चैतसम्ममा पानी आए पनि मेलम्ची आयोजना बन्न अझै ६ वर्ष लाग्छ : खानेपानी बोर्डका कार्यकारी निर्देशक डा.राणा – Dcnepal

चैतसम्ममा पानी आए पनि मेलम्ची आयोजना बन्न अझै ६ वर्ष लाग्छ : खानेपानी बोर्डका कार्यकारी निर्देशक डा.राणा

काठमाडाैं ।  सरकारले काठमाडौं उपत्यकावासीलाई मेलम्चीको पानी वितरणमा विस्तार गर्दै लगेको केही महिनामा नै मेलम्चीको पानी आउन ठ्याप्प भयो। काठमाडौं वासीलाई मेलम्चीको पानी परिक्षणको लागि वितरण गरी पुनःचेकजाँचका लागि मेलम्चीको पानी आउने सुरुङको प्रमुख ढोका बन्द गरेको २४ घण्टा नबिदै गत असार १ गते मेलम्ची खोलामा भिषण बाढी आयो। मेलम्चीवासीको वस्ती नै बगाउने गरी आएको सो बाढी पहिरोले अर्कोतिर मेलम्ची खानेपानी अयोजनाको संरचनालाई समेत असर गर्यो।

मेलम्चीको पानी खान थालिएको करिब साढे दुई महिनापछि नै प्राकृतिक प्रकोपका कारण मेलम्ची आयोजनाको संरचनामा समस्या आइपर्यो। जसले गर्दा अब फेरि मेलम्चीको पानी उपत्यकावासीले कहिलेसम्म पाउछन् वा पाउदैनन्, बाढीले के कति क्षति भयो?, आदि विषयमा केन्द्रित भएर काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा.ई.सन्जिव विक्रम राणासँग डिसी नेपालले गरेको कुराकानीकाे सम्पादीत अंशः

 काठमाडौं उपत्यकावासीलाई खानेपानीको आवश्यकता कति भयो भने पुग्छ ?

काठमाडौंमा दैनिक झण्डै ४३ करोड लिटर खानेपानी चाहिन्छ । र, वर्षायाममा हाम्रो सप्लाई करिब १५ करोडसम्म हुन्छ भने सुख्खायाममा ८ देखि ९ करोड लिटरसम्म सप्लाई भइराखेको छ । त्यसले गर्दा माग र पूर्तिमा धेरै ठूलो ग्याप छ। त्यो भएर दैनिकजसो पानीको समस्या भएको हो।

मेलम्चीबाट पहिलो चरणमा दैनिक कति लिटर पानी वितरण भएको थियो ?

चैत १५ देखि जेठ मसान्तसम्म दैनिक १७ करोड लिटर पानी वितरण गर्यौ । असार १ गतेदेखि मेलम्ची बन्द गरिएको हो । पाइप बिछ्याउने लगायतका कामहरु बाँकी नै रहेकाले पहिलो चरणमा पूर्ण रुपमा सबैलाई पानी वितरण गरेका थिएनौं ।

 मेलम्चीमा आएको बाढीले आयोजनामा कति जतिको क्षति भयो ?

मेलम्चीमा आएको बाढीले करिब २ अर्ब जतिको क्षति भएको छ । खानेपानीको कुरा गर्दा हाम्रो इन्टेक भएको ठाउँमा क्षति भएको छ । हुनत त्यहाँ भन्दा धेरै माथि पनि क्षति भएको छ । खानेपानीको हिसाबले क्षति भएको ठाउँ भनेको इन्टेक र जहाँबाट हामी पानी ल्याउथ्यौं अथवा अस्थायी ड्याम बनाएर जहाँबाट पानी ल्याउथ्यौं, त्यो एरियामा क्षति भएको छ ।

बाढी आउनु भन्दा अगाडि मेलम्चीको ढोका बन्द नगरिएको भए कस्तो क्षति हुन्थ्यो ?

बन्द नगरेको भए, जुन हाम्रो टनेल सुरक्षित छ भनिराखेका छौं, त्यो टनेलमा पनि क्षति हुन्थ्यो । र, कति हुन्थ्यो, त्यो त भन्न सकिने भएन । हुनत जुन पानीको फ्लो छ, त्यसको ९० डिग्रीमा हाम्रो टनेल छ । त्यसले गर्दा क्षति नहुन पनि सक्थ्यो ।

सुन्दरीजल पुग्ने मेलम्चीको सुरुङसँग जोडिएको अम्बाथानमा अस्थायी ड्याम बनाएर जुन पानी पठाइएको थियो, त्यही बन्द गरेका थियौं । त्यो बन्द गरेकाले बाढी भित्र अर्थात् मेन टनेलमा छिर्न पाएन । त्यसले गर्दा टनेलमा हुने क्षति चाहीँ भएन ।

 मेलम्चीको ढोका बन्द गरेकाले पनि अझ बढी घरहरु बाढीको डुवानमा परे भन्ने पनि छ नि ?

होइन, होइन । त्यो बाढी भएको ठाउँ, इन्टेक(नदीलाई सानो ड्याम जस्तो बनाएर छेक्ने अथवा पानी डाइभर्ट गर्ने ठाउँ)भन्दा कति माथि हो, कति माथि । बाढी आएर बरु इन्टेक नै पुरिएको छ ।

 ढोका बन्द गर्नुको कारण के थियो ?

चैत १५ देखि जेठ मसान्तसम्म पानी चलाइसकेपछि बन्द गरेर त्यो भित्र भएको पानीलाई फ्यालेर हेर्नको लागि हो । त्यसभित्रको पानीले केही असर गरेको छ छैन र भित्र टनेलको अवस्था कस्तो छ भनेर हेर्नको लागि बन्द गरेको हो । यो हाम्रो रेगुलर प्रोसेस भित्र नै पर्छ । हामीले बाढी आउछ भनेर थाहा पाएर बन्द गरेको होइन । रेगुलर प्रोसेस नै त्यस्तो पर्न गएकाले भाग्यले बचायो भने जस्तै भयो ।

 मानवीय क्षति कति भएको थियो ?

अहिले मलाई ठ्याक्कै याद भएन । तर, ३ जना चाइनिज, ३ जना भारतीय र एक जना नेपाली गरी सात जना साथीहरुको मृत्यु भयो ।
 मेलम्ची आयोजना अब पहिलाको अवस्थामा आउन कति समय लाग्छ ?

सबभन्दा पहिला त त्यहाँ जानसक्ने स्थिति नै बन्नु पर्छ । किनभने बाढीले बगाएर पुलहरु, बाटोहरु केही छैन । बाटो, पुल बनेपछि त्यहाँ जाने स्थिति रहन्छ । त्यहाँ अहिले हिडेर त जान सकिन्छ तर औजारहरु लान सकिदैन । मर्मत गर्न धेरैवटा स्टेकहोल्डर चाहिन्छ । सडक विभाग चाहिने भयो, नेपाली सेनालाई जिम्मा दिएको स्थिति पनि छ । सबै सरोकारवाला भएको हुनाले जतिसक्दो चाँडो भन्ने कुरा चाहीँ रह्यो । तर, ठ्याक्कै यतिबेला नै सकिन्छ भन्ने निश्चित भइसकेको छैन ।

आगामी चैतसम्ममा मेलम्चीको पानी काठमाडौंवासीले पाउछन् भन्ने गरिन्छ नि ?

चैतसम्म ल्याउने भन्ने कुरा भएको हो । त्यही अनुसार काम पनि अगाडि बढेको छ । तर अब के हुन्छ, अहिले हामीले ठ्याक्कै भन्न सक्ने अवस्था छैन ।

 बाढीपछिको आयोजनाको मर्मत नेपालीमार्फत नै हुन्छ कि विदेशी ल्याउनु पर्छ ?

मर्मत गर्न त नेपालीबाटै हुन्छ । मेलम्चीको मामलामा चाहीँ जुन पहिलाको ठेकेदार सिनो हाइड्रो छ, उ नै संलग्न हुन्छ । अन्य कुराहरुमा त नेपाली ठेकेदारहरु पनि संलग्न हुन्छन् । सिनो हाइड्रोको सम्झौता सकिएको छैन । उसको मेन इन्टेकको काम भइराखेको अवस्थामा यो बाढी आएको हो । मेन इन्टक त पूरा भएकै थिएन । उसको कन्ट्याक्ट क्लोज भइसकको छैन ।

 मेलम्ची खानेपानीमा बाढीले पुर्याएको २ अर्बको क्षतिमा पहिलाको ठेकेदारले पनि व्यहोर्छ कि सबै हामीले व्यहोर्नु पर्छ ?

यो त फाल्टु(अतिरिक्त) खर्च भएको हो । यो २ अर्बको क्षति त हामीले अस्थायी लागत अनुमान गरेका मात्र हौं । त्यसको पूरै खर्च विवरण गर्न बाँकी नै छ । यो बाढीले हामीलाई सचेतना चाहीँ गरायो । अब त मेलम्ची खानेपानीको मात्रै होइन नेपालभरिका जति पनि हाइड्रोपावरहरु छन्, ती सबैमा पनि हामीले विचार गर्नुपर्ने देखियो ।
अहिले मेलम्चीको पानी ल्याउन सकिने भनेको अस्थायी रुपमा मात्रै हो । स्थायी रुपमा ल्याउन त अझै ५–६ वर्षभन्दा बढी नै लाग्ला । वर्षात् कम भएसकेपछि पुनःमेलम्चीको पानी अस्थायी रुपमा ल्याउन सकिन्छ ।

नेपाल सरकारले चैतसम्ममा पानी ल्याउछु भनेको पनि अस्थायी रुपमै ल्याउने भनेको हो । स्थायी समाधान खोज्नलाई त लागत धेरै लाग्छ र सयम पनि । एक–दुई वर्षमै स्थायी रुपमा मेलम्ची ल्याउनसक्ने स्थिति अहिलेको अवस्थामा छैन ।

 मेलम्चीमा बाढी आउँदा माथिबाट हिम पहिरो आएको थियो भन्ने पनि गरियो, वास्तविकता के रहेछ ?

धेरै किसिमको काल्पनिक कुराहरु आइराखेको हो । माथि कोही जान सकेको छैन । ड्रोनमार्फत, हेलिकप्टरबाट गएर हेरेर आइएको हो । माथि दुई वटा खोला जोडिएर मेलम्ची आएको रहेछ । बाढी आएको भिमाथान भएको ठाउँमा हो । भिमाथान एउटा बालुवा नै बालुवा भएको ठूलो सम्म परेको भूमि रहेछ । त्यहाँ अहिले धेरै ठूलो चौर जस्तो फ्लाटलाइन (समलत)को बीचबीचबाट नदी बगेको देख्न सकिन्छ । मेलम्चीमा मिसिने अर्को नदीमा भिमाथान हुँदै बाढी आएर मिसिएको रहेछ ।

बाढीसम्बन्धमा सबैको आ–आफ्नै काल्पनिक कुराहरु छन् । क्लाइमेन्ट चेन्ज(मौसम परिवर्तन)को कुराहरु पनि भइराखेको छ । भूकम्पको कुराहरु पनि आइराखेको छ । भूकम्पले गर्दा जमिन थिलथिलो भएकोले यस्तो भएको भन्ने कुराहरु पनि आइराखेको छ ।

त्यस्तै, जुन ठाउँमा हिउ पर्ने गथ्र्यो त्यो हिउ पर्ने ठाउँ माथि सर्दै गयो र त्यसमा पानी परेपछि हिउले समातेको खाली ठाउँ बग्न थाल्यो भन्ने कुराहरु पनि आएको छ । त्यो भएर यससम्बन्धमा त्यहाँ अलि बढी नै अनुसन्धान गर्नु पर्छ ।

 मेलम्ची खानेपानीको लागि उपत्यकामा पाइप बिछ्याउने काम सबै सकिएको हो ?

काठमाडौंको हकमा १ लाख २८ हजार धाराहरुमा नयाँ पाइपलाइन बिछ्याइसकिएको छ । त्यस्तै, वितरण सञ्जाल सुधार अन्तर्गत करिब ११ सय किलोमिटर पाइपलाइन बिछ्याइसकिएको छ । त्यो बाहेक अन्य कामहरु बाँकी नै छ । अहिले ठेक्का लागेका कामहरुमा झण्डै ९० प्रतिशतभन्दा बढी काम भइसकेको छ । अरु ठेक्का लाग्ने काम बाँकी नै छ । जस्तो ताचहलमा भर्खर खन्ने काम भइराखेको छ ।

काठमाडौं रिङरोडभित्र करिब ८० प्रतिशत क्षेत्रको काम भइसकेको छ । ताहचल, महाराजगञ्ज, बालुवाटार आदि रिङरोडभित्रको २० प्रतिशत क्षेत्रको काम बाँकी नै छ । रिङरोड बाहिरको त धेरै नै काम बाँकी छ ।

उपत्यकाभित्र सबैलाई मेलम्चीको पानी पुर्याउने भन्ने छ तर सबैलाई एकैचोटी दिन सकिदैन, त्यही भएर एकपछि अर्को गर्दै काम भइराखेको छ । फेरि एकैचोटी दिन वा काम गर्न त संसाधन, जनशक्ति आदि हुनुपर्छ र त्यो अनुसार खर्च गर्ने क्षमता पनि हुनुपर्यो । फेरि एकैचोटी सबै ठेक्का लगाएर पनि कहाँ गर्न सक्छौ र? त्यही भएर एकपछि अर्को गर्दै जाने हो ।

 यो आर्थिक वर्षमा पाइप बिछ्याउने काम सकिन्छ ?

यो आर्थिक वर्षमा रिङरोडभित्रको सकिन्छ । रिङरोड बाहिरको त बाँकी नै हुन्छ । कोही डिजाइनमा छ, कोही डिजाइन भएर आर्थिक स्रोत पर्खिराखेको छ । कतिपय ठाउँमा आर्थिक स्रोत पनि कसरी पुर्याउने भन्ने छ । फेरि बाढीले सोच्दै नसोचेको आर्थिक घाटा भयो । त्यही भएर यस्ता कुराहरुमा सोच्नु पर्ने हुन्छ ।

 हालसम्म मेलम्चीमा कति लागत भइसक्यो ?

काठमाडौंको पाइप बिछ्याउने लगायतका काम र मेलम्चीको काम गरेर ५० अर्ब जति खर्च भइसकेको छ ।

 अब सर्वसाधरणले मेलम्चीको पानी कहिले पाउछन त ?

दुई तीन महिना पानी खाइसकेको अवस्था रह्यो । यस्तो होला भनेर कसैले कल्पना गरेको पनि थिएन । त्यही भएर अनिश्चितता चाहीँ अलिकति बढेकै हो । यहाँभित्रका पाइपलाइनका कामहरु भए भनेपनि त्यसका लागि टेस्टिङ आदि गर्नको लागि पानी नै चाहिन्छ । त्यो टेस्टिङ गर्नको लागि अन्य ठाउँबाट ल्याउने पानीको स्रोत पनि छैन । ताकि उता(मेलम्ची)बाट पानी नआएपनि यहाँ टेस्टिङलगायतका काम गर्दै गरौं भन्ने सम्भावना पनि छैन । त्यो भएर त्यसका लागि पनि हामी मेलम्चीकै पानीको भर पर्नुपर्ने हुन्छ । पहिला उतैको काम कम्प्लिट गर्नुपर्छ । त्यही भएर यहाँको कन्स्ट्रक्सनको कामहरु त होला तर त्यो कम्प्लिट चाहीँ हुँदैन ।

 स्थायी रुपमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउन ५–६ वर्ष लाग्छ भन्नु भयो, यो बिचमा अरु विकल्प सोच्नु भएको छैन ?

अन्त पनि हेरिराखेका छौं । अहिले मेलम्चीबाट पानी ल्याउने भनेको अस्थायी मात्र हो । याङ्ग्री, लार्की, मेलम्ची जहाँबाट पनि स्थायी रुपमा पानी ल्याए पनि टनेल त एउटै हो । टनेलमा पुनःमर्मत गर्नुपरेमा, वा केही समस्या भयो भने पानी आउन नै बन्द हुन्छ । त्यो स्थितिमा इमर्जेन्सीको लागि अर्को नयाँ सिस्टम विकास गरेर राख्नै पर्छ ।
त्यसको लागि हामीले दुई चारवटा प्रोजेक्ट हेरिराखेका छौं । जस्तो नगरकोट जाने बाटोमा पर्ने महादेव खोलामा ड्याम प्रोजेक्टको लागि हेरिराखेका छौं । त्यसको यसपाली डिटेलमा गर्दैछौं । त्यो बनेपछि विशेषत त्यहाँको पानी भक्तपुरलाई जान्छ ।

त्यस्तै, गोदावरीस्थित सन्तानेश्वर महादेवको मुनि पनि ड्याम बन्ने भन्ने प्रोग्राम थियो । त्यो प्रोजेक्ट महङ्गो हुने भएकाले र अब मेलम्ची सुरु भइहाल्यो भनेर अगाडि बढ्न सकेको थिएन । र, अहिले त्यहाँ जग्गाको मूल्य धेरै नै बढेको छ ।

अर्को मकवानपुरस्थित सिस्नेरी खोला हेरिराखेका छौं । सिस्नेरी खोलामा ड्याम बनाएर ललितपुरलाई पानी वितरण गर्ने प्रोग्राम छ । त्यसमा करिब ३३ किलोमिटर पाइपलाईन पर्छ । अहिले हामीले धेरै अगाडि बढेको भनेको महादेव खोला र सिस्नेरी खोलाको काम नै हो । सिस्नेरीमा चाहीँ कुलेखानीको पानी पनि मिसिन्छ । अस्थायी रुपमा वर्षायाममा मेलम्ची र बागमतीबाट पनि पानी आइराखेको छ ।

 बाग्मतीबाट आउने पानी ल्याउदा बाग्मती सुख्खा होला नि त ?

अरु बेला लिन मिल्दैन । वर्षाको बेलामा मात्रै हो, त्यो पनि मेलम्ची बन्द गर्नु परेको बेलामा । जस्तो अहिले त बागमतीमा पानी प्रशस्तै छ नि ।
सबै प्रोजेक्ट खानेपानी मन्त्रालय एउटैले मात्रै गर्न सक्ने अवस्था हुँदैन । त्यसमा सडक विभाग, आर्मी लगायत धेरैवटा स्टेकहोल्डर जोडिएको छ र जोडिनु पनि पर्छ । अहिले उपत्यकावासीलाई मेलम्चीको खानेपानी दिनेसम्बन्धमा आर्मीबिना हामीले काम गर्न नसक्ने अवस्था पनि छ । त्यो भएर सबैको कोडिनेशनमा मात्र मेलम्चीको पानी ल्याउने सम्भव हुन्छ । र, स्थायी रुपमा मेलम्चीको पानी ल्याउन धेरै भौगोलिक समस्यालाई समाधान गर्नुपर्ने अवस्था छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो