सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन

डिसी नेपाल
१३ असोज २०७८ १७:५४

काठमाडौँ । भारतीय सेनाबाट अवकास पाएका म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गरेको छ । १७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाएका उनले गाउँ फर्किएर कालिजपालन सुरु गरेको हो । उनले सुरु गरेको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै रहरलाग्दो र रमाइलो बनेको छ ।

रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनबाट व्यवसायिक रुपमा नै कालिजपालन सुरु गरेको घिमिरेले सात महिनाको अवधिमा राम्रो आम्दानी मात्रै गरेको छैन, नयाँ व्यवसाय गरेर उदाहरणीयसमेत बनेको छ । २१ लाखको लगानीबाट कालिजपालन सुरु गरेका घिमिरेको फर्ममा अहिले ६०० कालिज हुर्कदै छन् । यस अवधिमा उनले १ सय १० वटा कालिज बिक्री गरेको छ । लामो अध्ययनपछि उनले फाँपरखेतमा कालिज पाल्ने सोच बनाएको हो ।

“भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँको जस्तै भूगोल भएको दार्जिलिङमा कालिजपालन गरेको देखेर म लोभिएको थिएँ”, ३९ वर्षीय फरासिला घिमिरेले भने, “पाँच वर्षपछि सेवा निवृत्त भएर गाउँ आएँ, यहाँ आउदा नेपाल सरकारले कालिजपालनका लागि अनुमति दिएको थाहा पाएपछि तत्कालै कालिजपालन व्यवसाय सुरु गरेको हुँ ।”

घिमिरेले सात रोपनी पाखोबारीलाई घेराबार गरेर जालीले छोपेको खोर बनाएको छ । त्यही खोरमा चारसय बढी ‘रिङनेट’ जातका कालिज हुर्किरहेका छन् । अधिकांश कालिज बिक्रिका लागि योग्य भएका घिमिरेले बताए । कालिज बेनी, भकुण्डे, बागलुङ र पोखराको बजारमा प्रतिगोटा तीन हजार ५०० का दरले बिक्री हुने गरेको उनले जानकारी दिए । कालिजका लागि उनले रैथाने आहारा ९मकै, गहुँ,कोदो० का साथै बजारबाट आयातित दाना खुवाउने गरेको छ । त्यसका साथै हरियो भूइँ तथा डालेघाँसबाट पनि उनले कालिजलाई दानाको व्यवस्थापन गरेको बताए। उनको फार्ममा स्थानीय तीन जना व्यक्तिले रोजगारीसमेत पाएका छन् ।

निकट भविष्यमा ह्याचिङ मेसिन राखेर आफै चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उनको योजना छ । पाँच महिनामा दुई किलोभन्दा बढी तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उनले जानकारी दिए । कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरी महिलाका लागि हितकारक हुने बताएको छ ।

पाँचदेखि सात महिनाभित्र बिक्री गर्न योग्य हुने कालिजलाई व्यावसायिक रुपमा विस्तार गर्दै लैजाने सोच उनको रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *