कतारी राजकुमारी थानी मनास्लुपछि धौलागिरी हिमाल आरोहण गर्दै

फुर्पा शेर्पा
१७ असोज २०७८ १२:०६

काठमाडौं । कतारी राजकुमारी शेखा आस्मा अल थानीले नेपालको मनास्लु हिमाल सफल आरोहणपछि धौलागिरी हिमाल आरोहण गर्ने भएकी छन् । धौलागिरी बेसक्याम्पमा पुगेकी थानी अहिले क्याम्प २ देखि क्याम्प ३ तर्फ लागेकी छन् ।

उनले सोमबार (अक्टोबर ४ तारिख) धौलागिरी हिमाल आरोहण गर्ने छिन् । कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पाले राजकुमारी थानीले यही अक्टोबर ४ तारिखमा धौलागिरी आरोहण गर्ने जानकारी गराए ।
अहिले उनी क्याम्प २ देखि क्याम्प ३ तर्फ लागेकी छन् र मौसममा खराबी नआए निर्धारित मितिमै आरोहण गर्ने डेविडले बताए ।

यसअघि थानीले अक्टोबर २७ तारिख सोमबार बिहान साढे १० बजे बिना अक्सिजन मनास्लु हिमालको चुचुरोमा सफलतापूर्वक पाइला टेकेकी थिइन् । उनी विश्वका सात महादीपका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने लक्ष्यसहित मनास्लु हिमाल चढ्न लागेकी हुन् ।

उनले दक्षिण अमेरिकाको ६ हजार ९ सय ६९ मिटरको माउन्ट एकोनकागुआ र अफ्रिकाको ५ हजार ८ सय ९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५ हजार ६ सय ४२ मिटर अग्लो माउन्ट एल्ब्रस चढिसकेकी छन् ।

यसअघि सन् २०२१ को वसन्तमा सगरमाथा आरोहणमा आएकी उनी बेस क्याम्पसम्म पुगेकी थिइन । तर, त्यसबेला मौसममा आएको खराबीका कारण आरोहण जोखिमपूर्ण र असुरक्षित भएकाले आरोहण अभियान रद्ध भएको थियो ।

मौसमको खराबीले सगरमाथा चढ्न नसकेकी उनले त्यसबेला भनेकी थिइन्, ‘यो वर्ष मेरो लागि चुनौतीपूर्ण रह्यो । मैले विगत वर्षदेखिको सपना विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने योजना बनाएकी थिएँ तर हुन सकेन ।’

नेपालबाट विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरी हिमाल चढ्ने पहिलो नेपाली महिला पासाङ ल्हामू शेर्पा(अकिता) हुन् । उनले गत शुक्रबार मात्र धौलागिरी हिमालको सफल आरोहण गरेकी हुन् ।
त्यसैगरी, धौलागिरी गाउँपालिका–४ मा पर्ने उक्त हिमाल शेर्पाले पहिलो पटक आरोहण गरेको केही घण्टा पछिनै पूर्णिमा श्रेष्ठले आरोहण गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *