कांग्रेसले एनआरएनको चुनावमा समन्वय गर्न ८ नेतालाई दियो जिम्मेवारी

डिसी नेपाल
१७ असोज २०७८ ११:३६

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को आसन्न १०औँ महाधिवेशनमा लोकतन्त्रवादी समूहलाई विजयी गराउन सहयोग र समन्वय गर्नका लागि नेपाली कांग्रेसले आठ नेतालाई जिम्मेवारी सुम्पेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले युरोप क्षेत्र, एशिया क्षेत्र, अमेरिका क्षेत्र, ओसियाना क्षेत्र तथा अफ्रिका मध्यपूर्व क्षेत्र र नेपाली जनसम्पर्क समिति गरी पाँच वटा क्षेत्रमा ती नेताहरुले समन्वयकारी भूमिका निर्वाह गर्ने जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकहरुलाई नेताहरुको नामावलीको सूचीसहित पत्राचार गरेका छन् । जनसम्पर्क समितिहरुलाई पठाइएको पत्रका अनुसार युरोप क्षेत्रमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ । एसिया क्षेत्रमा केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुनप्रसाद जोशी छन् ।

त्यस्तै, अमेरिका क्षेत्रमा केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाल र ओसियना क्षेत्रमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ । अफ्रिका, मध्यपूर्व क्षेत्र र जनसम्पर्क समितिमा भने पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

कांग्रेसले संघको निर्वाचनमा कुल आचार्य नेतृत्वको लोकतन्त्रवादी समूहलाई समर्थन जनाउने निर्णय गरिसकेको छ । आचार्यले १० असोजमा काठमाडौंमा विशेष समारोहको आयोजना गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । आचार्यको टिमबाट डा.केशव पौडेल महासचिव पदमा उम्मेदवार रहने छन् ।

पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न केन्द्रीय समितिमा रहेका नेताहरुलाई जिम्मेवारी तोकिएको पनि कांग्रेसले स्पष्ट पारेको छ । २०२१–२०२३ कार्यकालका लागि एनआरएनएको १०औँ महाधिवेशन यही अक्टोबर २३–२५ मा हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *