कालिका गाउँपालिकाको शिक्षा शाखामा स्थानीयले गरे तालाबन्दी, शिक्षक दरबन्दी मिलानको माग

डिसी नेपाल
१४ असोज २०७८ १८:०९

काठमाडौं।  रसुवामा शिक्षक दरबन्दी मिलान नगरेको भन्दै रसुवाको कालिका गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको छ । कालिका गाउँपालिका–१ स्थित ग्राङ आधारभूत विद्यालयमा शिक्षक दरबन्दी मिलान नगरिएको भन्दै शिक्षा शाखामा तालाबन्दी गरिएको हो ।

बिहीबार विद्यालय व्यवस्थापन समिति र अभिभावकहरू गाउँपालिकाको शिक्षा शाखामा गई तालाबन्दी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुप्साङ तामाङले बताए । शिक्षक दरबन्दी मिलानका लागि गाउँपालिकामा पटकपटक आग्रहसहितको अनुरोध गर्दा बेवास्ता गरेपछि आफूहरू बाध्य भई गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको उनले बताए ।

‘हामीले विगत लामो समयदेखि विद्यालयमा शिक्षक दरबन्दी मिलान गर्नुपर्यो भनेर पटक पटक आग्रह गर्यौ, तर गाउँपालिकाले यसलाई बेवास्ता गर्यो र कलिला बालबालिकाको भविष्यमा खेलवाड गर्ने खालका गतिविधि गरिरहेकाले स्थानीय बासिन्दा, अभिभावक, स्थानीय युवा तथा अन्य सरोकारवाला गई तालाबन्दी गरेका हौं,’ उनले भने ।

शिक्षक दरबन्दी मिलान नगरेसम्म तालाबन्दी कायम राखिने उनले बताए । आधारभूत तहसम्मको सम्पूर्ण दरबन्दी तीन दिनभित्र पूरा हुने गरी शिक्षक उपलब्ध गराउनसमेत उनीहरूले माग गरेका छन् । यो विद्यालय गत शैक्षिक सत्रदेखि प्राथमिक तहबाट आधारभूत तहमा परिणत भएको थियो ।

बालविकासदेखि कक्षा ७ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा दुई सय विद्यार्थी छन् । आठजनाको दरबन्दी हुनुपर्ने विद्यालयमा चार महिनादेखि शिक्षक तीनजना मात्र छन् । कोरोना महामारीका कारण बन्द रहेको विद्यालय सञ्चालनमा आइसकेको छ । विद्यालय सञ्चालनमा आए पनि शिक्षक नहुँदा विद्यार्थीहरू मर्कामा परेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *