कांग्रेसले सुर्खेतसहित थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्यायो

डिसी नेपाल
१० असोज २०७८ ९:०२
64
Shares

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद कायमै रहेका १३ जिल्लामध्ये ५ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ। सदस्यता छानविन कार्यदलले नाम दिएसँगै केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा थप ५ जिल्लाको नामावली प्रकाशित गरेको हो।

कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिरहाको क्रियाशील सदस्यताको सूची शनिबार नै प्रकाशित गरिएको जानकारी दिए। ‘५ जिल्लाको क्रियाशील सदस्यताको सूची हिजै प्राकाशित भएर हिजै वेबसाइटमा प्रकाकित गरिसकेका छौँ’, श्रेष्ठले भने, ‘हिमाली जिल्ला भएकाले डोल्पाको निर्वाचन अधिकृतको टोली अहिले सामान बुझेर आजै त्यता जाने तयारीमा छ।’

क्रियाशील सदस्यको सूची प्रकाशित नहुँदा यी जिल्लामा कांग्रेसले वडा तहकै अधिवेशन गर्न पाएको थिएन। प्रदेश २ का सिरहा र महोत्तरीको क्रियाशील सदस्यताको टुंगो लागेपनि सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र पर्साको भने सदस्यता टुंगो लागिसकेको छैन। यस्तै रसुवा, रुपन्देही र कैलालीमा पनि सदस्यता विवाद टुंगिएको छैन।

१८ भदौ र ५ असोजमा वडा अधिवेशन तोके पनि यी जिल्लामा वडा अधिवेशन हुन सकेको थिएन । अब क्रियाशील सदस्ताको सूची सार्वजनिक भएसँगै वडा अधिवेशन गर्ने बाटो खुलेको छ। निर्वाचन समितिका एक सदस्यका अनुसार सम्भवत् आजै बाँकी जिल्लाको पनि क्रियाशील सदस्यता विवाद टुंगिने छ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले पटकपटक सहमति गरी क्रियाशील सदस्यता विवाद टुंग्याइरहेका छन्। शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले छिट्टै क्रियाशील सदस्यताको सूची प्रकाशित गरेर दशैँअगाडि नै वडा र पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो।

साथै वडा अधिवेशन भएका जिल्लाहरूमा शनिबारदेखि पालिका अधिवेशन भएका छन् । २१ वटा हिमाली जिल्लामा कांग्रेसले प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र हुँदै १८ असोज भित्र जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.