बैतडीमा डिलासैनी गाउँपालिकाे बेरुजु सबैभन्दा बढी, नगरपालिकालाई पनि उछिन्याे
बैतडी । बैतडीका स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु रकम बढ्दै गएको छ। यहाँका १० स्थानीय तहको बेरुजु रकम साढे ३२ करोड रहेकाे महालेखा परीक्षकको कार्यालयकाे वार्षिक प्रतिवेदनमा उल्लेख छ।
५८ औँ वार्षिक प्रतिवेदन अनुसार बैतडीका स्थानीय तहमा सबैभन्दा बढी बेरुजु डिलाशैनी गाउँपालिका र सबैभन्दा कम बेरुजु पाटन नगरपालिकाको छ।
डिलासैनीको ८६ करोड ४१ लाख ७९ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ५ करोड २० लाख २२ हजार रकम बेरुजु छ। यो लेखा परीक्षण गरिएको ६ दशमलव २ प्रतिशत बेरुजु हो।
पाटनको १ अर्ब २० करोड ३८ लाख ३० हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ७२ लाख ३६ हजार रुपैयाँ बेरुजु छ। यो लेखा परीक्षण गरेको रकमको १ दशमलव ४३ प्रतिशत हो।
गाउँपालिकामध्ये सबैभन्दा कम बेरुजु हुने दोगडाकेदारको छ। दोगडाकेदारमा १ अर्ब २ करोड ७१ लाख ३२ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ करोड २७ लाख ७९ हजार बेरुजु देखिएको छ।
दशरथचन्द नगरपालिकाको १ अर्ब ४० करोड ८१ लाख ४३ हजारको लेखा परीक्षण गर्दा ४ करोड ५५ लाख १ हजार बेरुजु छ। सिगास गाउँपालिकामा ३ दशमलव ८९ प्रतिशत बेरुजु देखिएको छ। ८७ करोड ९९ लाख १५ हजारको लेखा परीक्षण गर्दा ३ करोड ४२ लाख ५८ हजार बेरुजु देखिएको हाे।
शिवनाथ गाउँपालिकामा पनि ५९ करोड ८८ लाख ५८ हजारको लेखापरीक्षण गरिएकोमा ४ दशमलव ८४ प्रतिशत अर्थात २ करोड ९० लाख १२ हजार बेरुजु देखिएको छ।
पञ्चेश्वर गाउँपालिकाको पनि ४ दशमलव ५१ प्रतिशत अर्थात् ३ करोड ३६ लाख ६६ हजार रुपैयाँ बेरुजु छ। सुर्नया गाउँपालिकाको ३ करोड ९८ लाख २६ हजार, पुर्चौडी नगरपालिकाको ३ करोड ४६ लाख ७२ हजार, र मेलौली नगरपालिकाको १ करोड ७३ लाख ३५ हजार बेरुजु छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment