मिर्गौला रोगीको चित्कारः बाँच्ने मन छ, बचाउने कसले ?

डिसी नेपाल
१६ असोज २०७८ २१:३०

खोटाङ । चार वर्षअघि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी (हाल त्रियुगा नगरपालिका–११ गाईघाट प्रगतीग्राम, उदयपुर) का कृष्ण खत्री घर बनाउने तयारी गर्दै थिए । घर निर्माणकै लागि दिनभर काठ ओसारेर बेलुका सकुशल सुतेका खत्री बिहान उठ्दा बिरामी भएर व्यूझिए ।

२०७३ साल असार ५ गते अकस्मात् शरीर सुन्निने, वाकवाकी लाग्नेलगायतका समस्या देखिएपछि परिवारले उनलाई केही दिनमै अस्पताल पुर्‍याए । कान्छो छोरा सुदिप खत्री नेपाली सेनामा कार्यरत भएका कारण उनलाई काठमाडौंको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा लगियो । छाउनीमा दुवै मिर्गौला फेल भएको पुष्टि भएपछि उनको सोही असार १३ गतेदेखि हालसम्म डायलासिस भइरहेको छ ।

हप्तामा दुईदेखि तीन पटक डायलासिस गराउँदै बसिरहेका खत्री बिरामी भए यता एकरएक दिनका लागि दुई पटक मात्र घर पुगेका छन् । गत वर्ष आफ्नै बाबु पदमबहादुरको मृत्यु हुँदासमेत उनी घर जान सकेनन् । कोठामै किरिया बसेर पशुपतिनाथ पुगेर चोखिएको खत्रीले बताए ।

डायलासिस र औषधिको भरमा बाँचिरहेका खत्रीको उपचारकाक्रममा लाखौं रकम सकिसकेको छ । घर बनाउने तयारी गर्दागर्दै बिरामी परेका खत्रीको घर त ठडिएन नै उपचारकाक्रममा भएको घडेरीसमेत बिक्री गरिसकेका छन् । हाल उनी छाउनी नजिकै डेरामा बसेर हप्ताको मंगलबार र शुक्रबार नियमित डायलासिस गराउँदै आएका छन् ।

उनले हप्तामा तीन पटक डायलासिस गराउँदै आएका छन् । डायलासिस सुरु गरे यता उनले पिसाब गरेका छैनन् ।

चार वर्षको अवधिमा कृष्णको मिर्गौला प्रत्यारोपण गर्ने प्रयास पनि भए । तर, दाता भेटिएनन् । भेटिएका दाताबाट पनि नाता प्रमाणित गर्नुपर्ने व्यवस्थाका कारण मिर्गौला प्रत्यारोपणमा कानुनी जटिलता भयो । श्रीमती कुमारी खत्री पनि मिर्गौला दिन तयार भइन् । तर, कुमारी आफै सुगर, प्रेसरको बिरामी भएकाले श्रीमानलाई मिर्गौला दान गर्न असमर्थ भइन् । मिर्गौलाकै उपचारकाक्रममा सरकारले डायलासिस सेवा निःशुल्क उपलब्ध गराएपछि थोरै भए पनि सहयोग पुगेको उनी बताउँछन् ।

डायलासिस बाहेक औषधिमा मात्र उनको मासिक २० देखि २५ हजार खर्च हुने गरेको छ । यद्यपि, सैनिक परिवारका भएका कारण उनलाई वार्षिक १ लाख १० हजार बराबरको औषधि निःशुल्क उपलब्ध हुने गरेको छ ।

हाल उनी मिर्गौला प्रत्यारोपणको प्रयासमा छन् । ‘हर्ट अट्याक भएपछि गत मंसिर २५ गते एनजियोग्राम गर्नु पर्‍यो । दुई पटक डाक्टरले नै माया मारेका थिए । तर, बाचेँ,’ खत्रीले भने, ‘त्यसपछि अलि बाँच्छुजस्तो लागेको छ । कोही भगवान् बनेर आइदियो भने पक्कै पनि बाँच्ने छु । तीनै भगवान् पर्खिरहेको छु ।’ उनका दुई छोरामध्ये जेठो छोरो घर सम्हालेर बसिरहेका छन् ।

गाईघाटमा बसेर व्यवसाय गरिरहेको अवस्थामा कृष्ण गाउँ फर्केर २०५४ सालको स्थानीय चुनावमा तत्कालीन एमालेकातर्फबाट वडा सदस्यमा विजयी भएका थिए । उनले कांग्रेसबाट वडा सदस्यमा उठेका आफ्नै दाजु कर्णबहादुर खत्रीलाई पराजित गरेका थिए । गाउँ आएर चुनाव लड्नका लागि उक्साउने रामप्रसाद दंगाल, बलराम दाहाल, पृथी राईमध्ये दंगाल हाल नेकपा एमाले खोटाङ अध्यक्ष छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *