पहिलो पटक नेपाली महिलाद्वारा धवलागिरि हिमाल आरोहण

फुर्पा शेर्पा
१५ असोज २०७८ १६:४५

काठमाडौं। विश्वको सातौँ, ८,१६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामू शेर्पा अकिताले सफल आरोहण गरेका हुन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने आठ हजार १६७ उचाइको हिमालमा उनीहरुले आज बिहान ५ बजे आरोहण गरेका छन ।

यसअघि नेपाली महिलाले धवलागिरिको आरोहण गरेको रेकर्ड छैन । आरोही श्रेष्ठ फोटो पत्रकार र शेर्पा आरोहणमा आबद्ध व्यक्ति हुन् । “श्रेष्ठ शिखर पुगेर फर्केपछि तेस्रो क्याम्पबाट बिहान मसँग कुराकानी भएको थियो । आज साँझसम्म आधार शिविर आइपुग्ने योजना छ,” उनकी साथी पत्रकार सृष्टि काफ्लेले भनिन्। शरद् ऋतुको आरोहणका लागि उक्त कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि आरोहणमा गएका थिए। गोरखा आरुघाट निवासी उनको टोलीले यसअघि गत वैशाख ३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठहजार ०८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर कीर्तिमान बनाएको थियो । कारोबार आर्थिक दैनिकमा कार्यरत श्रेष्ठले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा अमादब्लम हिमाल पनि आरोहण गरेका थिए ।

पायोनियर अड्भेन्चर ट्रेकस का अध्यक्ष पासाङ् शेर्पाका अनुसार आजै अन्य २० जनाले धवलागिरि आरोहण गरेका थिए । विश्व कीर्तिमानी आरोही सानु शेर्पाले फेरि धौलागिरी हिमाल चढेका छन् । अध्यक्ष शेर्पाका अनुसार सानु शेर्पाले आठहजार मिटरका १४ अग्ला हिमाललाई दुई पटकआरोहण गरेर विश्वमै पहिलो व्यक्ति बन्न धौलागिरी हिमाल आरोहण गरेका हुन्। शेर्पाले हालसम्म १० वटा हिमालको आरोहण गरिसकेका छन्। यस पटकको धौलागिरी हिमाल आरोहण उनको ११ औं हिमाल रहेको छ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा हिमाल आरोहणका लागि २५ आरोही समूहका २३० आरोहीले आरोहण अनुमति लिएकामा धवलागिरि आरोहणका लागि चार आरोही समूहका १२ महिला र २८ पुरुष गरी कूल ४० आरोहीले आरोहण अनुमति लिएका थिए । यस याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि १७ आरोही समूहका १७१ आरोही छन् । मनास्लु आरोहणमा ३८ महिला र १३३ पुरुषले अनुमति लिएका थिए ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *