न्यायाधीश व्यस्त भएपछि वामदेव गौतमविरुद्धको मुद्दामा भएन सुनुवाइ
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य वामदेव गौतमविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ।
गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रिट दायर गरेका थिए।
रिटमाथि बुधबार प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा सम्मिलित संवैधानिक इजलासमा पेसी तोकिएको थियो।
सर्वोच्च अदालत प्रशासनका अनुसार न्यायाधीशहरू व्यस्त भएपछि गौतमविरुद्धको मुद्दामा आज सुनुवाइ हुन नसकेर हेर्न नभ्याइनेमा राखिएको हो।
निवेदक त्रिपाठीले सर्वोच्चमा फुल कोर्ट बस्ने भएकाले सुनुवाइ हुन नसक्ने जानकारी आएको बताए।
राष्ट्रियसभामा युवराज खतिवडाको पदावधि सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा एक वर्षअघि १ असोजमा नेता गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीत गरेकी थिइन्।
लगत्तै प्रतिनिधिसभा निर्वाचनमा पराजित व्यक्तिलाई राष्ट्रियसभा सदस्य नियुक्त गर्नु संविधानविपरीत जिकिर गर्दै अदालतमा मुद्दा परेको थियो।







डिसी नेपाल








Facebook Comment