अमेरिकी मध्यावधि निर्वाचनले एआई विस्तार सुस्त हुने चिन्ता बढाएपछि प्रमुख प्रविधि कम्पनीको सेयर मूल्यमा भारी गिरावट

डिसी नेपाल
२० कार्तिक २०८३ ७:१५

बीबीसी। अमेरिकी मध्यावधि निर्वाचनपछि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास सुस्त हुने चिन्ता थपिएपछि अमेरिकी तथा एसियाली सेयर बजारमा व्यापक गिरावट आई प्रमुख प्रविधि कम्पनीहरूले खरबौँ डलर बराबरको बजार मूल्य गुमाएका छन्।

एआई विकासको गति धीमा बनाउने एजेन्डासहित चुनावी अभियान चलाएका डेमोक्र्याट उम्मेदवारहरू विजयी भएपछि प्रविधि तथा एआई क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको हो।

डाउ जोन्सको तथ्यांकअनुसार प्रविधि क्षेत्रको वर्चस्व रहेको नास्डाक कम्पोजिट (Nasdaq composite) इन्डेक्स ५.५ प्रतिशतभन्दा बढीले ओरालो लाग्दै करिब २५ खर्ब डलर  बजार मूल्य गुमाउन पुगेको छ। सन् २०२५ यताकै सबैभन्दा खराब दिनका रूपमा दर्ता भएको यस गिरावटले अन्य प्रमुख अमेरिकी सेयर सूचकांकहरूलाई पनि ठूलो घाटा पुर्‍याएको छ।

एआईका क्षेत्रमा भइरहेको ठूलो लगानीले सोचेअनुसारको प्रतिफल दिन्छ वा दिँदैन भन्ने व्यापक चिन्ताबीच यो नयाँ गिरावट थपिएको हो।

यसैगरी एसियाली बजारमा पनि शुक्रबार बिहान प्रविधि केन्द्रित सूचकाङ्कहरू तीव्र रूपमा घटेका छन्।

जापानको निक्केई २२५  सुरुवाती कारोबारमै ६ प्रतिशतले तल झरेको छ, जहाँ मेमोरी चिप निर्माता कम्पनी किओक्सिया  को सेयर १२.६ प्रतिशत र प्रतिस्पर्धी टोकियो इलेक्ट्रोन  ९.५ प्रतिशतले घटेको छ।

दक्षिण कोरियाली चिप निर्माता एसके हाइनिक्स  ११.५ प्रतिशतभन्दा बढीले घट्दा सामसङ (Samsung) को सेयर मूल्य पनि करिब १० प्रतिशतले ओरालो लागेको छ। सोलको कोस्पी  सूचकांक ८.५ प्रतिशतभन्दा बढीले घटेपछि त्रासपूर्ण बिक्रीलाई नियन्त्रण गर्न अस्थायी रूपमा कारोबार रोक्ने मेकानिज्म ‘सर्किट ब्रेकर’ जारी गर्नुपरेको थियो।

अमेरिकाभरिका चुनावी प्रतिस्पर्धामा डेमोक्र्याटहरूले डेटा सेन्टर र एआईको तीव्र विस्तारलाई सुस्त बनाउने पक्षमा प्रचारप्रसार गरेका थिए। देशैभरका मतदानमा यो प्रविधिलाई सञ्चालन गर्न अत्यावश्यक मानिने हबहरूको निर्माण नियन्त्रण गर्नेसम्बन्धी दर्जनौँ उपायहरू सामेल थिए।

मङ्गलबार भएको मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरूले अमेरिकी सिनेट र प्रतिनिधि सभा दुवैमा विजय हासिल गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी कार्यकालका लागि कंग्रेसमा नियन्त्रण कायम गरेका छन्।

टेक्सासकी नवनिर्वाचित डेमोक्र्याट गभर्नर जिना हिनोजोसाले डेटा सेन्टरविरुद्ध चर्को अभियान चलाउँदै यस क्षेत्रमा नयाँ निर्माण कार्यमा रोक (मोराटोरियम) लगाउने प्रतिबद्धता जनाएकी थिइन्।

सामाजिक सञ्जालको एउटा पोस्टमा ट्रम्पले यो गिरावटको दोष आफ्ना राजनीतिक विरोधीहरूलाई दिएका छन्।

“चुनावको नतिजाका कारण सेयर बजारले इतिहासकै सबैभन्दा खराब दिनहरूमध्ये एकको सामना गर्‍यो,” उनले भनेका छन्, “याद राख्नुहोस्, यो रिपब्लिकनका कारण होइन, ‘डमोक्र्याट्स’का कारण भएको हो। तर डराउनुपर्दैन, हामी छिट्टै, कुनै न कुनै तरिकाले, पहिलेभन्दा अझ ठूला र बलिया हुनेछौँ। मेक अमेरिका ग्रेट अगेन!”

केही डेमोक्र्याटहरूले कुनै सुरक्षात्मक उपाय वा निगरानीबिना नै एआई अत्यधिक बढेको तर्क गर्दै कंग्रेसमा आफ्नो नयाँ शक्तिका साथ यसलाई परिवर्तन गर्ने बाचा गरेका छन्।

“अमेरिकनहरू बिग टेकका अभिजात वर्गहरूले वातावरण विनाश गरेको, रोजगारी खोसेको र मानवताको भविष्यलाई खतरामा पारेको हेर्न चाहँदैनन्। राष्ट्रिय डेटा सेन्टर स्थगन (मोराटोरियम) अहिले नै लागू गरियोस्,” डेमोक्र्याट सिनेटर बर्नी स्यान्डर्सले बिहीबार एक्स (X) मा लेखेका छन्।

महत्त्वपूर्ण चिप निर्माता र सेमिकन्डक्टर उत्पादकहरूसहित एआई डेटा सेन्टरहरूसँग प्रत्यक्ष जोडिएका कम्पनीहरूको सेयर बिहीबार तीव्र रूपमा घट्यो, जसले लगानीकर्ताहरूमा पहिलेदेखि नै बढ्दै गएको चिन्तालाई अझ स्पष्ट पारेको छ।

एनभिडिया (Nvidia) को सेयर ९ प्रतिशतभन्दा बढीले ओरालो लाग्दा कम्पनीको बजार मूल्य ४ खर्ब डलरभन्दा बढीले घटेको छ।

अन्य चिप निर्माताहरू पनि प्रभावित बनेका छन्; एएमडी  र माइक्रोन  दुवै १७ प्रतिशतभन्दा बढीले घटेका छन्। इन्टेल को सेयर १०.३ प्रतिशतले घट्दा मेमोरी कार्ड निर्माता स्यानडिक्स  २२ प्रतिशतभन्दा बढीले घटेको छ।

सेमिकन्डक्टर उत्पादनमा संलग्न ३० ठूला कम्पनीहरूको कार्यसम्पादन ट्रयाक गर्ने फिलाडेल्फिया सेमिकन्डक्टर इन्डेक्स १२ प्रतिशतभन्दा बढीले घटेको छ।

एलन मस्कका कम्पनीहरू स्पेसएक्स र टेस्ला  को सेयर पनि क्रमश: ८ प्रतिशत र करिब ११ प्रतिशतले घटेको छ, जसले बिहीबार ती कम्पनीहरूको बजार मूल्यबाट ३ खर्ब डलरभन्दा बढी घटाएको छ।

मस्कले रिपब्लिकन अभियानहरूलाई सहयोग गर्न करिब ४५ करोड डलर खर्च गरेका थिए, जसमा टेक्सास सिनेट सिटका लागि केन प्याक्सटनको समर्थनमा कम्तीमा ४.५ करोड डलर समावेश थियो। तर मंगलबार राति डेमोक्र्याटिक लहरले टेक्सासलाई नीलो (डेमोक्र्याटको पक्षमा) बनाइदियो।

कुल मिलाएर, एप्पल, एनभिडिया र टेस्लासहित ‘म्याग्निफिस्यान्ट सेभेन’ भनिने सात प्रमुख प्रविधि कम्पनीहरूले एकै कारोबार दिनमा १० खरब (१ ट्रिलियन) डलर मूल्य गुमाएका छन्।

सेयर बजारको यो गिरावटले अन्य प्रमुख अमेरिकी सेयर सूचकाङ्कहरूलाई पनि असर गर्‍यो। कारोबारको अन्त्यसम्ममा एस एन्ड पी ५००४.४ प्रतिशतले घट्यो भने डाउ जोन्स इन्डस्ट्रियल एभरेजले बुधबार कमाएको नाफा गुमाउँदै ३.४ प्रतिशतभन्दा बढीले ओरालो लाग्यो।

नास्डाक कम्पोजिटमा आएको गिरावट यति ठूलो थियो कि यो अहिले बजार विश्लेषकहरूले भन्ने गरेको ‘करक्सन टेरिटोरी’  मा पुगेको छ, जहाँ कुनै सूचकांक वा कम्पनीको मूल्य आफ्नो हालैको उच्च विन्दुबाट कम्तीमा १० प्रतिशतले घट्ने गर्छ।

वेल्थ क्लबकी मुख्य लगानी रणनीतिज्ञ सुसाना स्ट्रिटरले नास्डाक र एस एन्ड पी ५०० मा आएको यो तीव्र गिरावटले अन्य बजारहरूमा पनि तरङ्ग पैदा गरिरहेको बताइन्।

“एआई व्यापारमा छाएको नयाँ त्रासले वाल स्ट्रिटलाई कडा प्रहार गरेको छ,” उनले भनिन्, “एआई पूर्वाधारमा खन्याइएको विशाल रकमले लगानीकर्ताहरूले आशा गरेअनुसारको प्रतिफल नदिन सक्छ भन्ने डर अहिले डेटा सेन्टर निर्माणमा आउन सक्ने तीव्र मन्दीको सम्भावनासँग ठोक्किएको छ।”

केही प्रविधि नेताहरूले मध्यावधि चुनावमा डेटा सेन्टरहरूविरुद्ध देखिएको यो आक्रोशले आफूहरूलाई अचम्ममा पारेको बताएका छन्।

ओपनएआईका अध्यक्ष तथा सह-संस्थापक ग्रेग ब्रोकम्यानले डेटा सेन्टरहरूप्रतिको यो प्रतिक्रियाबाट सबैजना आश्चर्यचकित भएको र समुदायहरूलाई साथमा लिन अझ धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताए।

“यस वर्षको हाम्रो धेरैजसो ध्यान सान फ्रान्सिस्कोबाट टेक्सास, जोर्जिया र अन्य ठाउँहरूमा पूर्वाधार बनाउने प्रयास गर्दा केवल ट्वीट गरेर ‘यो राम्रो हुनेछ’ भन्न सकिँदैन भन्ने महसुस गर्नतर्फ मोडिएको छ। तपाईं ती समुदायहरूमा स्वयं उपस्थित हुनुपर्छ,” बुधबार साँझ नापा, क्यालिफोर्नियामा आयोजित ‘डब्लुएसजे टेक’  सम्मेलनमा ब्रोकम्यानले भने।

मेटाकी अध्यक्ष दिना पावेल म्याककोर्मिकले एआई एक राम्रो विचार हो भनेर बुझाउन उद्योगले अझ धेरै प्रयास गर्नुपर्ने बताइन्।

“मलाई लाग्छ हामीले यसको सकारात्मक पाटोका कथा सुनाउन दोब्बर, तेब्बर मिहिनेत गर्नुपर्छ,” उनले सोही सम्मेलनमा भनिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *