मौलिकताले जगाएको बन्दीपुरको पर्यटन

डिसी नेपाल
१२ असोज २०७८ १०:५८

तनहुँ। भक्तपुरे शैलीमा बनेका इँट्टाका घर। बुट्टा भरेका आँखीझ्याल। कलाले सिँगारेका टुँडाल। शान्त बजार, त्यहीँ बजारको बीचमा ढुंगाको छपनीले चिठेको बाटो, जहाँ मोटर गाडी गुडाउन बन्देज छ। भीमसेनको मन्दिर।

थानीमाई, खड्गदेवी। तीनधारेको चिसो पानी। एक हजार ३० मिटरको उचाइमा फराकिलो टुँडिखेल, जहाँबाट उत्तरतर्फ फर्कंदा आँखै अगाडि देखिन्छन् अन्नपूर्ण, धौलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ व६ा हिम चुचुरा।

मर्स्याङ्दी नदीले बनाएको सुन्दर उपत्यका पनि। हिम चुचुराबाट आएको हावाको झोँक्काले मुटुमा स्पर्श गर्छ र फेरि आउन निम्तो दिन्छ। यिनै विशेषताले २५० वर्षे लामो इतिहासमा पहिले व्यापारिक गढी कहलिएको बन्दीपुर अहिले पर्यटकीय शहर बनेको छ। घुम्न आउने घुमन्तेले यो शहरलाई उपमा दिए ‘पहाडकी रानी बन्दीपुर,’ जुन विश्वभर प्रख्यात छ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण थाल्दै थिए। गोरखाबाट मर्स्याङ्दी पूर्वतर्फका राज्यमा उनको बहादुरी हावी हुँदै गयो । पश्चिमतर्फका राज्य पनि कब्जा गर्दै गए । काठमाडौं आक्रमणका बेला बन्दीपुर उक्लिएछन् भक्तपुरे नेवारहरू।

भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दीपुरलाई थातथलो बनाए । नेवारी कला, संस्कृति र श्रमले सिँगारे बन्दीपुरलाई। नेवारहरूले जानेकै व्यापार गर्न, बन्दीपुरमा पनि सुरु भयो व्यापारको खेती। डाँडाकाँडामा कपासको खेती हुन थाल्यो। इस्ट इन्डिया कम्पनीसित बन्दीपुरे नेवारले सम्पर्क राखे। वीरगंजको छोटी अड्डा हुँदै माल सामान ल्याएर ल्याएर बेच्न थाले, नुनदेखि सुनसम्म।

तनहुँ, गोरखा, धादिङ, लम्जुङ, मनाङ, कास्कीको मुख्य बजार थियो रे ऊ बेला बन्दीपुर। बाग्लुङको बुर्तीबाङ हुँदै रुकुम, रोल्पासम्म पनि बन्दीपुर हुँदै मालसामान लैजान्थे रे ! रगतमै व्यापार भएका नेवारहरूले बन्दीपुरलाई चम्काए। भारत र तिब्बतलाई जोड्ने व्यापारिक गढीसमेत बनाए बन्दीपुरलाई।

बन्दीपुरको इतिहासबारे जानकार मणिकुमार प्रधान सुनाउँछन्, ‘भारतबाट नुनदेखि सुनसम्म ल्याएर बेच्थे । कस्तुरी, बोझपत्र, बाघका छाला, भालुका पित्त तिब्बत मनाङतिरबाट ल्याउने गरेको सुनिन्थ्यो।’

प्रधानका अनुसार व्यापारी र भरियाको लावालस्कर हुन्थ्यो बन्दीपुरमा। ‘बटौलीतिरको बाटो तताएका र माल सामान बोकेर फर्किएकाको दुई लाइन हुन्थ्यो । व्यापारी र भरियाको लाइनबाट जो निस्किन्थ्यो, ऊ दुई दिन ढिला हुन्थ्यो रे’, मणिकुमार भन्छन्।

भारततिर गल्लासँग छाती नपाउन जानेहरू पनि बन्दीपुरे उकालो चढेर बटौलीतर्फ झर्थे। व्यापारीका भारी बोक्नेहरू बन्दीपुर नजिकका धरमपानी, छिम्कालेक, केशवटार, सेतीपारि छिपछिपेका हुन्थे। मनाङतिरबाट बन्दीपुर किनबेच गर्न आउजाउ गर्नेहरू घोडा, खच्चड प्रयोग गर्दा रहेछन् । घोडा खच्चडको ताँती हुन्थ्यो रे त्यस बेला।

बन्दीपुर चम्किरहँदा दक्षिणको नारायणगढको अस्तित्व थिएन्। बन्दीपुरे हिउँदमा व्यापार गर्न नारायणगढ ओर्लिन्थे । बर्खामा औलोको भयंकर डरले फेरि बन्दीपुर उक्लन्थे । अहिलेको गण्डकी प्रदेशको राजधानी पोखरा बन्दीपुरको दाँजोमा थिएन, पुगेन।

जब व्यापारको साम्राज्य भत्कियो

चम्किरहेको बन्दीपुरको व्यापारिक साम्राज्य २०२५ सालपछि भने भत्कियो। बन्दीपुरमा रहेको सदरमुकाम सबैलाई पायक पर्ने गरी दमौलीमा सर्‍यो। बन्दीपुरको व्यापार पनि ओराली लाग्यो। ठूला व्यापारी चितवनतिर झरे।

साना व्यापारी डुम्रे, विमलनगर, दमौली। व्यापारी मात्र होइन, काम गरेर गुजारा चलाउनुपर्नेले पनि थातथलोलाई चटक्कै माया मार्नुपर्ने बाध्यता आइपर्‍यो।

२०२५ सालपछि एउटा उखान पनि बनेछ ‘अब डाँडा र राणाका दिन गए।’ जहानियाँ राणा शासनको अन्त्य त पहिल्यै भइसकेको थियो। राणाहरू कमजोर हुँदै थिए। डाँडाको व्यापारको साम्राज्य पनि भत्किएको थियो।

भारत र तिब्बत (भोट)लाई जोड्ने व्यापारिक गढी बन्दीपुर बजारको व्यापार पनि ओरालो लाग्यो। फाँटहरूमा भने व्यपारको चक्र फस्टाउन थाल्यो।

एकातिर सदमुकाम सरेको थियो, अर्कोतिर २०२६ सालमा पृथ्वी राजमार्गको रेखांकन भएपछि त बन्दीपुरे उकालो चढ्नुपर्ने बाध्यता किन रहन्थ्यो र! गुल्जार बन्दीपुर एक्लियो, सुनसान भयो। ‘त्यसपछि त बन्दीपुर एकदम सुस्त हुँदै गयो। व्यापारमा जिल्लाका मान्छेहरू नआउने। दोस्रो, २६ सालदेखि पृथ्वी राजमार्गको नक्सा रेखांकन भयो र मोटर चल्न थाल्यो। डाँडामा कुनै किसिमको विकास हुन सकेन। त्यस बेला एउटा उखान पनि बन्यो, डाँडा र राणाका दिन गए’, प्रधान भन्छन्।

२०२८ सालपछि त बन्दीपुर भग्नावशेष भुतबंगला जस्तै बन्यो। ९० प्रतिशत मानिस यहाँबाट बसाइँ झरेका थिए। मणिकुमारले सुनाए, ‘यहीँ जन्मिएँ, अब यहीँ मर्छु भन्नेहरूबाहेक सबै झरे।’

बुढापाका घर रुङेर बसे। जो शारीरिक र आर्थिक अवस्थाले बन्दीपुर छाडेर काम गर्न सक्दैनथे, उनीहरूको मात्र पाइला रोकियो। ‘घुमफिर बन्दीपुर’ पुस्तकका लेखक चिजकुमार श्रेष्ठको शब्दलाई सापटी लिने हो भने व्यापारको चक्रले चम्किएको बन्दीपुर ‘मृत शहर’मा परिणत भयो।

त्यसपछिका दुई दशकभन्दा बढी बन्दीपुर एक्लियो। थातथलो छाडेकाले बरु बिरानो शहरलाई आफ्नो बनाए । परिश्रम र पसिना सिञ्चित गर्दै चितवनको नारायणगढ, डुम्रे, विमलनगर, दमौली बजारमा व्यापारको जग बसाले। यी बजारहरू गुल्जार बन्दै थिए, बन्दीपुर भने एक्लो। बन्दीपुरे उकालो चढ्ने चेष्टा कसैले गरेनन्।

२०४९ सालमा काठमाडौं बस्ने बन्दीपुरे जुर्मुराए। पिकनिकको बहानामा भेला भए ८०-८५ जना बन्दीपुर मूल थलो भएकाहरू। बन्दीपुरमा केही गरौँ भनेर भेला हुनलाई कसैले चासो नदिने भएपछि बहाना बनाइयो पिकनिक। मृत शहर बन्दीपुरको सुधारका लागि केही त गर्नुपर्छ भन्ने साझा उद्देश्यले पिकनिकको बहानामा उनीहरू भेला भए। शिक्षा, स्वास्थ्य र पर्यटनलाई केन्द्रित गर्ने गरी चिजकुमार श्रेष्ठको नेतृत्वमा बन्दीपुर सामाजिक विकास समिति गठन भयो।

संस्थाले काठमाडौंमा भएकालाई कम्तीमा वर्षको एक पटक बन्दीपुर पुग्नुपर्ने बाध्यकारी नियम बनायो। ‘बन्दीपुर फर्कंदा हरेकले आफ्नो खुबीअनुसार केही गरौँ भन्ने निर्णय भयो। डाक्टर छ भने नि:शुल्क क्याम्प गर्ने । शिक्षकले पढाउने । महिलाहरूले महिला सशक्तीकरण बढाउने भन्ने थियो’, चिजकुमार सम्झन्छन्।

त्यसपछि पर्यटन फस्टायो

२०५३ सालताका सरकारले पर्यटनको अवधारण बनाएको थियो। त्यसैको आधारमा ‘इको टुरिज्म बन्दीपुर’ प्रोजेक्ट सुरु भयो । ‘इको टुरिज्म बन्दीपुर’ प्रोजेक्टले बन्दीपुरका पुराना पुरातात्त्विक महत्त्वका घरको संरक्षण थालेको चिजकुमार श्रेष्ठ बताउँछन्।

‘त्यस बखतसम्म बजारभित्रै ट्याक्टर, ट्रक, बस सबै जान्थे। पहिला छापिएका ढुंगा पनि खत्तम थिए। बर्खामा हिलैहिलो, हिउँदमा धुलो हुन्थ्यो। त्यस्तो अवस्था भएपछि यहाँ पूरै ढुंगा छाप्ने, गाडीहरू बन्द गर्ने भन्यौँ। सुरुसुरुमा त खुब विरोध सहनुपर्‍यो’, उनी सम्झन्छन्, ‘आफ्नै घर अगाडि आफ्नै गाडी किन ल्याउन नपाउनु भनेर विरोध पनि गरियो । काम गर्न माओवादीको सहारा लिन बाध्य भयौँ।’

सशस्त्र माओवादी जनयुद्ध उकालो लागिरहेको समयमा माओवादीकै साथ लिएपछि विरोध गर्नेहरू शान्त भएको उनले सुनाए। बजारमा ढुंगा छाप्ने त्यो निर्णयले धेरै फरक पार्‍यो। नभए ती घरहरु सबै भत्किन्थे होला। तिनै पुरातात्त्विक महत्त्वका घरको संरक्षण हुँदा विदेशी पर्यटक भित्रन थाले।

हरिकुमार श्रेष्ठको ‘बन्दीपुर पर्यटन अतिथि गृह’ स्तरीय होटलमा गनिन्थ्यो। बन्दीपुर मृत शैय्याबाट बौरिँदा त्यो बन्द भइसकेको थियो । फाट्टफुट्ट पर्यटक भित्रन थालेपछि सन्तकुमार श्रेष्ठले माउण्टेन भ्यू रिसोर्ट खोले। बन्दीपुरबाट झरेर सौराहामा होटल चलाएका सन्तकुमारले बन्दीपुर पर्यटनमा फस्टाउने दूरदर्शी दृष्टिले नियालेर लगानी खन्याए।

त्यसबखत त्यहाँ सीमित चिया पसल पनि थिए। पछि बजारमा अर्को होटल ‘ओल्ड इन’ खुल्यो। देश, विदेशबाट पर्यटक बढ्न थालेपछि बन्दीपुरमा होटलमा लगानी गर्ने लहर नै चल्यो । पुरातात्त्विक महत्त्व बोकेका पुराना घर पनि होटलमा परिणत भए।

अहिले बन्दीपुर बजारमा मात्र नभएर नजिकका डाँडामा पनि होटलका गगनचुम्बी भवन ठडिएका छन्। ७० वटाभन्दा बढी ठूलासाना होटल बन्दीपुरमा छन् । बजार छेउछाउमा होमस्टे पनि आधा दर्जनको हाराहारीमा चलेका छन्।

व्यापारमा उँधो लगाएको शहरमा पर्यटन भने उँभो लाग्यो । त्यसपछि बल्ल बन्दीपुर पर्यटकीय शहर बन्न सफल भएको हो। कोरोना सुरु हुनसभन्दा पहिलेका वर्षहरूमा एक लाखभन्दा बढी पर्यटक बन्दीपुर उक्लिएको रेकर्ड छ । पृथ्वी राजमार्गको डुम्रेबाट आठ किलोमिटर उकालो चढ्ने रहर जोकोहीलाई हुन्छ।

पर्यटनमा बन्दीपुर जाग्नुको कारण यहाँको मौलिकता नै हो। मौलिकतालाई जोगाई राख्नुपर्ने चुनौती बन्दीपुरे र स्थानीय सरकारलाई छ। मौलिक शहरलाई कायम राख्ने प्रयासमा सदैव रहेको बन्दीपुर गाउँपालिकाले जनाएको छ। बजारमा घर बनाउँदा अनिवार्य मौलिक बनाउनुपर्ने गाउँपालिकाले मापदण्ड बनाएको छ।

गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा भन्छन्, ‘घर बनाउनलाई मापदण्ड बनाएका छौँ। रिङरोडको ५०० मिटरभित्रका घरका लागि गारोमा प्राचीन प्रकारको इँट्टा देखाउनुपर्नेछ। छानो स्लोप गर्नै पर्ने। कौशी निकालेर टुँडाल राख्नुपर्ने नियम छ।’ बन्दीपुरलाई भविष्यसम्म मौलिक शहरकै रूपमा जीवन्त राख्ने योजना रहेको उनले बताए।

बन्दीपुरमा पर्यटक अझै बढाउन डुम्रे-बन्दीपुर केबलकार निर्माणधीन अवस्थामा छ। चीनको ग्रेटवालको झल्को दिने गरी मिनी ग्रेटवाल बन्दै छ। अहिलेसम्म एक हजार ४०० मिटर दूरीको काम पूरा भएको अध्यक्ष थापाले जानकारी दिए। साहसिक पर्यटक डाक्न सिसाको दृश्यावलोकन केन्द्र, स्काई ग्लास ब्रिज, जिप लाइनको अवधारण पनि गाउँपालिकाले बनाएको छ।

यसरी नामकरण भयो बन्दीपुर

इतिहासबारे जानकारहरूका अनुसार मगरले बस्ती बसालेका हुन् रे बन्दीपुरमा पहिले। त्यसैले मगर भाषामै नामकरण भएछ बन्दीपुर । जंगलमा पानी भएकाले बन्दीपुर । ‘वन’ भनेको जंगल र मगर भाषमा ‘डी’ भनेको पानी।

घाँसे मैदानमा भएको डाँडोमा पछि लम्जुङका गौलीहरू आएर वस्तुभाउ पाल्न थालेछन्। भट्टराई, भण्डारीको पनि थलो भनिन्छ। त्यसपछि पाल्पाका राजा मणिमुकुन्द सेनको नजर पर्‍यो यहाँ । तनहुँलाई राजधानी बनाएर बन्दीपुरलाई छोटी राजधानी बनाई शासन गरेका थिए मणिमुकुन्द सेनले।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *