजार जनालाई खोप लगाएका छौं।’
कोरोना महामारीमा रोकथाम तथा नियन्त्रणको लागि उदाहरणीय भूमिका निर्वाह गरेको धुलिखेलले सम्पूण नागरिकमा निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्दै आएको छ। यस्तै, शव बहान पनि निःशुल्क उपलब्ध गराउँदै आएको नगर प्रमुख ब्याञ्जुले जानकारी दिए।
‘कोरोनाको संक्रमण भएका नागरिकको ज्यान जोगाउने हरसम्भव प्रयास गर्छौ,’ नगरप्रमुख ब्याञ्जुले भने, ‘गर्दा गर्दै पनि कोरोनाबाट ज्यान गुमेको अवस्थामा मृतकका परिवारलाई १५ हजार राहत स्वरुप दिँदै पनि आएका छौं।’
नगरपालिकाका नागरिकप्रति सधै नगरपालिका प्रतिबद्ध रहेको बताउँदै ब्याञ्जुले स्वस्थ्य सिटिको अवधारणाले आउने महामारी र अन्य रोगहरुबाट समेत नगरका नागरिकलाई सुरक्षित राख्ने कार्यक्रमको शुभारम्भ गरिएको बताए।
काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम समेत रहेको धुलिखेलमा जम्मा २७ हजार जनसंख्या रहेको छ। नगरप्रमुख ब्याञ्जुले कोरोना विरुद्धको पूर्ण खोप लगाउने पहिलो नगरपालिका भए पनि आधिकारीकताका लागि काम भइरहेको जानकारी दिए।
गत माघ महिनामा तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप अभियानको सुभारम्भ गरेका थिए। यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले बैशाखसम्म सम्पूर्ण नागरिकलाई पूर्ण खोप लगाउने बताउँदै आएका छन्।







डिसी नेपाल








Facebook Comment